Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सुविना श्रेष्ठ
२०७६ बैशाख २८ शनिबार १८:३५:००
Read Time : > 4 मिनेट
१२औँ वार्षिकोत्सव विशेषांक

प्रश्न न्युजरुममाथि

Read Time : > 4 मिनेट
सुविना श्रेष्ठ
२०७६ बैशाख २८ शनिबार १८:३५:००

पाटनमा जन्मेकी सुबिना श्रेष्ठ करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छिन् । यसक्रममा उनले द काठमाडौं पोस्ट, न्युयोर्क टाइम्स, बिबिसी, आइटिएन, द वायर आदिमा काम गरिन् । अलजजिरामा आबद्ध उनी डकुमेन्ट्री निर्माता पनि हुन् । श्रेष्ठले निर्माण गरेका ‘बर्थ इन नेपाल’, ‘नेपाल्स स्लेभ गल्र्स’, ‘भुटान्स फर्गटन पिपुल्स’लगायत डकुमेन्ट्री चर्चित छन् । सुबिनाले नयाँ पत्रिकाका खगेन्द्र गिरीसँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :

सन् १९९० को दशकको मध्यतिर चेलिबेटी बेचबिखन र एचआइभी निकै चर्चामा हुँदा म पढ्न भारत गएकी थिएँ । सोसल वर्क पढ्न थालेपछि रिसर्चमा जाँदा थुप्रै बेचिएका महिला भेटँे । धेरैजसो मेरै उमेरका थिए, २० –२१ का । बाक्लो मेकअप पोतेर ग्राहकको पर्खाइमा लाइन लागेर उभिएका, निराश । त्यो दृश्य निकै पीडादायी थियो । उनीहरूमध्ये केहीसँग एकदम व्यक्तिगत कुरा पनि भयो । एकजना बहिनीले सोधिन्, ‘चारपटक गर्भपतन गरिसकेँ । पाँचौँपटक के गर्ने ?’ 

उनलाई दिने जवाफ मसँग थिएन । एड्सका कारण मृत्यु कुरिरहेका मानिस भेट्दा पनि म निकै निराश भएँ । निद्रा लाग्दैनथ्यो, तर केही गर्न सक्दिनथेँ । त्यसपछि लाग्यो, म सोसल वर्क गर्न सक्दिनँ । बरु उनीहरूको कथा भन्न पाएँ भने छिटो प्रभाव पार्न सकिन्छजस्तो लाग्यो । 

त्यसपछि रात्रिकक्षामा पत्रकारिता पढ्न सुरु गरेँ । काम पनि गर्न थालेँ । एकपटक दाइजो नल्याएको निहुँमा जलाइएकी एक महिलालाई अस्पतालमा भेट्न पुगेँ । उनका जलेका औँला नटाँसियून् भनेर रबरब्यान्डले बाँधिएका थिए । दर्दनाक थियो दृश्य । उनी र अरू केही महिलासँग कुरा गरेर एउटा स्टोरी लेखेँ र टाइम्स अफ इन्डियाको सम्पादकलाई देखाएँ । उनले यो महिलासम्बन्धी म्यागेजिन होइन भन्दै स्टोरी फ्याँकिदिए । मलाई थाहा भयो, त्यस्ता पीडितलाई त मान्छे नै गनिँदो रहेनछ । जसको आर्थिक र राजनीतिक पहुँच छैन, तिनको कथा कसरी भन्ने ? यसले मलाई सामाजिक न्यायसम्बन्धी पत्रकारिता गर्न धकेल्यो । मेरा लागि पत्रकारिता फगत पेसा होइन । पत्रकारिता आवाजविहीनहरूको आवाज बन्नुपर्छ, यसले शक्ति हातमा लिएकाहरूलाई उत्तरदायी बनाउन सक्नुपर्छ । झन्डै दुई दशकको अनुभवका आधारमा भन्न सक्छु, कमजोरहरूको पक्षमा बोल्न सजिलो छैन । 

आममान्छेको कथालाई कसरी प्रभावकारी ढंगले भन्न सकिन्छ, मेरो ध्येय त्यही हुन्छ । त्यसैका लागि पहिलोपटक गर्भवती हुँदा २०१० मा मैले ‘बर्थ इन नेपाल’ भन्ने डकुमेन्ट्री बनाएँ । नेपालमा मातृमृत्युदर उच्च थियो । आफैँ गर्भवती हुँदा त्यसको कारण खोज्न सकियो भने बढी प्रभावकारी बन्न सक्छ जस्तो लाग्यो । अछाममा दुई हप्ताजति बसेर डकुमेन्ट्री बनाएँ । बालिकाहरूलाई कसरी गर्भैदेखि संरचनागत रूपमा पछि पारिन्छ, हेपिन्छ, र पितृसत्ता कसरी चल्छ, डकुमेन्ट्रीले बताउँछ ।

