१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रवीन्द्रझक्त श्रेष्ठ
२०७६ बैशाख २६ बिहीबार १४:५५:००
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
रवीन्द्रझक्त श्रेष्ठ
२०७६ बैशाख २६ बिहीबार १४:५५:००

रवीन्द्रझक्त श्रेष्ठ पुरानो व्यावसायिक घराना एनई समूहका निर्देशक हुन् । जिजु हजुरबुबा हरिभक्त श्रेष्ठले सुरु गरेको व्यावसायिक बिरासत सम्हाल्ने जिम्मेवारी हजुरबुबा इन्द्रभक्त, बुबा रविभक्त हुँदै रवीन्द्रको काँधमा आइपुगेको छ । हस्पिटालिटी बिजनेसमा सक्रिय उनी अन्य वित्तीय संस्थामा पनि आबद्ध छन् । भारतमा स्कुल, बेलायत र अमेरिकामा कलेज पढेर फर्केर साझेदारी व्यवसाय प्रवद्र्धन गर्ने अभियान सक्रिय रवीन्द्रभक्तले नयाँ पत्रिकासँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा :

नेपालमा अवसर धेरै छ, तर पहिल्याउन सकिएको छैन । यहाँ जुनसुकै क्षेत्र र व्यवसायमा लगानी गरेर नाफा कमाउन र रोजगारी सिर्जना सकिन्छ । उद्यमशील बन्न यो गतिलो मुलुक हो । पर्यटन, आइटी, कृषि, पूर्वाधारमा लगानी गर्न सकिन्छ भने स्टार्टअपका लागि पनि यो भर्जिन मुलुक हो । 

पर्यटनको ठूलो सम्भावना भएको मुलुक हुनाले नेपालको मुख्य उद्योग भनेको हस्पिटालिटी हो । विश्वका खर्चालु पर्यटक भित्र्याउन सकिने देखेरै नै यो व्यवसायमा छिरेका हौँ । ओबराय ग्रुपसँग सोल्टीको सेयर किनेसँगै हामी यसतर्फ लाग्यौँ । अहिले नेपालगन्जको सोल्टी, कुपन्डोलको समिट र झम्सिखेलको भिभान्ता काठमाडौं होटेलमा हाम्रो लगानी छ । अवसर आए अन्य व्यवसायमा पनि लाग्छौँ । 

हामीले खर्चालु पर्यटक भित्र्याउन पहल गर्नुपर्छ । महँगा होटेल तथा रिसोर्ट उनीहरूकै लागि हो । निर्माणाधीन तारेहोटेल र बहुराष्ट्रिय ब्रान्डहरूले ‘हाइएन्ड’ पर्यटक तान्ने लक्ष्य राखेका छन् । त्यसका लागि पूर्वाधारमा सुधार गर्नुपर्छ । विमानस्थल राम्रो बनाउनुपर्छ । २० लाख पर्यटकको लक्ष्य पूरा गर्न पनि विमानस्थल, सडक, होटेल राम्रो हुनुपर्छ । पर्यटन क्षेत्रका व्यवसायीबीच आकर्षक प्याकेज विकास र बजारीकरणमा साझेदारी हुनुपर्छ ।

स्मार्ट युवा, स्मार्ट सोच
मभन्दा अघिल्लो पुस्ताका नेपाली विदेशका ठुल्ठूला ख्यातिप्राप्त वित्तीय कम्पनी, उद्योग, व्यवसाय र विश्वविद्यालयमा कार्यरत छन् । त्यो पुस्तामा पनि नेपाल फर्किने र केही गर्ने सोच छ । विदेशमा वर्षौँ काम गर्दागर्दा मान्छे थाकिसक्छ । अन्ततः नेपाल फर्किन चाहन्छ । मेरो उमेरका युवाहरूको सोच अलिक फरक छ । विदेशमा पढेर राम्रो शिक्षा हासिल गरेपछि उनीहरू अवसर पनि राम्रै खोज्छन् । मेरो उमेरका युवा देश फर्किन जागिरमा होस् वा व्यवसायमा, केही न केही राम्रो अवसर देख्नुपर्छ । मेरो पारिवारिक व्यवसाय थियो, धेरै सोच्नुपरेन । तर, व्यावसायिक घरानाबाहिरका युवा नेपाल फर्किन अवसर कुर्छन् । 

एक्लै १० वटा व्यवसाय चलाउनुभन्दा साझेदारीमा सयवटा व्यवसायमा लगानी गर्नुपर्छ । यसले युवामा उद्यमशीलता विकास हुन्छ । रोजगारी पनि सिर्जना हुन्छ । युवा पलायन रोकिन्छ । अर्थतन्त्रमा पनि योगदान बढ्छ ।

