मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १३ शुक्रबार ०६:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भूकम्पप्रतिरोधी धरहरा शिलान्यास : तीन अर्ब ४८ करोड लागतमा दुई वर्षभित्र पुनर्निर्माण सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १३ शुक्रबार ०६:१८:००

प्रधानमन्त्री केपी ओलीले अब बन्ने धरहरा भूकम्पले भत्काउन नसक्ने बलियो र आधुनिक हुने बताएका छन् । बिहीबार पुनर्निर्माण गरिने धरहराको शिलान्यास गर्दै उनले अब बन्ने धरहरा अशक्त र ज्येष्ठ नागरिकले पनि हेर्न र चढ्न सक्ने खालको हुने बताए । ‘उही धरहरा फेरि बनाउन सक्दैनौँ, त्यो त भत्किसक्यो,’ ओलीले भने, ‘हामी उस्तै बनाउ“छौँ, इतिहास झल्कने गरी र आधुनिकता टल्कने गरी ।’

पुनर्निर्माणपछि हेर्न आउनेको भिडले बाटो जाम नहुने गरी धरहरा परिसरभित्रै गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरिने, सुन्धारामा फोहोरा, आधुनिक बगैँचा र पार्क, संग्रहालयसहितको धरहरा बनाइन लागेको पनि उनले बताए ।

‘धरहराको टुप्पाबाट हरियालीसहित वातावरण सुधारिएको काठमाडौं, सुधारिएको बाटो देख्न पाइनेछ । अशक्त र ज्येष्ठ नागरिकले पनि धरहराको टुप्पामा पुगेर काठमाडौं अवलोकन गर्न सक्नेछन्,’ प्रधानमन्त्री ओलीले भने । निर्धारित समयमै काम सम्पन्न गर्न र वातावरण स्वच्छ राख्न पनि निर्माता कम्पनी जिआइइटिसी–रमन जेभीलाई आग्रह गरे ।

‘धरहराको टुप्पोमा चढेर हेर्दा धुलोले काठमाडौं नदेखिने भए त्योभन्दा सरमको कुरा अरू हु“दैन,’ उनले भने, ‘श्वास फेर्दा अप्ठ्यारो नहुने हरियालीयुक्त सहर बनाउनुपर्नेछ ।’ अघिल्लोपटक प्रधानमन्त्री हु“दा ‘मेरो धरहरा मै बनाउ“छु’ अभियान सुरु गरेका प्रधानमन्त्री ओलीले आफ्नो उक्त अभियान सफल नभएको बताए ।

बाहिरबाट ११ तला देखिने धरहरा २२ तलाको बन्ने
अब बन्ने धरहरा भीमसेन थापाले बनाएको धरहराबराबरकै उचाइको हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । १९९० को भूकम्पअघि ११ तले भूकम्पको उचाइ ६९ दशमलव २ मिटर अग्लो थियो । अबको धरहरा यो उचाइमा गजुरसहित जोडेर ७९ दशमलव २ मिटर अग्लो हुने प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले बताए । बाहिरबाट ११ तला देखिने धरहरा भित्र भने २२ तलाको बन्नेछ । निर्माणमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग हुनेछ । अबको धरहरामा भ¥याङसहित लिफ्टसमेत हुनेछ भने निर्माण कार्य दुई वर्षमा सकिने पनि प्राधिकरणले जनाएको छ । भत्किएको पुरानो धरहराको अवशेषलाई पारदर्शी सिसाले ढाकेर संरक्षण गरिने प्राधिकरणले जनाएको छ ।

४२ रोपनी जग्गामा धरहरासहित पार्क र संग्रहालय
धरहरासँगै पार्क, सिक्का संग्रहालय, वाटर फाउन्टेन र रेस्टुरेन्टसमेत बन्नेछन् । यसका लागि ४२ रोपनी जग्गा व्यवस्थापन गर्न टक्सार विभाग र गोश्वारा हुलाक कार्यालय स्थानान्तरणको प्रक्रिया सुरु भइसकेको छ । धरहरासहितका सबै संरचना निर्माण गर्न जिआइइटिसी रमन जेभीले तीन अर्ब ४८ करोडमा ठेक्का पाएको छ ।