१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एरिक बर्गोल्फ
२०७५ पौष १३ शुक्रबार ०९:३५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

चीनबाट सिक्नुपर्ने समृद्धि

Read Time : > 3 मिनेट
एरिक बर्गोल्फ
२०७५ पौष १३ शुक्रबार ०९:३५:००

चालीस वर्षअघि डिसेम्बर महिनामा सुधार कार्यक्रम सुरु भएयता चीन धेरै नै राम्रो विद्यार्थीका रूपमा उदाएको छ । र, तीव्र विकासको चार दशकपछि चीन आफूलाई एक उत्कृष्ट शिक्षकका रूपमा प्रस्तुत गर्न तयार भएको छ । विदेशमा थप पुँजी प्रवाह गर्ने प्रतिबद्धता गरेको चीन आफूले लगानी गरेका राष्ट्रमा पुँजी कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा जान्न इच्छुक छ । तर, के विश्व केही सिक्न तयार छ त ? पछिल्ला केही वर्षहरूमा चीनले आफ्नो आत्मविश्वासी ‘बाहिरिने नीति’लाई बेल्ट एन्ड रोड इनिसियटिभमा बढी पोखेको छ । आफ्नै आर्थिक फाइदा र सफ्ट पावरको विकास गर्न चीनले यो कदम उठाएको हो । चिनियाँ नेताहरू चीनलाई विश्वको त्यो स्तरमा पुनः राख्न चाहन्छन्, जसलाई उनीहरू सही स्थानका रूपमा लिन्छन् । 

सन् १६०० मा विश्व अर्थतन्त्रको एकतिहाइ हिस्सा ओगट्दै चिनियाँ वृद्घि उचाइमा पुगेको थियो । सन् १८२० सम्म विश्वको कुल गार्हस्थ उत्पादनमा चीनको हिस्सा बिस्तारै–बिस्तारै घट्दै गयो । पश्चिम राष्ट्रको औद्योगिक क्रान्तिले चिनियाँ अर्थतन्त्रलाई नराम्ररी प्रभावित पारेका कारण वृद्घि सुस्ताएको थियो । सन् १९६० को सुरुवाततिर विश्व जिडिपीमा चीनको हिस्सा ५ प्रतिशतभन्दा तल ओर्लिएको थियो । 

त्यसपछि देङ सियाओ पिङको पहलमा चीनमा आर्थिक सुधार हुँदै ऊ थप खुल्दै गयो र त्यहाँ चामत्कारिक वृद्घिको सुरुवात हुन थाल्यो । सन् १९७८ यता चीनले लाखौँ मानिसलाई गरिबीको रेखाबाट बाहिर निकालिसकेको छ भने अहिले विश्व जिडिपीमा चीनको हिस्सा पाँच भागको एक भाग रहेको छ, साथै यो थप बढ्ने क्रममै छ । यदि चीन अरूले पनि पछ्याउन सक्ने खालको मोडलका रूपमा आफ्नो अनुभवलाई लिँदै अन्तर्राष्ट्रिय प्रभाव बढाउन चाहन्छ भने उसले आफ्नो सफलतालाई प्रेरणा दिएका संयन्त्रको पहिचान गरेर तिनीहरू स्थानान्तरण किन छन् भन्ने कुराको पनि व्याख्या गर्न सक्नुपर्छ । 

यो बेइजिङस्थित सिन्घुआ विश्वविद्यालयले सार्वजनिक गरेको नयाँ केन्द्रको प्रमुख जनादेश हो । एकेडेमिक सेन्टर फर चाइनिज इकोनोमिक प्राक्टिस एन्ड थिङकिङ (एसेप्ट) चिनियाँ विकास अनुभवको बुझाइ र त्यसलाई फैलाउने कुराप्रति समर्पित छ । यसै महिनाको सुरुवातमा यस प्रक्रियालाई उसले चीनको ‘सुधार र खुला अर्थतन्त्रको ४० वर्षीय इतिहासबाट सिकेका आर्थिक शिक्षा’ शीर्षकको पहिलो प्रतिवेदनसँग सुरु गरेको छ ।

