मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २९ आइतबार ०९:१०:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

साबर, जाँदेपौदेको कर्खा र बादीको व्यथा

दैलेख नारायण नगरपालिकाका २२ घर सार्की परिवारले साबर प्रविधिको काम गर्थे, अहिले यो प्रविधि खुम्चिएर भगवतीमाई नगरपालिकाको एउटा परिवारमा सीमित छ

Read Time : > 5 मिनेट
२०७६ बैशाख २९ आइतबार ०९:१०:००

०७६ साल नयाँ वर्षको ८ गते कर्णाली प्रदेशको एकहप्ते यात्राका लागि चिलगाडी हुँदै नेपालगन्ज झरियो । ५५ मिनेटको आकाशयात्रामा नौलो अनुभूति गरियो । १५–२० मिनेटको क्षण अति नै अविस्मरणीय यसकारण भयो कि कुहिरोको समुद्रमाथि चिलगाडी पखेटा फिँजाएर हिमाली दृष्यलाई दाहिने पारेर रफ्तारमा बढिरहेको छ । मनमा कुरा खेलिरहेको छ, आँखाले कुहिरोको समुद्र र हिमाली दृष्यलाई एकोहोरो नियालिरहेको छ । धन्य प्रकृति ! नेपाललाई प्रकृतिले सबै कुरा दियो । तर, एउटा दूरदृष्टिसहितको नेतृत्व दिन सकेन । मनमनै प्रश्न गरेँ, अनि लामो सास फेरेँ ! विनायोजना डोजर आतंकले गरेको जमिनको चिरफार, जंगलको विनाशले जमिन कुरूप देखिन्थ्यो । ०७२ को महाभूकम्प जाँदाताका एकीकृत बस्ती विकासको गफ खुबै चलेको थियो, त्यो गफ हावामै विलायो । प्रकृति, खेतिपाती, जैविक विविधता मासेर, बाढीपहिरोलाई निम्तो दिँदै गरिबको उठिवास लगाएर आउने विनाश मात्रै हो । समृद्धिको स्यालहुइँया फगत मृगतृष्णा हो । 

सुर्खेत हुँदै दैलेख जानुपर्ने, तर टिकटको समस्याले नेपालगन्ज हुँदै जाने योजना बनाइयो । राँझा चोकबाट साना तथा मझौला यातायातको बसमा सुर्खेत जाने निधो गरियो । आधा घन्टामै कोहलपुर पुगे पनि एक घन्टा चर्को घाममा अधकल्चो भएको सिन्डिकेटबाट प्रताडित भइयो । सवारी सहचालकको यात्रु तानातान, लुछालुछको दृष्य हेर्नलायक थियो । उफ् ! दुनियाँ विज्ञान प्रविधिको विकासले चामत्कारिक फड्को मारिसक्यो । विश्वका सडक राडर प्रविधि, सिसी क्यामेरा र रोबोर्टको नियन्त्रण र स्वचालित सवारी सञ्चानलमा आइसके । तर, हाम्रोमा सडकको यो रमिता ! कुनै पनि देशको शासक र सरकार देश र जनाताप्रति कति संवेदनशील छन् भन्ने त्यो देशको यातायात क्षेत्रले निर्धारण गर्छ । एक घन्टाभन्दा धेरै कोहलपुरमै रोकिएपछि सबै यात्रुको आक्रोश र चित्कारपछि गाडी बल्ल गुड्यो । करिब चार घन्टामा सुर्खेत बसपार्कमा झरियो । सिंहदरबार घर–आँगनमै पुगेको हल्ला पनि लामो समय भइसकेको छ । तर, बसपार्कको बेहाल, सडकको दूरावस्था, फोहोर र दुर्गन्धले सरकार छ कि छैन ? भन्ने अनुभूति गर्न सक्ने अवस्था देखिएन । 

