Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
 म्यानुयल म्युनिज
२०७६ बैशाख २७ शुक्रबार ०६:०८:००
दृष्टिकोण

प्रविधिमाथि चीन–अमेरिकाको सम्भावित शीतयुद्ध

 म्यानुयल म्युनिज
२०७६ बैशाख २७ शुक्रबार ०६:०८:००

विश्व अर्थतन्त्र

अमेरिकी राष्ट्रपति यतिवेला चीनसँग निकै डराएका छन् । त्यसैले उनका हरेक गतिविधि चिनविरोधी हुन थालेका छन् । तर, अमेरिका–चीन व्यापार युद्धका धेरै दुष्परिणाम पनि छन् । जसमा चीनले भन्दा बढी अमेरिकाले क्षति व्यहोर्नुपर्ने विश्लेषकहरूको ठम्याइ छ ।

व्यापार युद्धका कारण अमेरिकाले विश्वव्यापी प्राविधिक दौडको लाभ गुमाउन सक्ने डर बढाएको छ । यो डर ट्रम्पलाई मात्रै छैन । अहिले साइबर क्षमता, बौद्धिक कृत्रिमता (एआई), एरोनेटिक्स र अन्य प्राविधिक क्षेत्रमा अमेरिकाको वर्चस्व छ । तर, चीनले पनि आफ्नो वर्चस्व सुनिश्चित गर्ने प्रयासस्वरूप ‘मेड इन चाइना २०२५’ नीति अंगीकार गरेको छ । 

यसलाई आर्थिक चुनौतीका रूपमा मात्र नभई भूराजनीतिक खतराका रूपमा पनि हेरिन्छ । चीनको आक्रामक फड्कोका कारण अमेरिकी दूरसञ्चार पूर्वाधार र बौद्धिक सम्पत्तिमा पकड गुम्दै गएको छ । यति मात्र होइन, पूर्वी एसियामा अमेरिकी सैनिकको स्तर पनि जोखिमपूर्ण अवस्थामा रहेको मान्न सकिन्छ ।

त्यसैले यतिवेला चीन–अमेरिका युद्ध व्यापारमा मात्र सीमित छैन । प्रविधिको विकासमा पनि होडबाजी छ । यसले भूराजनीतिक तनावलाई बढावा दिइरहेको छ । पहिल्यै चीनले सन् २००० को मध्यसम्ममा अमेरिकालाई धक्का दिनेमा शंका नगरिएको होइन । अहिले चुनौती दिइरहेको पनि छ । विश्वव्यापीकरण र प्रविधिले पूर्ण प्रतिस्पर्धायुक्त विश्व ‘एक गाउँ’ (सीमारहित) का रूपमा नेतृत्व गर्छ । त्यहाँ दक्ष प्रतिभाहरू जताततै अग्रपंक्तिमा देखिन्छन् । उनीहरू सीमाविहीन हुन्छन् । जहाँ आवश्यक हुन्छ, त्यता जतासुकै जोडिन सक्छन् ।  

वास्तवमा २१औँ शताब्दीमा प्रतिभाको असमान वितरण भएको छ । यस्तो यसअघि कहिल्यै भएको थिएन । क्याम्ब्रिज, म्यास्याचुट्स, सिलिकन भ्याली, सेन्जेन, चीनजस्ता केही प्रमुख हबमा विश्वका उच्च कौशल भएका डिजिटल र प्राविधिक कामदारको ठूलो हिस्सा छ । यस्तो किन भइरहेको छ भन्ने स्पष्ट छैन । तर, केही विद्वान्ले भने ‘भित्री ज्ञान’ (ट्यासिट नलेज)को भूमिकाका लागि डिजिटल प्रतिभाप्रति विशेष ध्यान दिन थालेका छन् । भित्री ज्ञान भनेको यस्तो हो, जो डिजिटाइज गर्न सकिँदैन । पुस्तकमा लेखेर वर्णन गर्न गाह्रो हुन्छ । अनुभवले मात्र सिकिने कुरा हो । 