प्रतिवेदनमा पाँचवटा उल्लेखनीय अवलोकन समावेश छन् । स्टार्टर्सहरूका लागि पछिल्लो चार दशकमा भएको वृद्घि पुराना कम्पनीको पुनर्निर्माण गरेर नभई नयाँ कम्पनीहरूको उदयका कारण हासिल भएको हो । कृषियोग्य जमिन औद्योगिक जमिनमा परिवर्तन भएको भाडाको वितरण र आवासीय प्रयोगले लगानी उत्प्रेरणाका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । त्यस्तै, उद्यमशील गतिविधि र उपभोग बढाउन गहिरो वित्तपोषणको पनि आवश्यकता थियो भने अर्थतन्त्रलाई उदार बनाउनाले पनि सिकाइलाई उत्प्रेरणा मिल्यो । र, सक्रिय बृहत् आर्थिक नीतिले राष्ट्रलाई वित्तीय संकट कम गर्न र वृद्घिमा भएका उतार–चढावलाई सहज गर्न सजिलो बनायो । 

प्रतिवेदनले पक्कै पनि सन् १९७८ यताको चीनको विकास अनुभवबारेको कुनै पनि मूल्यांकनले राज्य र बजारको तुलनात्मक भूमिकाबारे चिन्ता व्यक्त गरेका छन् र एउटा महत्वपूर्ण  प्रश्न पनि उठाएका छन् । चीनको विकासमा नयाँ निजी कम्पनीहरूको उदय वा सरकारका सहयोगी हातहरूमध्ये कुन बढी महŒवपूर्ण थिए ? यो प्रश्न नयाँ त होइन । यदि कसैले यस कुराको उत्तर दिने प्रयास गरे भने उनीहरूले चिनियाँ अर्थतन्त्रभन्दा बढी आफ्ना बारेमा बताउने हार्बर्ड विश्वविद्यालयका अर्थविद् दानी रोड्रिकले प्रतिवेदन सार्वजनिक गरिँदा बताएका थिए । रोड्रिकको विश्वासमा चीन ‘अर्थविद्का लागि रोस्काच टेस्ट’ हो । 

एक्सेप्टले सार्वजनिक गरेको प्रतिवेदनले राज्य व्यवस्था र आर्थिक उदारीकरणबीच कसरी अन्तक्र्रिया हुन्छ भन्ने कुरामाथि प्रकाश पारेर प्रश्नबारे उपयोगी जानकारी प्रदान गर्न सक्ला । नयाँ निजी उद्योग आर्थिक वृद्घिको चालक त थिए, तर बजार प्रवेशका लागि सुदृढ सहुलियतकोे निर्माण त राज्यले नै गरेको थियो । उद्यमीहरूले आफू र सरकारबीचको सम्बन्धमा थुपै्र लगानी गरे र राज्यले स्रोत बाँडफाँडलाई निर्देशन गर्न र प्रयासका पहलको मूल्यांकनका लागि बजारका संकेतहरूको प्रयोग ग-यो । 

नयाँ कम्पनीको प्रवेशलाई उत्प्रेरणा दिनेबाहेक चिनियाँ राज्यले लगानीका लागि आन्तरिक स्रोतको पनि परिचालन गर्छ । राज्यले सरकारको सम्पूर्णस्तरबाट निरन्तर अभ्यास र सिकाइ पनि सुनिश्चित गरेको छ, जुन प्रशंसनीय छ । चीनले असमानताजस्ता मामिलाको सम्बोधन गर्ने वेलामा यो महत्वपूर्ण हुन्छ । तैपनि, चिनियाँ विकासलाई चलाउने प्रमुख तत्व  भनेकै पहिलो चरण हो । यदि चीन आफ्नो विकास मोडलको निर्यात अर्थपूर्ण तरिकाले होस् भन्ने चाहन्छ भने उसले अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको अविश्वासलगायतकाबाधाहरू उछिन्नुपर्छ । 

