मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
दिवाकर पन्त
२०७६ बैशाख २९ आइतबार १०:२६:००
Read Time : > 1 मिनेट
अर्थ

पर्यटक रेस्क्युमा कडाइ : सरकारी निकायमा जानकारी गराएर मात्रै बिरामी पर्यटकको उद्धार

Read Time : > 1 मिनेट
दिवाकर पन्त
२०७६ बैशाख २९ आइतबार १०:२६:००

नेपालमा पर्यटकलाई बिरामी बनाएर पैसा कमाउन ‘फेक रेस्क्यु’ गर्ने घटना सार्वजनिक भएपछि सरकारले पर्यटकको उद्धार कार्यमा कडाइ गरेको छ । फेक रेस्क्यु घटनाले नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय रूपमा बदनाम भएको भन्दै सरकारले कुनै पनि पर्यटकलाई समस्या परेर उद्धार गर्नुपरेमा सरकारी निकायलाई अनिवार्य खबर गर्नुपर्ने प्रावधान लागू गरेकोे हो । 

नयाँ व्यवस्था लागू गरेसँगै पर्यटक उद्धार गर्नुअघि पर्यटन विभाग, बिमा कम्पनी, पर्यटकलाई सेवा दिने एजेन्सी र पर्यटक प्रहरीलाई जानकारी दिने क्रम बढेको पर्यटन विभागमा निर्देशक सुरेन्द्र थापाले बताए । उनका अनुसार गत भदौदेखि अहिलेसम अग्रिम जानकारी दिएर १ सय ७१ जना पर्यटकलाई उद्धार गरिएको छ । 

पर्यटक प्रहरीद्वारा अनुगमन

उद्धार गरी ल्याइएका पर्यटकको उपचार हुने अस्पतालमा पर्यटक प्रहरीले अनुगमन थालेको छ । त्यस्ता पर्यटकलाई यथार्थमै उपचार भएको छ–छैन भन्ने वास्तविकता थाहा पाउन अनुगमन गरिएको पर्यटक प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए । उनले भने, ‘उद्धारअघि जानकारी दिने क्रम बढेको छ र हामीले त्यसको रेकर्डसमेत राख्ने गरेका छौँ ।’ नक्कली उद्धारबारे अध्ययन गर्न गठित समितिले समेत अस्पतालमा बढी बिल बनाउने ठहर गरेकाले पर्यटक प्रहरीले प्रत्येक अस्पतालमा पुगेर अनुगमन गरिएको उनको भनाइ छ । 

बिमा कम्पनीले पनि सोध्न थाले

उद्धार गरिएका पर्यटकको बिमा भुक्तानी गर्नुअघि कम्पनीले समेत सम्बन्धित पर्यटकको उद्धार भएको हो–होइन, यकिन गर्न थालिएको पर्यटक प्रहरीले जनाएको छ । प्रहरीलाई जानकारीविना उद्धार गर्दा बिमा रकम पाउन समस्या पर्ने भएकाले पूर्व जानकारी दिने क्रम बढेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए । तर, पर्यटक उद्धारमा जानुअघि सरकारी निकायमा सूचित गराउने प्रक्रिया सहज बनाउनुपर्ने ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानका पूर्वकोषाध्यक्ष लीलावल्लभ दाहालले बताए । ‘पर्यटन विभाग, पर्यटन प्रहरी, गृह मन्त्रालयलगायतमा २४सै घन्टा सजिलो हुने गरी सम्पर्क गर्न सकिने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘विश्वभर नेपालको बदनाम हुने गरी भएको फेक रेस्क्यु नियन्त्रण जरुरी नै छ, तर समस्यामा परेका पर्यटकलाई समयमा उद्धार गर्ने विषयलाई पनि उत्तिकै महŒव दिनुपर्छ ।’

यसरी हुन्थ्यो फेक रेस्क्यु

ट्रेकिङ र पर्वतारोहणमा संलग्न केही व्यवसायीले फेक रेस्क्युमा संलग्न रहेका फेक रेस्क्युसम्बन्धी अध्ययन गर्न बनेको समितिले सार्वजनिक गरिसकेको छ । पर्वतारोहणमा जाने पर्यटक सामान्य बिरामी हुँदा पनि उसलाई अत्याएर उद्धार गर्नुपर्छ भन्नेसम्मका गलत काम व्यवसायीले गर्ने गरेको समितिको ठहर छ । त्यसैगरी, कतिपय घटनामा त पर्यटकलाई बिरामी गराउने खानेकुरा खुवाएर हेलिकोप्टरमार्फत उद्धार गरी ठगी गरिएको समितिले पत्ता लगाएको थियो । त्यस्ता पर्यटकलाई काठमाडाैंका महँगा अस्पतालमा उपचार गराएर महँगो बिल बनाउँदै कमिसन खाने गरेको पाइएको थियो । यसरी नक्कली उद्दार गरी पर्यटन व्यवसायी, हेलिकोप्टर व्यवस्था गर्ने एजेन्ट, हेलिकोप्टर कम्पनी र उपचार गर्ने अस्पतालहरूको मिलेमतोमा बिमा रकम कमिसनका रूपमा बाँडचुँड गर्ने गरेको पाइएको थियो । त्यस्तै एउटै हेलिकोप्टरबाट एकैपटक चार–पाँचजना पर्यटकलाई उद्धार गर्ने, तर बिलमा भने एक–एकजना पर्यटक उद्धार गरिएिको भनी बिमा कम्पनीबाट रकम भरपाई गर्ने गरेको पनि भेटिएको थियो । 

भएन कारबाही

गत वर्ष अन्तर्राष्ट्रिय स्तरमै चर्चित फेक रेस्क्युको विषयमा सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा समिति नै गठन गरेर अध्ययन गरेको थियो । समितिले केही अस्पताल, ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनीलगायतलाई कारबाहीको सिफारिस गरेको थियो । तर, फेक रेस्क्युमा संलग्न कुनै पनि कम्पनी या व्यक्तिलाई अहिलेसम्म कारबाही गरिएको छैन । पर्यटन विभागले भने आउने दिनमा फेक रेस्क्यु हुन नदिने विषयमा केन्द्रित रहेको र गलत कार्य रोकेर अन्तर्राष्ट्रिय रूपमा बिग्रेको छवि सुधारमा केन्द्रित भएको जनाएको छ ।