डिजिटल विश्वमा ट्यासिट नलेजको ठूलो भूमिका हुन्छ । यो विशेष अवस्थामा मात्रै मूल्यवान् रहने कुरा भित्री पक्षलाई मात्र थाहा हुन्छ । बढ्दो प्रविधिले ज्ञान पनि विभिन्न अंशमा विभाजित हुन थालेको छ । धेरै क्षेत्रमा ज्ञान विभाजित भइरहेको हुन्छ । त्यसलाई एकत्रित गर्ने काम प्राविधिक अनुसन्धान र विज्ञहरूले गरिरहेका छन् । जुन भावी पुस्ताका लागि संग्रहणीय हुने गर्छ । 

विश्वमा कम्तीमा पनि एक अर्ब डलर मूल्यांकन भएका स्टार्टअप छन् । यो संख्याले ज्ञानको क्षेत्रहरूको आकलन गर्न सकिन्छ । तर, विडम्बना ! प्राविधिक उद्यमशीलतामा चीन र अमेरिकाको मात्र वर्चस्व छ । 

विश्वमा कम्तीमा पनि एक अर्ब डलर मूल्यांकन भएका स्टार्टअप छन् । यो संख्याले ज्ञानको क्षेत्रहरूको आकलन गर्न सकिन्छ । तर, विडम्बना, प्राविधिक उद्यमशीलतामा चीन र अमेरिकाको मात्र वर्चस्व छ । विश्वको लगभग सबै प्राविधिक उद्यमशीलता चीन र अमेरिकाकै पोल्टामा छ । उत्पादकत्व पनि डिजिटल प्रविधिमै बढी आश्रित छन् । डिजिटल प्रविधि आत्मसात् गरेका कम्पनीमाझ उत्पादकत्व अधिक भएको देखिन्छ । विगतको दशकलाई विश्लेषण गर्ने हो भने अग्रपंक्तिमा रहेका कम्पनीहरू तिनै छन्, जसले बढी प्रविधि प्रयोग गरेका छन् । 

आर्थिक विकास तथा सहयोगका लागि संगठन (ओइसिडी)ले पनि बताइसकेको छ । कि ‘फ्रन्टाएर’ कम्पनीले विश्वको झन्डै सबै उत्पादकत्व वृद्घि ओगटेका छन् । ‘लगार्ड’ (प्रविधि प्रयोगमा ध्यान नदिने) कम्पनीले उत्पादकत्वको लाभ लिन सकेका छैनन् । प्रविधि प्रयोग गर्ने र नगर्ने कम्पनीबीच असमान असन्तुलन छ । यो असन्तुलनले उत्पादकत्व वृद्घिमा सुस्ती आउने भ्रम पनि सिर्जना गरेको छ । प्रविधि प्रयोगमा ध्यान नदिने कम्पनी एक्लिने खतरा पनि उत्तिकै छ । 

प्रविधि प्रयोग, नवप्रवर्तन र उत्पादकत्व वृद्घि एकै क्षेत्र (अमेरिका र चीन)मा केन्द्रित हुने जोखिम पनि छ । यसले थप भूराजनीतिक तनाव बढाउन सक्छ । सबै मुलुक प्रविधिमा सँगै जानुपर्ने हो । प्रतिभा आकर्षित गर्ने र प्राविधिक हस्तान्तरण प्रक्रिया सहज बनाउन सके द्वन्द्व घटाउन सक्छ । अन्यथा तीव्र उत्पादकत्व बृद्धि र प्रतिस्पर्धामा वर्चस्व कुनै देश विशेषमा मात्र सीमित रहन सक्छ । अमेरिका र चीनबीच यस्तो अवस्था रहने अपेक्षित कुरा हो । 

