मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ जेठ २ बिहीबार १६:५२:००
Read Time : < 1 मिनेट
समाचार

कार्यरतलाई विस्थापित गर्नेगरी पदपूर्ति सूचना निकालेको भन्दै आमरण अनसन

Read Time : < 1 मिनेट
२०७६ जेठ २ बिहीबार १६:५२:००

भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लामो समयदेखि कार्यरत नर्स र कर्मचारीलार्ई विस्थापित गर्ने गरी नयाँ पदपूर्तिको सूचना निकालेको भन्दै दुई जना नर्स सात दिनदेखि आमरण अनसन बसेका छन् ।  

केन्द्रले लोकसेवा आयोगमार्फत दरबन्दी स्वीकृत गरी १३ वैशाखमा एक सय ७० पदमा स्थायी पदपूर्तिका लागि सुचना निकालेको थियो । कार्यरत कर्मचारीलाई विस्थापित गर्नेगरी सूचना निकालको भन्दै प्रशासनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आन्दोलन थालेका हुन् । 

माग सुनुवाई नभएपछि गत शुक्रबारदेखि नर्स जिता बराल र डिकी शेर्पा आमरण अनसन बसेका छन् । शेर्पाको स्वास्थ्य बिग्रिएपछि उनलाई मानव अंग प्रत्यारोपण केन्द्रको आकस्मिक कक्षमा राखिएको छ । बराललाई भने अनसनस्थल लाजिम्पाटबाट वसुन्धरास्थित वीपि स्मृति अस्पतालमा राखिएको छ । 

नेपाल नर्सिङ संघले आमरण अनसन बसेका नर्सहरुको स्वास्थ्य नाजुक भएको संवेदनशील परिस्थतिलाई मध्यनजर गरेर परीक्षा स्थगित गर्न केन्द्रलाई विज्ञप्तिमार्फत आग्रह गरेको थियो । संघको आग्रह पछि केन्द्रले बिहीबार परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गरेको छ । 

यस अघि भएका आन्दोलनका कारण दुई वर्ष पहिले प्रशासनले स्थायी गर्ने सहमति गरेको थियो । पहिलेको सहमति विपरीत नयाँ कर्मचारी नियुक्ति गर्न लागिएको भन्दै आन्दोलित भएका हुन् । करिब ३० जना नर्सले दैनिक काम छाडेर निरन्तर धर्ना दिइरहेका छन् । कार्यरत नर्स र कर्मचारीले सेवा र दक्षतामा आधारित भई कार्यरतलाई स्वतः या आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिनुपर्ने माग राख्दै आएका छन् ।