पर्यटन विकासमा चीनले सघाउने
प्रदेश ५ सरकार र चीनको कान्सु प्रदेशबीच द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र कान्सु प्रदेशका गभर्नर ताङ रेन्जियानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्सु प्रदेशका संस्कृति तथा पर्यटन निर्देशक थन वइतोङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सांस्कृतिक आदान–प्रदान र पर्यटन प्रवद्र्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदान–प्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारीपत्रमा उल्लेख छ । त्यसैगरी, रुपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ ।
सहमतिपत्रमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गभर्नर सी चानयानले सहमतिपत्रमा हस्ताक्षर गरे । मुख्यमन्त्री पोखरेल र गभर्नर ताङ रेन्जियानले भेटमा पोखरेलले प्रदेश ५ को विशेषता र सम्भावनाबारे जानकारी गराएका थिए ।