एक घन्टा जति सुर्खेतको घुमघामपछि साना तथा मझौला यातायातको बसमा दैलेखतिर लागियो । विभिन्न निहित स्वार्थमा अल्झिएको सिन्डिकेट, यात्रामा विलम्ब, सवारीका कर्मचारीका अपशब्द प्रायः देशैभरि उस्तै हो । गुराँसे डाँडाको भिर, घोडाबास, चुप्राको बाटो हुँदै बेलुकी ६ बजे दैलेख बजार पुगियो । गुराँसे डाँडाको १५/२० किलोमिटर भिरले बैतडी जाने बासुको भिरलाई पनि माथ गर्ने रहेछ, अक्करे भिर । नागबेली बाटो, बलियो सडकबार छँदै छैन । केही समयअघि मात्रै दुईवटा जिप खसेर भिरमा अड्किरहेको छ । यो दुर्घटनामा बाँच्नु भनेको उही खप्परमै लिएर आउनुपर्छ भनेजस्तै छ । प्रदेश सरकार, स्थानीय सरकारका उच्च अधिकारी यही बाटो भएर ओहोर–दोहोर गर्छन् । साँच्चै जनताकै लागि काम गर्ने सरकार हो भने सडक र जिउधनको सुरक्षाका लागि यति बेवास्ता किन ? भन्ने प्रश्न सबैको मनमा उठ्छ ।

पानीघट्टबाट आधुनिक कुटानी पिसानी मेसिनको विकास गर्न सिंगो राज्य लाग्यो, तर नेपालमा क्रमिक विकास गर्नु त परै जाओस् दलित समुदायको परम्परागत साबर प्रविधिले दैलेखमा अन्तिम सास फेरिरहँदा राज्य बेखबर छ ।

अन्तिम सास फेर्दै साबर
नेपालमै एक मात्र जीवित साबर प्रविधि दैलेखमा पाइन्छ भन्ने सूचना पहिलोपटक आहुतिबाट सुनेको थिएँ । त्यतिवेलै त्यहाँ एकपटक पुग्छु भन्ने लागेको थियो । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सचिव डा. मानबहादुर विश्वकर्माले दैलेखका पत्रकार अमर सुनारलाई सम्पर्क गराइदिनुभयो । उहाँले साबरको बारेमा काम गरिराख्नुभएका व्यक्तिसम्म सम्पर्क गराउनुभयो । काँचो छालालाई मानव प्रयोजनका लागि प्रयोग गर्न मिल्नेसम्मको प्रक्रियालाई साबर भन्ने गरिन्छ । हजाराैँ वर्षअघिदेखि मानवलाई खाली खुट्टाबाट जुत्तासम्म ल्याइपुर्‍याउने साबर प्रविधि सार्की जातिको देन थियो । स्थानीय इन्द्रबहादुर सार्कीका अनुसार पहिले नारायण नगरपालिकामा २२ घर सार्की परिवार थिए । उनीहरू सबैले यही साबर प्रविधिको काम गर्थे । अहिले यो प्रविधि खुम्चिएर भगवतीमाई नगरपालिकाको एउटा परिवारमा सीमित हुन पुगेको छ । इन्द्रका अनुसार ०२५ सालतिर जुम्लीहरू आएर प्रतिगोटा दुई–तीन रुपैयाँमा डोकोमा बोकेर जुत्ता लैजाने गरेका थिए । 

गाई, भैँसी, पाडो, गोरु, राँगो, घोरल, रतुवा, चित्तल, थार, जरायोको काँचो छालालााई साबर प्रविधिबाट प्रयोगयोग्य बनाउन तीन महिना समय लाग्छ । दैलेखको जाजुखोलामा रहेको चुनलाई कामीले गोल पोलेजस्तै तयार गरिन्छ । चार फुट गहिरो, तीन फुट चौडाइ भएको चारवटा खाल्डो आवश्यक पर्छ । पहिलो खाल्डोमा चुनसँग छाला एक महिना राखिन्छ । त्यसपछि दोस्रो खाल्डोमा धाइराको पातमा २० दिन जति राखिन्छ । तेस्रो खाल्डोमा उत्तिस, मौवा, काफलको बोक्रा र धाइराको बोक्रा कुटेर छालालाई ठाडो धोक्रोको आकारमा खाँबोमा झुन्ड्याएर बाहिर छालामा रंग नआउँदासम्म माडिन्छ । यो क्रम १५ दिन जति चल्छ । चौथो खाल्डोमा तीन चारवटा बलो, साठा राखेर छाला सुकाइन्छ । राम्रो नसुक्दासम्म बागले घोट्ने काम २५ दिन जति जारी रहन्छ । यसरी साबर तयार हुन्छ । 

