मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष झा
२०७६ बैशाख २८ शनिबार १८:०१:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
मनीष झा
२०७६ बैशाख २८ शनिबार १८:०१:००

तथ्यांक र विश्लेषणका क्षेत्रमा काम गर्ने अनुसन्धानमूलक संस्था फ्याक्टस नेपालका संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन मनीष झा । उनले सर्भिस मार्केटिङ, राजनीतिक शास्त्र र मैथिली साहित्यमा स्नातकोत्तर गरेका छन् । उनी नेपाल युएसए अलमुनाई नेटवर्कका अध्यक्ष पनि हुन । हक्कीका पूर्व राष्ट्रिय खेलाडी झा नेपाल हक्की संघका उपाध्यक्ष पनि छन् । समाज, राजनीति र अर्थतन्त्रका नयाँ आयाममा रुचि राख्ने उनको दृष्टिकोण :

१६ औँ शताब्दीमा विश्वमा केवल २६ वटा देश थिए । हाम्रो देश मिङ्घ साम्राज्य र मुगल साम्राज्यको बीचमा थियो । तथ्यांकअनुसार त्यसवेला नेपालको भूगोलमा बसोवास गर्ने जनसंख्या २७ लाख थियो भने मिङ्घ साम्राज्यमा १६ करोड र मुगल साम्राज्यमा ११ करोड जनसंख्या थियो । अहिलेको शक्तिशाली देशमध्येको अमेरिका, जापान, कोरियालगायत कैयौँ देश अस्तिवमै थिएनन् । तिनताका नेपालको भूभागबाट मिङ्घ र मुगल साम्राज्यबीच व्यापार हुन्थ्यो । व्यवसायीलाई सहज होस् भनेर अहिलेको नुवाकोट जिल्लाको भूभागमा व्यापार सहजीकरण कार्यालय स्थापना गरिएको थियो । 

हाम्रो भूभागमा आजभन्दा पाँच सय वर्ष पहिले नै व्यापारको संस्कार सुरु भइसकेको थियो । १६ औँ शताब्दीमा व्यापार सुरु गरिसकिएको हाम्रो समाजमा १९२३ मा पहिलो निजी संस्था दर्ता भयो जसको नाम– ‘कामधेनु चर्खा प्रचारक महागुठी संघ’ थियो । गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा साना, मझौला र ठूला गरी एक वर्षमा सात हजार तीन सय ३४ वटा उद्योग दर्ता भए, अर्थात् प्रत्येक दिन झन्डै २० वटा । विगतको करिब एक दशक हामीले आर्थिक र राजनीतिक संक्रमणमा बितायौँ । सडकमा बन्द–हडताल हाम्रा लागि सामान्य र अपेक्षित हुन थालेको थियो, तर त्यसबखत देशमा अनौठो रूपमा एक किसिमको उद्यमशीलताको विकास भयो । अभाव, दबाब र डरले एक किसिमको अवसर पनि सिर्जना गर्‍याे । त्यतिवेला हामीले के देख्न सक्थ्यौँ भने राजामार्गमा बन्द–हडताल हुन्थ्यो र त्यही स्थानमा चियापसल, पानी, चाउचाउ र मकैको व्यापार हुन थालेको थियो । सहरका यात्रुले गाउँको स्वाद खोज्न थालेका थिए । तिनताका शायद त्यति सुविधा नभएको भए हाम्रा लागि १० वर्षे युद्ध अझै घातक हुने थियो होला । समृद्धि फाउन्डेसनले गरेको एक अनुसन्धानअनुसार काठमाडांै उपत्यकामा साना–ठूला गरेर ५५ हजार किराना पसल छन् । झन्डै हरेक १० घरमा एक किराना पसल । सम्भवतः विश्वको कुनै पनि सहरमा यो संख्यामा दैनिक उपभोग्य सामग्री पाउने पसल छैनन् होला । 

हाम्रो इतिहास, वर्तमान र तथ्यांक सबैले के पुष्टि गर्छ भने हाम्रो सभ्यता, अभ्यास र संस्कारमै उद्यमशीलताको गुण छ । हामी वर्तमानको सडकदेखि इतिहासको भावनासम्म देख्न सक्छौँ । त्यही व्यापारबाट निर्मित ऐतिहासिक भक्तपुर, काठमाडांै र पाटनको दरबार देख्न सक्छौँ । तर, हाम्रो इतिहास, वर्तमान र तथ्यांक सबै हुँदाहुँदै पनि हाम्रो आर्थिक विकास वा औद्योगीकरण किन हुन सकेन त रु उद्यमशीलतालाई अझै पनि ठूलो जोखिमको रूपमा किन लिइल्छ त रु लाखौँ खर्च गरेर बिदेसिने श्रमिकले त्यसको केही अंश खर्चेर देशमै उद्यमी बन्न किन रुचाउँदैनन् त रु यसबीच मैले गरेको अध्ययन र अनुभवले के देखाउँछ भने यसको मूल कारण हामी कुनै पनि कुरालाई संस्थागत गर्न चाहँदैनौँ । 

