मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टोपलाल अर्याल
२०७६ बैशाख २९ आइतबार १०:५५:००
Read Time : > 1 मिनेट
समाचार

विशेषज्ञसहितको शिविरमा नि:शुल्क उपचार गर्न पाउँदा स्थानीय खुशी

Read Time : > 1 मिनेट
टोपलाल अर्याल
२०७६ बैशाख २९ आइतबार १०:५५:००

गुल्मीको विकट गाउँ अर्खबाङमा मुटु, मृगौला तथा सुगर रोगको उपचार पाउँदा स्थानीय खुसी भएका छन् । मालिका गाउँपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा बिशेषज्ञसहितको नि:शुल्क शिविर संचालन गरिएको थियो । बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विशाल केसीले प्रदेश सांसद दिनेश पन्थीको ब्लड प्रेसर जाँच गरेर शिविरको शुभारम्भ गरिएको थियो । 

गाउँ–गाउँमा सिंहदरवारको अनुभुत हुँदै : सांसद पन्थी

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद पन्थीले मुटु मानिसको जीवन भएकाले गाउँमै सेवा पाउने नागरिक निकै भाग्यमानी भएको बताए । उनले मुटु मृगौलाको उपचार गाउँमै पाउनु नै गाउँ-गाउँमा सिंहदरवार भएको बताए । त्यस्तै गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलमले विकट ठाउँमा आएर जनताको सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफुहरुको संस्था पनि नाफा भन्दा सेवामुलक भएकाले बिकट स्थानमा आएर सेवा दिएको बताए । शिविरमा झण्डै एक हजार जनाले मुटु, मृगौला लगायतको परिक्षण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्राईले बताए ।

गाउँमा सचेतना आवश्यक : डा केसी

वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विशाल केसीले शिविरमा आउने अधिकांश नागरिकहरुमा वाथ रोग, व्लड प्रेसर, मुटुको प्वाल तथा जन्मजात मुटुको समस्या र हृद्यघातको समस्याहरु देखिएको बताए । साथै उनले समुदायमा स्वास्थ्य सचेतना तथा खानपानमा ख्याल गर्नुपर्नेमा जोड दिए । ‘गाउँमा सचेतनाको कमी र स्वास्थ्यभन्दा कामलाई महत्व दिने कारण समस्या बल्झिएका छन्,’उनले भने,‘यो बिषयमा नागरिक नै सचेत बन्नुपर्छ ।’ डाक्टर केसीसहित ३४ जनाको स्वास्थ्यकर्मी टोली अर्खबाङ्ग आएको थियो । 

घर छेउँमै उपचारले खुसी

मालिका गाउँपालिका ४ का हिमाल शर्माले मुटु दुख्ने समस्या थियो । मुटुको उपचारका लागि वुटवल जाने योजनामा थिए । तर गाउँपालिकाले निशुल्क शिविर ल्याएपछि गाउँमै उपचार गरे । उनी अत्यन्तै खुसी छन् । ‘मुटु दुखेर बुटवल जाने कुरा हुँदै थियो, गाउँमै उपचार गरियो,’उनले भने,‘डाक्टरले सामान्य भने, अव ढुक्क भए ।’ त्यस्तै मालिका गाउँपालिका ३ की ७६ बर्षीय खिम कुमारी बुढा पनि मुटुकै समस्याको उपचारका लागि शिविर आइन् । उपचार पाएपछि खुसीका साथ घर फर्किन् । गाउँमै उपचार पाउँदा ढुक्क भएको र खर्च पनि जोगिएको बताइन् ।

गाउँपालिका स्वास्थ्य क्षेत्रमा अव्वल

मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउँदै लगेको छ । गाउँपालिकाले यो संगै चालु आर्थिक बर्षमा तीनवटा आँखा शिविर गरिसकेको छ । गाउँपालिका प्रमुख रित बहादुर थापाले नागरिक स्वस्थ भए मात्रै विकसित समाज निर्माण हुने भएकाले गाउँ–गाउँमा निशुल्क बृहत शिविरहरु संचालन गरेको बताए ।  त्यस्तै एउटा महिला रोग सम्बिन्ध एउटा निशुल्क शिविर गरेको गाउँपालिकाले जनाएको छ । सुरक्षित प्रसुतीको लागि मालिका गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर संचालनमा ल्याएको छ । भने तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । 

स्वास्थ्य क्षेत्रमा ३९ लाख बिनियोजन

गाउँपालिकाले यो आर्थिक बर्षमा स्वास्थ्यको क्षेत्रमा ३४ लाख विनियोजन गरेको छ । भने मुख्यमन्त्री ग्रामिण कार्यक्रम अन्तर्गत विनियोजन भएको पाँच लाख गरी कुल ३९ लाख स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । अहिले कुनै पनि स्वास्थ्य सँस्थामा औषधीको अभाव नभएको उनले बताए । ‘प्रत्येक स्वास्थ्य सँस्थामा कम्तिमा चार महिनालाई पुग्ने गरी औषधी भण्डारमा छ,’ गिरीले भने, ‘जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न लागि परेका छौ ।’