इन्द्रबहादुरले यो प्रविधिलाई विकास र विस्तार गरी उद्योगमा परिणत गर्न विभिन्न सरकारी कार्यालय धाइरहे, हारगुहार गरिरहे । तर, आजसम्म उनलाई उधारो आश्वासनको पोकोबाहेक केही हात लाग्न सकेको छैन । जबकि अरू देशले यसमा क्रमिक विकास गर्दै लगे । पानीघट्टबाट आधुनिक कुटानी–पिसानी मेसिनको विकास गर्न सिंगो राज्य लाग्यो । तर, नेपाल क्रमिक विकास गर्नु त परै जाओस् निजीकरण, उदारीकरणको नाममा विश्व पुँजी र बजारले फ्याट्टै चामत्कारिक प्रगति हुन्छ भन्ने चिन्तनले यस्ता परम्परागत प्रविधि र पेसालाई लोप र विस्थापित गरायो । विनायोजना आधुनिकताको रागले शिल्पी÷दलित समुदायका परम्परागत पेसालाई विस्थापित गरेको छ । नेपालकै एक मात्रै जीवित साबर प्रविधि दैलेखमा अन्तिम सास फेरिरहँदा राज्य बेखबर छ ।

जाँदेपौदेको कर्खा
उमेरले ६५ नयाँराम दमाईका अनुसार ०२३ सालमा दैलेखबाट आएर सुर्खेत जिल्लाको वीरेन्द्रनगरको त्यो वेलाको बसपार्कको गोदमलाइन, कुइनेपानी, खोर्केखोलामा बसेका थिए । १, ४ र ६ नं. वडाबाट पञ्चायत सरकारले ०४४ सालमा डोजर लगाएर लखेट्यो । त्यो वेला एक सय ५९ घर त्यहाँ थिए । अहिले साविकको ५ नं. वडालाई नै कायम गरिएको श्रीनगर टोलमा ऊवेला विस्थापित भएका एक सय ९७ घरधुरी बसोवास गरिरहेका छन् । ०५८ सालमा १० धुर जग्गा कायम गरी सबैले लालपुर्जासमेत पाइसकेका छन् । 

कुराकानीका क्रममा नयाँराम दमाईले बिल्कुलै अहिलेसम्म प्रकाशमा नआएको कुरा सुनाउनुभयो । जाँदेपौदेको भारतमा दुई सय दमाई परिवारको सामूहिक हत्याको कारुणिक कथा ! रासकोटी शाही ठकुरी राजाको अंशबन्डाको आपसी कलहको कारणले यो घटना भएको थियो । दैलेख जिल्लाको पुरानो चामुण्डा (भैरी र तिलखानी गाउँ) गाविस, हालको चामुण्डा विन्द्रासैनी नगरपालिकामा एउटै बाबु, दुई आमा भएका रासकोटी दाजुभाइ राजा थिए । उनीहरूको बीचमा सम्पत्ति लेनदेनका कारण कलह चुलिइरहेको थियो । जाँदे जेठो थियो, कान्छो पौँदे । जाँदेले एक खड्का थरका व्यक्तिलाई धनुषकाँड बनाउन लगाएका थिए । खड्काले जाँदे पौँदेको घानमा परिने डरले धनुषकाँड जाँदेसम्म लानका लागि एउटा सोझा, इमानदार दमाईलाई छान्यो । ती दमाईले गलामा दमाहा, बाजागाजा र केराको सुप्लोमा धनुषकाँड लुकाएर खोकिलामा हाली जाँदेलाई बुझाउन जाँदै गर्दा बाटैमा पौँदेले भेट्यो । उसले कसले बनाएको ? कहाँ जान लागेको भनि सोधखोज र केरकार गर्‍यो । इमानदार दमाईले नढाँटी सबै कुरा बताइदियो । यस्तो सूचनाले पौँदे रिसले चुर भयो । आफ्नै हत्या गर्ने योजना रचिएको भन्दै उसले होस गुमायो । 

पञ्चायतदेखि गणतन्त्रसम्म आउँदा बादी समुदायको स्थायी बसोवासको सपना आजसम्म विपना बन्न सकेको छैन । चुनावमा मतका लागि जग्गा पुर्जा र घर बनाइदिने आश्वासन र नारा दिइन्छ, तर जितेर गएपछि कोही फर्केर नआएको त्यहाँको गुनासो छ ।