नेपाली मिडियाको सबैभन्दा ठूलो समस्या न्युजरुममा छ । लगभग सबै न्युजरुममा उच्च जातिका पुरुष हावी छन् । नेपालको जनसंख्याको बनोट कस्तो छ, महिला, जनजाति, दलित, उत्पीडित कति छन्, सबैलाई थाहा छ । तर, तिनको पहुँच न्युजरुमसम्म छैन । उनीहरू किन त्यहाँ पुग्न सकेनन् त ? यसको सजिलो उत्तर दिइन्छ, ती समुदायका मानिसमा योग्यता छैन । तर, यो योग्यताको कुरा होइन । योग्यताकै कुरा हुन्थ्यो भने म पनि नेपाली मिडियाको नेतृत्वदायी स्थानमा पुग्थेँ होला । किन पुगिनँ त ? अरू महिला पत्रकारितामा किन टिकेनन् ? यो प्रश्न गर्न आवश्यक छ । 

शक्तिमा भएकाहरू सजिलै भन्छन्, हामी दुःख गरेर आएका हौँ, विशेषाधिकार पाएर आएका होइनौँ । दुःख गरेका त होलान् उनीहरूले, तर विशेषाधिकार के हो, त्यो बुझ्न चाहँदैनन् । उदाहरणका लागि, मेरी आमा गर्भे टुहुरो हुनुहुन्थ्यो, अत्यधिक गरिबी थियो, तर हजुरआमाले उहाँलाई पढाउनुभयो । घरनजिकै स्कुल थियो, त्यसैले पढ्ने अवसर पाउनुभयो । र, आज अरूलाई सहयोग गर्ने अवस्थामा हुनुहुन्छ । आमाले जुन माया र पहुँच पाउनुभयो, त्यो विशेषाधिकार थियो । किनभने त्यो जमानामा अरू केटीहरूले स्कुलको मुख देख्न पाएनन् । धेरै मान्छेले मेरी आमाले जत्तिको अवसर पाउँदैनन् । त्यसलाई त स्विकार्नुपर्‍याे नि ! जन्मिँदा सबै बराबर भए पनि कसले कति मौका पायो, र संरचनाले कसलाई फाइदा पुर्‍यायो, त्यसले ठूलो फरक पार्छ । पत्रकारितामा पछाडि पारिएका समुदायको बलियो उपस्थिति किन भएन भन्ने प्रश्नको जवाफ पनि यही सन्दर्भमा खोज्न सक्नुपर्छ । आफैँ पत्रकार भएर त्यस्ता विशेषाधिकारलाई बुझ्न सक्दैनौँ भने हामीले अरूको कुरा कसरी बुझ्न सक्छौँ ? 

महिला पत्रकारमाथि यौन दुव्र्यवहार भयो भने भन्ने ठाउँसमेत छैन । न्युजरुमभित्र राजनीतिको बुझाइ दलीय राजनीतिमा सीमित छ । तर, राजनीति त दलगत मात्रै हुँदैन । जातीय, लैंगिक राजनीति पनि हुन्छन् । दैनिक जीवनमा हुने यस्ता राजनीतिक खेल नबुझेपछि स्टोरीहरू एकदमै सामान्यीकृत, एकरेखीय र एकतर्फी हुन पुग्छन् । त्यसैले हाम्रो ‘स्टोरी टेलिङ’को स्तर उकास्ने हो भने दृष्टिकोण बदल्नुपर्छ । त्यसका लागि न्युजरुमको ‘डाइनामिक्स’ परिवर्तन हुनुपर्छ । यहाँ पछि पारिएका समुदायका मानिसको बलियो उपस्थिति हुनुपर्छ, तब मात्रै हाम्रो स्टोरी भन्ने तरिका परिवर्तन हुन्छ । न्युजरुमको नेतृत्व तहसम्मै महिलाका लागि ढोका खोल्न आवश्यक छ । 

न्युजरुममा मात्र होइन, हाम्रो समाजमै पछाडि पारिएका समुदायलाई समान अधिकार दिँदा सबथोक सिद्धिन्छ भनेजस्तो व्यवहार गरिन्छ । महिलाले आफ्नै परिवारमा त्यस्तो व्यवहार भोग्नुपर्छ । 

मिडिया मालिकले बुझ्नुपर्ने अर्को कुरा के हो भने पत्रकारिता पेट गर्ने काम मात्र होइन । जीवन धान्ने तलब पत्रकारले पाउनुपर्छ । खानलाउनकै लागि संघर्ष गर्नुपर्ने अवस्थाबाट मुक्त भएपछि मात्रै पत्रकारले सत्यका लागि लड्ने हिम्मत जुटाउन सक्छ । ८–१० हजार तलबमा जोताइएका पत्रकारबाट गुणस्तरीय कामको अपेक्षा गर्न सकिन्न । पत्रकारले पनि कम्तीमा पत्रकारिताको आधारभूत सिद्धान्तलाई मान्न आवश्यक छ । केही नभए पनि शक्ति हातमा लिएकालाई जवाफदेही बनाउने काम गर्नैपर्छ, आफ्नो कामप्रति इमानदार बन्नैपर्छ । 

