मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २६ बुधबार ०५:५०:००
Read Time : > 3 मिनेट
सेयर बजार

बजारमा सामान्य करेक्सन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २६ बुधबार ०५:५०:००

गत साताको अन्तिम कारोबार दिनदेखि उकालो लागेको बजारमा मंगलबार भने सामान्य करेक्सनको अवस्था देखिएको छ । बजार पछिल्ला ३ दिनमा २६ दशमलव शून्य ४ अंक बढेको थियो । बजार बढेपछि केही लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण यस दिन सामान्य करेक्सन भएको हो । पछिल्लो समयमा बजारलाई बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरले प्रभावित बनाइरहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउन थालेपछि बजार घट्न दबाब पुगेको थियो ।

बजार निरन्तर ओरालो लागे पनि नियामक निकायहरू मौन रहेको भन्दै लगानीकर्ताले आइतबारदेखि रिले अनशन बस्न थालेका छन् । लगानीकर्ताले सरकार र नियामक निकायलाई दबाब दिन सो अनशन कार्यक्रम थालेका हुन् । नेप्सेले आइतबारदेखि पूर्ण अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणाली सञ्चालनमा आएसँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । यस साता बजार बढ्न यसले पनि प्रभाव पारेको एक ब्रोकरले बताए । यसका साथै, वाणिज्य बैंकहरूले घोषणा गरेको लाभांशले पनि बजारलाई प्रभावित पारेको उनको  भनाइ छ ।

नेप्से परिसूचक यस दिन ३ दशमलव शून्य ८ अंक घटेर १ हजार १ सय ४१ दशशमलव १० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७६ अंक घटेर २ सय ४३ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६४ कम्पनीको ३ हजार ५ सय ६५ पटकको कारोबारमा ३८ करोड ३२ लाख ९३ हजार १ सय २० रुपैयाँबराबरको १२ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३७ दशमलव ८४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १३ करोड ४८ लाख ६१ हजार रुपैयाँबराबरको ४ लाख ५६ हजार ७ सय ९० कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ३ सय ७१ पटक सेयर खरिद–बिक्री भएको छ । बैंकले ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता सोतर्फ आकर्षित भएका हुन् । गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ८ दशमलव ४७ प्रतिशत बढेको छ । मञ्जुश्री फाइनान्सको सेयरमूल्य यस दिन ७ दशमलव २ प्रतिशत घटेको छ ।

कम्पनीले अघिल्लो दिन घोषणा गरेको ९ प्रतिशत नगद लाभांशलाई संशोधन गरी २ दशमलव ९ प्रतिशत बनाएपछि लगानीकर्ता सेयर बिक्री गर्नतर्फ लागेका हुन् । कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये यस दिन ४८ कम्पनीको सेयरमूल्य बढेको छ भने ९८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन वित्त, उत्पादनमूलक र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । यस दिन उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव ६३ प्रतिशत, अन्य समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ८३ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक शून्य दशमलव ८ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ५७ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ५ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३३ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २६ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १३ प्रतिशत घटेको छ ।

आमरण अनशन बस्ने चेतावनी
पुँजीबजार विस्तार र सुधारका लागि रिले अनशन बसेका लगानीकर्ताले पुस १ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दिएका छन् । आइतबारदेखि रिले अनशन बसेका लगानीकर्ताले मंसिर २७ गतेसम्म माग पूरा नभए पुस १ गतेदेखि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सेयर लगानीकर्ता दबाब समूहले सोबाट उत्पन्न हुने परिणाम दुईतिहाइ सरकारका लागि महँगो पर्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा अनशनकै बीचमा केही बिचौलियाले लगानीकर्ताको तर्फबाट भन्दै कथित अध्ययन समितिमा प्रतिनिधित्व गरी आफ्नो स्वार्थकेन्द्रित कुरा राखेको भन्ने जानकारी हुन आएको उल्लेख गरिएको छ । साथै, समूहले कसैलाई प्रतिनिधिका रूपमा नपठाएको र कसैसँग वार्ता नगरेको बताएको छ । दबाब समूहले राखेका मागमा धेरै लगानीकर्ताले समर्थन र ऐक्यबद्धताबाट थप ऊर्जा प्राप्त भएको पनि उल्लेख गरिएको छ ।

 मञ्जुश्रीको साधारणसभा
मञ्जुश्री फाइनान्स लिमिटेडले पुस १६ गते थापागाउँ ब्यांक्वेट, नयाँ बानेश्वरमा एघारौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने, मर्जर÷एक्विजिसन र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने भएको छ ।
 कैलाशको साधारणसभा
कैलाश विकास बैंक लिमिटेडले पुस २२ गते अमृतभोग पार्टी प्यालेस, कालिकास्थानमा २५औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १७ प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्जर÷एक्विजिसन र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ६ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
 आरएमडिसीको साधारणसभा
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २० गते युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा २०औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने, सञ्चालकहरूको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
 स्ट्यान्डर्ड चार्टर्डको साधारणसभा
स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले माघ ७ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३२औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस २९ गतेदेखि माघ ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
 बुटवल पावरको लाभांश
बुटवल पावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको २८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा १८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी २६औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।