उसले धनुषकाँड ल्याउने दमाईलाई ठाउँको ठाउँ मारिदियो । धनुषकाँड बनाउने खड्कालाई पनि घरमै गएर मार्‍यो । खड्काले बनाएको धनुषकाँड जाँदेसम्म पुर्‍याउने एउटा दमाईको दोष सारा टोलमाथि ओइरियो । पौँदेले चामुण्डा गाउँमा रहेको दमाई टोलका दुई सयभन्दा बढी दमाईको सामूहिक हत्या गर्‍यो । सबैलाई मारिसकेपछि पनि ऊ कोही बाँकी छन् कि भन्दै खौज्दै हिँडिरहेको थियो । नयाँराम दमाईकी जिजुबज्यै एक रावलको घरमा जाँतो पिसिरहेकी थिइन् । उनी गर्भवती पनि थिइन् । रावल्नीले यी मेरी बुहारी हुन भनी बचाउने जुक्ति लगाइन् । उनी रौँ–रौँले बाँच्न सफल भइन् । त्यही गर्भको बच्चा जन्मिएपछि उनको नामै गर्भे राखियो । जो नयाँराम दमाईका जिजुबाजे थिए । यही नरसंहारको कारुणिक कथाको जीवित मौखिक लोककाव्य सम्पदालाई जाँदेपौँदेको कर्खा वा भारत भनिँदो रहेछ । यी समुदायमाथि भएका यस्ता अलिखित ज्यादती अरू कति होलान् ? इतिहासको गर्भमै कति विलीन भए ? मौखिक लोकसाहित्य सम्पदा र संस्कृतिमा अब्बल दमाई जातिमा थप खोज अनुसन्धान गर्न सकिएमा थप सत्यतथ्य कुरा बाहिर आउन सक्ने देखिन्छ । 

बादीको व्यथा
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको ३ नम्बर वडामा रहेको बादी बस्तीमा यात्राको बिट मारियो । एकजना मित्रको सहयोगमा १२ गते बिहान बादी बस्ती पुग्दा १० बजेको थियो । बस्तीको लय आफ्नै थियो । पराल, खर र थाकलले छाएको साना–साना उजाड र उराठ लाग्दा झुप्रा । ठूला–ठूला सखुवाको काँचो, सुकेको रुख र उच्च भोल्टेज भएको बत्तीको तारमुनिको असुरक्षित बस्ती । कुखुरा, बाख्रा र सुँगुर चरिरहेका छन् । केही महिला, पुरुष ज्याला–मजदुरी गर्न जान हतारिइरहेका देखिन्थे । विभिन्न विकासे संस्था र निकायले दिएको कार्यक्रम र साइनबोर्ड बस्तीको रूखमा टाँगिएका छन् । बस्तीको बीचमा रहेको सामुदायिक भवनमा भेटघाट र छलफलको सहजीकरण वडा सदस्य पार्वती बादीले गरेकी थिइन् । 

पञ्चायतदेखि गणतन्त्रसम्म आउँदा यी बादी समुदायको स्थायी बसोवासको सपना आजसम्म विपना बन्न सकेको छैन । चुनावमा मतका लागि जग्गा पुर्जा र घर बनाइदिने आश्वासन र नारा दिइन्छ तर, जितेर गएपछि कोही फर्केर नआएको गाउँलेको गुनासो छ । एक सय ६२ घरधुरीमा महिला, पुरुष र बालबालिका गरी एक हजारजति रहेका छन् । यही वडामै ०६६ सालमा मुक्त कमैयाले प्रति परिवार दुई कट्ठा जमिनसहित लालपुर्जा पाइसकेका छन् । तर, सय मिटरको फरकमा राज्यले बादी समुदायलाई नदेख्नु दुःखद् कुरा हो । अहिलेसम्म भोटको राजनीति भने जारी छ । गरिबी निवारण कोष र नगरपालिकाको कार्यक्रमसमेत व्यावसायिकभन्दा बाँच्ने किसिमको मात्रै रहेको छ । नगरपालिकाले सुरक्षित घर आवास कार्यक्रमका लागि दिएको कार्यक्रमसमेत वन कार्यलयको अवरोधले सहज रूपमा अगाडि बढ्न सकेको छैन । शिक्षा, स्वास्थ्य, आवास, रोजगारीलयागत जीवनयापनका सबै आवश्यकता रहेको बादी समुदाय स्थायी घरवासको प्रतीक्षामा रहेका छन् । राज्यले विशेष कार्यक्रम र नीतिमार्फत यी समुदायको सीप, प्रविधि र कला संस्कृतिलाई संरक्षण गर्न सकेमा समृद्धि आउन सक्छ ।