नेपाली मिडियामा तथ्य परीक्षण, पत्रकारलाई तालिम, आदिको व्यवस्था हुनुपर्छ । कुनै विषयमा लेख्दा त्यसलाई प्रासंगिक बनाउने अभ्यास छैन । फलानाले यसो भन्यो, उसो भन्यो भनेर समाचार टुंग्याइन्छ । त्यसको पृष्ठभूमि के हो, त्यसको प्रभाव र अर्थ के हो, त्यसले कसलाई फाइदा भइरहेको छ, त्यो विश्लेषण गर्नुपर्छ । 

सञ्चारमाध्यमको मालिक को हो, कसले विज्ञापन दिन्छ, त्यसको असर रिपोर्टिङमा परिरहेको हुन्छ । सञ्चारमाध्यम निष्पक्ष हुनुपर्छ त भनिन्छ, तर सम्पादकले चाहेर पनि निष्पक्ष हुन सक्ने अवस्था छैन । त्यसैले हामीलाई यहाँका मिडियामा भन्दा अन्तर्राष्ट्रिय मिडियामा काम गर्न सजिलो हुन्छ । किनभने उनीहरूलाई यहाँका स्थानीय स्वार्थहरूसँग चासो छैन । 

भनिन्छ, आफ्नो कामबाट कोही पनि सन्तुष्ट हुनुहुँदैन । म पनि छैन । ममा सधैँ निरन्तर संघर्षको चाहना छ, अझ राम्रो गर्ने चाहना छ । तर, चाहेको जति, चाहेको जसरी मैले गर्न सकेकी छैन । पछिल्लो समय म चुनावी राजनीतिमाथि एउटा डकुमेन्ट्री बनाउँदै छु । पत्रकारिताको सुरुमा काठमाडौं पोस्टमा काम गर्दा मिटिङमै कसैले महिला पत्रकारले राजनीति बुझ्दैनन्, यो बिट दिनुहुन्न भनेका थिए । त्यसबेलैदेखि अहिलेसम्म कसैले नगरेको एउटै फिल्मबाट नेपाली राजनीतिको कथा भन्ने मेरो चाहना थियो । म त्यही गर्दै छु । 

मैले कपिलवस्तुकी सोना खातिक बहिनीलाई भेट्ने मौका पाएकी थिएँ । उहाँ मधेसी दलित महिला । धेरै तरिकाले शोषित । तर, उहाँको संघर्षको कथा अत्यन्त प्रेरणादायी छ । जमिनदारहरूले उहाँको झुप्रो तीनपटक जलाइदिएका रहेछन् । स्कुलमै छिर्न नदिने विभेद सहनुभएको रहेछ । हरेक दिन साइकलमा २० किलोमिटर यात्रा गरेर काममा जानुहुँदो रहेछ । उहाँ अहिले एउटा एफएमको स्टेसन इन्चार्ज हुनुहुन्छ । 

अनेक अवरोध सहेर उहाँ पत्रकारितामा टिक्नुभयो । उहाँ सम्पादक बन्नुभयो भने म खुसी हुन्छु । न्युजरुममा उहाँजस्तो सीमान्त अनुहार आउन सके त्यसले विद्यमान संरचनालाई बदल्न सक्छ । सोनाजस्ता संघर्ष गरिरहेका अरू बहिनीसँग काम गर्ने मेरो सपना छ । उनीहरूलाई मेन्टोर गरेर पत्रकारितामा स्थापित गर्न पाए हुन्थ्यो भन्ने छ । त्यसले उनीहरूलाई टिक्न सहयोग गथ्र्यो । किनभने यो संरचनासँग लड्न र यसलाई बदल्न जरुरी छ । त्यसका लागि महिला पत्रकारले स्थान लिन जरुरी छ । म उनीहरूलाई सहयोग गर्न चाहन्छु । 

पत्रकारले आफ्नो कथा भन्न नसक्नेहरूको आवाज सुनाइदिने हो । तर, पत्रकारिताको उद्देश्य तिनलाई आफ्नो कथा आफैँ भन्न सक्ने बनाउने हुनुपर्छ । जबसम्म सबभन्दा तलको मान्छेले माथि उठेर आफ्नो कथा आफैँ भन्न सक्दैन, जबसम्म उनीहरूको बोली अरू कसैले बोलिदिनुपर्छ, तबसम्म त्यो समाज समस्याग्रस्त छ भन्ने बुझ्नुपर्छ । त्यस्तो समाजलाई विकसित, प्रगतिशील भन्न सकिन्न । त्यस्तो समाजलाई बदल्न हामी सबैले प्रयत्न गर्नुपर्छ ।