मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
पृथ्वीराज अवस्थी
२०७६ बैशाख २८ शनिबार १०:०४:००
Read Time : > 1 मिनेट
ब्लग

प्रधानमन्त्रीज्यू, छाउघर किन नभत्काएको ?

Read Time : > 1 मिनेट
पृथ्वीराज अवस्थी
२०७६ बैशाख २८ शनिबार १०:०४:००


मेरो भन्नु छ 

राजनीतिमा लागेका नेता समृद्ध हुँदैमा देश समृद्ध हुँदैन । जनप्रतिनिधिले जनताको आडबाटै आफ्नो र देशको प्रगति गर्न सकिन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । चुनावका वेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुहोस् । नेताहरू उदार बन्न सिक्नुहोस् । आफूभन्दा पनि देश र जनताको हितमा काम गर्नुहोस् । किनकि राजनीतिको धर्म जनताको सेवा गर्नु हो । 

मुलुकमा अपराध बढ्दै गएको छ । बलात्कारजस्तो अपराधका घटनालाई रोक्नुहोस् । निर्मला हत्याकाण्डका अपराधीलाई कारबाही गर्नुहोस् । यस्ता आपराधिक गतिविधि रोक्न विशेष संयन्त्र बनाउनुहोस् । 

सुदूरपश्चिमबाटै राजनीति सुरु गरेका नेताले पटक–पटक सत्ता सम्हालेका छन् । तर, अझै पनि सुदूरपश्चिम भन्नासाथ विकट वा पिछिडिएको भन्ने बुझिन्छ । सुदूरपश्चिममा अझै बाली प्रथा, छाउपडी प्रथा, कमलरी प्रथा, हलिया प्रथाजस्ता कुप्रथा कायमै छन् । उन्मूलनको प्रयास भए पनि पूर्णतः उन्मूलन भएको छैन । ती प्रथा उन्मूलन गर्न किन पर्याप्त पहल नगरिएको ? छाउघर किन नभत्काएको ? स्थानीय तहबाटै यस्ता समस्या हटाउन पहल गर्नुपर्‍यो । 

पर्यटकका लागि सुदूरपश्चिम र मध्यपश्चिम मुख्य गन्तव्य बन्न सक्छन् । तर, नेपाल घुम्न आउनेमध्ये कुल २ प्रतिशत मात्रै सुदूर र मध्यपश्चिम पुग्ने गरेका छन् । पर्यटकीय स्थलको उचित प्रचार–प्रसार हुनु आवश्यक छ । १० वर्षे द्वन्द्वका वेलामा सरकार तथा माओवादी पक्षबाट थुप्रै बेपत्ता पारिए । उनीहरूको अवस्था अझै अज्ञात छ । सरकार ! उनीहरू कहाँ छन् ? मुलुक शान्ति–प्रक्रियामा पुगेको दशकौँ बितिसक्यो । द्वन्द्व प्रभावितका समस्या ज्युँकात्युँ छन् । उनीहरूको समस्या सम्बोधन भएको खै ? सुदूरपश्चिमका पहाडी क्षेत्रका जनता जनयुद्धकोे प्रत्यक्ष मारमा परे । तिनै माओवादी एमालेसँग मिलेर अहिले दुईतिहाइको सरकार बन्यो । द्वन्द्वपीडितको समस्यालाई ध्यान दिएको खोइ ? 

कम्युनिस्ट सरकारले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति सुरुमै घोषणा गरेको थियो । यो एकदमै उचित कदम हो । तर, सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारको यो नीतिले गति लिन सकिरहेको छैन । नीति घोषणा सँगसँगै कार्यान्वयनमा किन ध्यान नदिएको ? भ्रष्टाचारसँग जोडिएका मुद्दा राजनीतिक दलबाट ढाकछोप हुनु कम्युनिस्ट सरकारका लागि लाजमर्दो विषय हो । भ्रष्टाचार कम गर्ने घोषित नीति कार्यान्वयनमा किन जोड नदिएको ? 

माओवाद र लेलिनवादमा आकाश–पातालको फरक छ । माओवाद जनवादी क्रान्तिको विचार हो । लेनिनवाद सर्वहारा क्रान्ति र समाजवाद निर्माणको विचार हो । लेनिनवादले मजदुर वर्गलाई आफ्नो क्रान्तिको मुख्य शक्ति मान्छ । इतिहासमा माओवादले गरेको सर्वहारा सांस्कृतिक क्रान्तिलाई लेनिनवादीले चरम उग्रवादको नाम दिएको थियो । त्यसैले प्रधानमन्त्री ओलीज्यू, माओवादीसँग मिलेर पार्टी एकता गर्नुपर्ने आवश्यकता थिएन । जबजको सान्दर्भिकता माओवादीसँग एकता गरेसँगै सकिएको हो र ?

(बैतडीका पुराना वामपन्थी नेता अवस्थीसँग मञ्जु टेलरले गरेको कुराकानीमा आधारित)