विकसित राष्ट्रले चीनले सधैँ अरूका नवप्रवर्तनलाई निःशुल्क हाँक्ने गरेको गुनासो पोखेका छन् । साथै बजार पहुँचका लागि चीनले विदेशी कम्पनीले आफ्नो प्रविधि चिनियाँ कम्पनीसँग बाँड्नुपर्ने सर्त पनि राखेको छ । चीनजस्तो आर्थिक विकासको चरणमा रहेका राष्ट्रले विदेशी प्रविधिको नक्कल गर्नु र तिनलाई सोस्नु एकदमै सामान्य कुरा भए पनि उसको आकार र बजारको शक्ति उसको प्रविधि ट्रान्सफरलाई प्रेरित गर्ने क्षमतालाई नाटकीय रूपमा बढाइदिन्छ । र, उसका प्रतिस्पर्धीले यसलाई गलत भने पनि चीन त्यो प्रभावको प्रयोग गर्न पाउँदा निकैखुसी देखिन्छ ।

यसै क्रममा चिनियाँ लगानी उनीहरूका लागि साँच्चै सहयोगी छ त भन्ने प्रश्न अहिले विकासशील राष्ट्रहरूले उठाइरहेका छन् । आजसम्म चीन स्पष्ट नीति आवश्यकतामा आफ्नो लगानी अनुकूलनबाट बच्दै आएको छ । तर, यस्ता लगानीमध्ये अधिकांशको आर्थिक प्रतिफल कम हुँदै गएको अवस्थामा चीनले उसका स्रोतहरूको प्रयोग कसरी भएको छ र उसले ऋण दिएकाहरूले कसरी त्यसको सञ्चालन गरिरहेका छन् भन्ने कुरालाई अझै पनि बेवास्ता गरिरहनु महँगोसाबित हुन सक्छ । 

अन्य राष्ट्रलाई उसको विकास शिक्षा अपनाउन आश्वस्त पार्ने कुरामा चीनले कठिनाइको सामना गरिरहेको छ । आफ्नो प्रक्रियाको पूर्ण स्वामित्व र नियन्त्रण पुनः हासिल गरेकै कारण विकसित सफलता हात परेको चीनको भनाइ छ । मध्य  र पूर्वी युरोपका राष्ट्रहरूमा युरोपेली संघले त्यस्तो विकास नीति लादेको छ, जसले राजनीतिक शक्तिविरोधी स्थापनालाई बढावा दियो ।  चीनको बढ्दो अन्तर्राष्ट्रिय प्रभावप्रतिको अप्रसन्नताको समयमा विकास मोडलको प्रवद्र्धन गर्ने चिनियाँ क्षमतामा ह्रास आइरहेको छ । विश्वमा गैरप्रजातान्त्रिक दृष्टिकोणलाई सफल हुन नदिने पश्चिमा अडान रहिरहनु राम्रो होइन । हामी सभ्यता नभई व्यवस्थाको खतरनाक मुठभेडतर्फ बढिरहेका छौँ । हामीले एक–अर्कालाई अपनाउनुपर्छ । 

चीनको आर्थिक चमत्कारले सिकाएको शिक्षा पूरै अस्वीकार गर्नु विकासशील राष्ट्रका लागि केही थोरै अर्थपूर्ण छ र चीन र पश्चिमी राष्ट्रबीचको बढ्दो शत्रुता कसैको पनि रुचिको विषय होइन । बरु, अन्य राष्ट्रहरूले चीनबाट केही सिक्न आफूलाई सहज बनाउनुपर्छ, जसले पछि उसका राजनीतिक मोडलका सीमा (पश्चिमा राष्ट्रका त्रुटिपूर्ण प्रजातन्त्रसँग तुलना गर्दा पनि)को पहिचान गर्न सक्नुपर्छ ।

एरिक बर्गोल्फ लन्डन स्कुल अफ इकोनोमिक्स र पोलिटिकल साइन्सको इन्स्टिच्युट अफ ग्लोबल अफेयर्सका निर्देशक हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१८ (नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

www.project-syndicate.org