चीनमा प्रजातन्त्र छैन । यो तथ्यले समस्यालाई थप बढाउने विज्ञहरूको विश्लेषण छ । चीनले नागरिकमाथि दमन गर्छ । जनसंख्या निगरानीमा बढी समय खर्चिन्छ । नागरिकको आवश्यकतालाई प्राथमिकता दिँदैन । सार्वजनिक सेवा सुधारमा जोड नदिन पनि सक्छ । यसले उसमा प्रविधि प्रयोग गर्ने विषयमा शिथिलता आउन सक्छ । तर, अहिलेसम्म चीनमा यस्तो प्रवृत्ति देखिएको छैन । उसले विकास र प्रविधिलाई सँगसँगै लैजान खोजेको बुझिन्छ । 

आउँदा दिनमा प्राविधिमा द्वन्द्व निम्तिने निश्चित छ । आउँदो तनावका लागि हामी तयार भएर बस्नु जरुरी छ । अमेरिका र रुसबीचको शीतयुद्धले जस्तै अमेरिका–चीनबीच प्रविधिमाथि वर्चस्व राख्ने विषयमा युद्ध हुने निश्चित छ । यसले विश्वलाई असर पार्छ । विश्वव्यापीकरणप्रति नकारात्मक भावना पनि जागृत गर्न सक्छ । यो राष्ट्रिय सुरक्षाका लागि चिन्ताको विषय पनि हो । यो प्राविधिक शीतयुद्ध पनि विश्व बजारलाई तोड्न र प्रविधिलाई पछाडि धकेल्नका लागि हुनेछ भन्नेमा विश्वास गर्न सकिन्छ । 

निश्चय नै, अमेरिका र युरोप खुला बजार अर्थतन्त्रका पक्षपाती हुन् । उनीहरू स्वतन्त्र बजार चाहन्छन् र खुला प्रतिस्पर्धा चाहन्छन् । तर, चीनको बढ्दो प्रभावले केही प्रश्न पनि जन्माएको छ । अब के युरोप र अमेरिकाका बजारहरू चिनियाँ कम्पनीका लागि खुला रहलान ् त ? पश्चिमी राष्ट्रका ‘एन्टिट्रस्ट’ अधिकारीहरू चिनियाँका लागि विश्व बजारलाई समाप्त गर्ने जोखिम लेलान् त ? यी प्रश्नको जवाफ चिनसँग मात्रै छ । उसले अब आउँदा दिनमा कस्तो भूमिका खेल्छ भन्नेमा निर्भर रहन्छ । 

अर्को अर्थमा चीनको साथ दिनु भनेको आर्थिक उदारीकरण र अर्थतन्त्रलाई राजनीति प्रेरित राज्यको हस्तक्षेपलाई बढाउनु पनि हो । चीनको अर्थनीति बजारमुखी छैन । एकांकी भएकाले चीन विपरीत दिशातर्फ रहेको मान्न सकिन्छ । यदि निरंकुश शासनले प्राविधिक दौडमा एकदमै उत्कृष्ट प्रदर्शन गर्छ, र थप राजनीतिक स्वतन्त्रताको आवश्यकताविना नै उदीयमान प्रविधिले उत्कृष्ट सुशासनलाई अनुमति दिन्छ भने विश्वभरका सरकारले चीनको नीतिलाई ध्यान दिनैपर्छ । अन्यथा चीनको नीतिप्रति असहमति जनाउँदै प्रजातन्त्रिक प्रक्रियामा जोड दिनु आवश्यक छ । 

आगामी कदम जेसुकै होस्, प्रविधिमा शीतयुद्ध चल्ने लगभग निश्चित छ । आगामी दिनमै डरलाग्दो प्राविधिक शीतयुद्ध चल्छ नै । वास्तविक शीतयुद्धले आर्थिक र भूरणनीति संरचना ध्वस्त पार्न पनि सक्छ । यसले प्रविधि विकासमा फड्को मार्ने मात्र नभई लचिलो प्रजातन्त्रको भविष्यबारे रूपरेखा कोर्न सक्नेछ ।

Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

म्युनिज म्याड्रिडस्थित आइई स्कुल अफ ग्लोबल एन्ड पब्लिक अफेयर्सका डिन हुन् ।