मेरा तीक्ष्ण साथी थिए । उनीहरूको पारिवारिक व्यवसाय थिएन । स्वदेश फर्किएर कि त आफ्नै व्यवसाय सुरु गर्नुपथ्र्यो, कि जागिर खानुपथ्र्यो । उनीहरू भन्थे– नेपाल फर्किएर के गर्नु ? लगानी गरेर व्यवसाय स्थापित गर्न सजिलो छैन । लगानी गर्न पैसा पनि छैन । जागिर पढाइअनुसारको पाइँदैन । यो १०–१२ वर्षअघिको कुरा हो । अहिले केही सुधार त हुँदै छ, तर युवालाई स्वदेशमै रोक्ने वातावरण बनिसकेको छैन ।

अमेरिकामा ग्र्याजुएसन सकेर सन् २०१० मा फर्किंदा अवस्था अन्योलपूर्ण थियो । राजनीतिक अस्थिरता, बन्द, हडताल थियो । म फेरि मास्टर्स गर्न २०१३ मा अमेरिका गएँ र २०१५ मा फर्केँ । त्यसवेला माहोल फेरिँदै गएको पाएँ । पहिले समस्या देखिरहेको थिएँ, फर्किंदा सम्भावना देख्न थालेँ । 

अहिले व्यवसायको मोडल पनि परिवर्तन भइसकेको छ । साझेदारी व्यवसाय फस्टाउन थालेको छ । लगानीका लागि सकारात्मक वातावरण बन्दै छ । साझेदारीमा व्यवसाय गर्ने युवाको संख्या बढ्दै छ । उनीहरू इनोभेसनमा लागेका छन् । 

प्राइभेट इक्विटीमार्फत व्यवसाय सुरु गर्न खोजिरहेको छु । आत्मविश्वासी युवा धेरै भेटेँ । केही गर्न सक्छु, आफ्नो पहिचान बनाउँछु भन्ने आत्मविश्वास युवामा छ । ठूलो व्यावसायिक घराना हुनैपर्छ भन्ने छैन, आफ्नो ज्ञान र सीपले स्टार्टअप सुरु गर्न सक्छु भन्ने छ । साझेदारी मोडलमा पुँजी निर्माण भइहाल्छ । पढे–लेखेका युवाहरू सफा पानी, फोहोर व्यवस्थापन, कपडा धुने, खाना सर्भ गर्ने, अर्गानिक फुडजस्ता व्यवसायमा लागिरहेका छन् । स्टार्टअप बिजनेसको लहर चलिरहेको छ ।

युवा रोक्ने नीति
अमेरिकामा काम गर्ने वातावरण राम्रो छ । पैसा पनि छ । कामको कदर हुन्छ । मिहिनेत गर्ने मान्छे माथि पुग्न सक्छ । नेपालमा त्यो वातावरण छैन । अझै ठूलो संख्या रोजगारीमा खाडी गइरहेको छ । बल प्रयोग गरेर युवालाई रोक्न सकिन्न । विदेश नजाऊ, नेपालमै केही गर भनेर मात्र पनि हुँदैन । अहिले विश्वभर प्रतिस्पर्धाको वातावरण छ । जहाँ अवसर पाइन्छ, युवा त्यतै जाने हुन् । नेपालमा लगानीको वातावरण र रोजगारी सिर्जना भयो भने मात्र युवा स्वदेशमै रोकिन्छन् ।

सरकारले अवसर देखाओस्, नीति राम्रो बनाओस् । भर्खर लगानी सम्मेलन भयो । धेरै विदेशी लगानीकर्ता आए । कतिपयले लगानी भित्र्याउने आश्वासन दिएका छन् । तर, उनीहरू आउन लगानीको वातावरण चाहिन्छ । लगानी सुरक्षित हुनुपर्छ । नाफाको सुनिश्चितता हुनुपर्छ । सजिलो नीति हुनुपर्छ । नत्र जहाँ अवसर हुन्छ लगानी त्यतै ओइरिन्छ ।

सरकारले युवालाई इन्सेन्टिभ दिनुपर्छ । विदेशमा भन्दा नेपालमा लगानी गर्ने अवसर र वातावरण राम्रो छ भन्ने गराउनुपर्छ । अवसर भयो भने कोही बाहिर जाँदैन । लगानीकर्ताले अवसर खोज्छ । अझ स्मार्ट युवा धेरै अवसर खोज्छन् । सरकारले विदेशमा पढेका युवालाई स्वदेशमा तान्ने नीति बनाउनुपर्छ । 

विदेशी लगानी भित्र्याउन र स्वदेशी लगानी परिचालन गर्न सरकारले इन्सेन्टिभ दिनुपर्छ । सहुलियत ब्याजमा ऋण दिनुपर्छ । उदार नीति बनाउनुपर्छ । 

