मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार ११:०१:००
Read Time : < 1 मिनेट
समाचार

बजेटको तयारीमा प्रदेश ५ सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार ११:०१:००

प्रदेश ५ सरकार आगामी आर्थिक वर्ष ०७६/७७ मा योजनामा आधारित बजेट ल्याउने तयारीमा जुटेको छ । प्रदेशको समग्र अवस्था समेटेर वस्तुस्थिति विवरण तयार भइसकेको र सोही आधारमा बजेट तयार हुने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

पाँच वर्षको आवधिक योजना, तीन वर्षको मध्यमकालीन खर्च संरचना र एकवर्षे बजेटको ढाँचामा काम गर्न सकिए सोचअनुसार योजनाहरू कार्यान्वयन गर्न सकिने उपाध्यक्ष श्रेष्ठले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले आर्थिक वर्ष ०७६/७७ को बजेटको तयारीका लागि सबै मन्त्रालयलाई प्रस्ताव पेस गर्न भनिएको बताए । चालू आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट, केन्द्रबाट आउने रकम तथा आन्तरिक राजस्व सबै अध्ययन गरेर बजेटको आकार तय हुने उनको भनाइ छ ।

बजेट तयार गर्न प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा बनेको स्रोत अनुमान समितिको बैठकले आगामी आर्थिक वर्षका लागि विवरण तयार पार्नका लागि मन्त्रालयहरूलाई आग्रह गरिसकेको छ । संघले प्रदेश ५ लाई आगामी आर्थिक वर्षमा वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ५४ करोड १ लाख र राजस्व बाँडफाँडबापत ९ अर्ब ९१ करोड २३ लाख गरी १७ अर्ब ४५ करोड रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले आन्तरिक स्रोतबाट ३ अर्बजति अनुमान गरिएको छ । 

बजेटका प्राथमिकता
पाँच वर्षमा आर्थिक वृद्धिदर ९ दशमलव ५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको प्रदेश ५ सरकारले आगामी वर्षको बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिने भएको छ । खानेपानी, सिँचाइ, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने बताइएको छ । प्रदेश सरकारले पाल्पा र रोल्पा जोड्ने प्रदेशस्तरीय रणनीतिक सडक (आश्रित–कृष्णसेन मार्ग)मा बजेट बढाउँदै छ । त्यस्तै रानीमहल, स्वर्गद्वारी, रेसुंगालगायतमा पनि बजेट विनियोजन गर्ने तयारी भइरहेको छ ।