नेपालमा व्यापार, व्यवसाय, उद्योग, राजनीति, समाज, शिक्षालगायतका सबै क्षेत्रमा अनौपचारिकता हाबी छ । हामी प्रक्रिया र पद्धतिभन्दा पनि सम्पर्कको भरमा काम होस् भन्ने चाहन्छौँ । कसैले प्रक्रिया अपनाउन सुझाब दियो भने यो व्यक्तिले पद्धति बसाउन खोज्यो भन्दैनौँ कि त्यो ठूलो पल्टियो भन्ने अर्थमा लिन्छौँ । हामी जबसम्म पद्धति र प्रक्रियाको अभ्यासमा जाँदैनौँ तबसम्म हामी कुनै क्षेत्रमा पनि संस्थागत हुन सक्दैनौँ । र, जबसम्म संस्थागत अभ्यासमा जाँदैनौँ हाम्रो उपलब्धि स्थापित हुन सक्दैन । केही अनुभव र शिक्षा हासिल गरी सन् २०१२ मा नेपालमा तथ्यांकको क्षेत्रमा आवश्यकता र सम्भावना महसुस गरी मैले ‘फ्याक्ट्स नेपाल’ दर्ता गरेँ । त्यसो त दर्ताअघि नै मैले केही अनुसन्धान पनि गरेको थिएँ जुन दर्ता गर्ने क्रममा थप अनुभव गरेँ । हाम्रो समाजको सबैजसो क्षेत्रमा र विशेषतः आर्थिक क्षेत्रमा ‘मलाई सबै थाहा छ’ भन्ने सोच हाबी छ । 

संस्था वा व्यवसाय गर्न लाग्दा त्यसको दर्तादेखि नै प्रक्रिया के हो भन्ने होइन कि त्यहाँ चिनेको को छ भन्नेबाट कामको सुरुवात हुने रहेछ । सरकारी निकायमा नामको सन्दर्भमा धेरै पद्धति छ, तर त्यो आवश्यक ढंगको प्रतीत हुँदैन । कार्यशैलीमा पद्धति अपनाइँदैन कि प्रक्रिया लम्बाउन अनावश्यक पद्धति खडा गरिएको छ । सरकारी निकायका पद्धति पनि प्रक्रियालक्षित छ न कि परिणाममुखी । निजी क्षेत्रमा परिणामलक्षित यति धेरै छन् कि प्रक्रिया अपनाउने अभ्यास धेरै कम छ । ठूलाबडा वा सरकारसम्म पहुँच भएका उद्यमीको पद्धति हेर्ने हो भने हामी आफैँ अचम्ममा पर्नुपर्ने हुन्छ । कतिपय ठाउँमा हामी संलग्नता हेर्छौँ, तर उत्पादनशीलता हेर्दैनौँ । 

एक जना होटेल व्यवसायीसँग कुरा हुँदै गर्दा उनले भने– नेपालमा सयजना अटाउने रेस्टुराँमा आठदेखि १० जना बेटर राख्ने गरिन्छ । तर, युरोप, अमेरिकामा जम्मा चारजना राख्ने गरिन्छ । आठ घन्टाको काम भन्नुको अर्थ आठ घन्टा नै हो र सबैको उत्पादनशीलताको मूल्यांकन गरेर नै आम्दानी तोकिन्छ । तर, हाम्रोमा त कार्यालयको कामसमेत हामीले जम्मा चार घन्टा मात्र गर्छौँ होला । प्रधानमन्त्री केपी शर्मा ओली १८ घन्टा काम गर्नुहुन्छ भन्ने सुन्छु, तर १८ घन्टाको उत्पादनशीलता के त रु फरक भनेकै यही हो । आर्थिक रूपमा कमजोर रहेकी कुनै महिला नाङ्लोमा केही सयको सामान राखेर आम्दानी गर्न थाल्छिन्, राजमार्ग बन्द भएमा १०–१२ वर्षका बालबालिका पनि पानी, चिप्स लिएर दौडिन्छन् र आफ्नो खर्च निकाल्छन् । यही उद्यमशीलता हो । यो सीप, जोस र संस्कारले भरिएको अवसर हो, तर यो अवसरलाई संस्थागत गर्न सकिएन भने त्यो भने जोखिम हो । 

नेपालमा उद्यमी हुनु ठूलो भाग्य हो । किनभने यहाँ धेरै अवसर छ । हाम्रोमा अझै पनि धेरै क्षेत्रमा कामै भएको छैन, कुनै पनि व्यक्तिले त्यहाँ आफ्नो काम गरेर देखाउन सक्ने अवसर सुरक्षित छ । हो, सँगसँगै जोखिम पनि छ । किनभने यहाँ संस्थागत अभ्यास छैन । पद्धति अपनाउने संस्कार छैन । र, उत्पादनशीलताको मूल्यांकन छैन । हामीसँग पाँच सय वर्षको उद्यमशीलताको अभ्यास छ, यो सबल पक्ष हो । पाँच सय वर्ष पहिलेको मिङ्घ र मुगल साम्राज्य सन् २०३० सम्म विश्वकै ठूला अर्थतन्त्र हुने आकलन गरिएको छ । यो हाम्रा लागि अवसर हो । त्यसैले हामीले आफ्नो काममा लगनशीलता र नयाँ सोचको वृद्धि गर्न सक्यौँ भने हामी ठूलो सम्भावनाको बीचमा छाैँ।