अहिले पनि एउटा कम्पनी वा उद्योग खोल्न दर्जन निकाय धाउनुपर्छ । धाउँदाधाउँदै ६ महिना नाघिसक्छ । प्रक्रिया पूरा गर्न नपाउँदै लगानीकर्ता हतोत्साहित हुन्छ । प्रधानमन्त्रीले लगानी सम्मेलमा ‘वान विन्डो सिस्टम’ लागू गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विदेशी लगानी भित्र्याउन र स्वदेशी लगानी परिचालन गर्न सरकारले इन्सेन्टिभ दिनुपर्छ । सहुलियत ब्याजमा ऋण दिनुपर्छ । उदार नीति बनाउनुपर्छ । ‘नेपाल बस्ने मन भए बस, जाने मन भए जाऊ’ भनेर हुँदैन ।

साझेदारी बिजनेस मोडल
विश्वभर अर्थतन्त्र र व्यवसायको मोडल परिवर्तन भइसकेको छ । साझेदारी व्यावसायिक संस्कृति बढेको छ । विश्वका ठुल्ठूला व्यवसाय साझेदारीमै फस्टाएका हुन् । पछिल्ला वर्षमा नेपालमा पनि यस्तो व्यवसाय जुर्मुराउँदै छ । 

नेपालमा शताब्दीयौँदेखि व्यवसाय गर्दै आएका पुराना घराना छन् । ती एकदमै अलगअलग छन् । एक्लै लगानी गर्ने, एक्लै नाफा खाने । अब आफैँले मात्र व्यवसाय गर्ने होइन । कुनै पनि उद्योग व्यवसायमा आफ्नो मात्र लगानी गर्ने भन्ने मेन्टालिटी फेजआउट हुनैपर्छ । इनोभेटिभ बिजनेस मोडल सुरु गर्नुपर्छ । हाम्रा व्यावसायिक घराना खुला र दिलदार भएनन् भने धेरै प्रगति गर्न सक्दैनन् । एउटा सानो कम्पाउन्डभित्र बसेर बाहिरी दुनियाँसँग साझेदारी नगरी ठूलो प्रगति हुँदैन ।

अब हामी व्यवसायको साझेदारी मोडलमा जानुपर्छ । त्यसो गरिएन भने ठूला घरानाको बिस्तारै ओरालो लाग्छन् । खुसीको कुरा, पछिल्लो समय पुराना घराना पनि साझेदारी व्यवसायमा रमाउन थालिसकेका छन् । विश्वव्यापी यो संस्कृतिले धेरैलाई उद्यमशील बनाउन सकिन्छ । पुँजी हुनेले पुँजी लगानी गर्छन्, ज्ञान हुनेले ज्ञान । यो मोडलमा थुप्रै व्यवसायमा जोडिन सकिन्छ । म पुँजी लगाउन सक्छु, तर व्यवसाय गर्ने ज्ञान नहुन सक्छ । मैले प्रतिभाशाली युवाको ज्ञानमा भर परेर लगानी गर्न सक्छु । ऊ पनि उद्यमी बन्छ, मेरो पनि उद्यमको दायरा बढ्छ । कसैको उद्यमशील दिमाग भएमा ठूला हाउसले साझेदारी गर्नुपर्छ । अहिलेको दुनियाँमा यही मोडल उपयुक्त छ । 

प्राइभेट इक्विटी बिजनेस
नेपालमा युवापुस्ता एकदमै स्मार्ट, प्रतिभाशाली, सशक्त र महत्वाकांक्षी छ । यो पुस्तासँग मिलेर काम गर्दा ठूलो अवसर सिर्जना गर्न सकिन्छ । फाइदा ठूला व्यवसायीलाई पनि हुन्छ । एनई समूहले यस्ता युवालाई समेटेर अगाडि बढ्ने लक्ष्य लिएको छ । सबै व्यवसाय आफैँ नगरी उद्यमीहरूलाई प्रवद्र्धन गर्दै छौं । हामी प्राइभेट इक्विटी बिजनेस सुरु गर्दै छौँ ।

प्राइभेट इक्विटीमार्फत कम सेयर लिएर इनोभेटिभ बिजनेसलाई प्रवद्र्धन गर्नेछौँ । यो विश्वभर चलेको चलन हो । लगानी नभएका प्रतिभावान युवालाई उद्यमी बनाउने गतिलो माध्यम हो । हाम्रो परिवारको अधिकांश व्यवसाय साझेदारीमै चलिरहेका छन् । सबै व्यवसायीमा यो सोच आउनुपर्छ । विदेशमा कुनै कम्पनी दुई–तीन वर्षैमा अर्ब डलरको बन्न सक्छ । नेपालमा पनि त्यस्तो व्यवसाय गर्न सकिन्छ । पुँजी र ज्ञानबीच साझेदारी गरेर अगाडि बढेमा ठूलो व्यवसाय खडा हुन्छ । 

मेरो पुस्ताले साझेदारी व्यवसायमा जोड दिनुपर्छ । धेरै व्यक्तिको क्षमता उपयोग गर्नुपर्छ । यसले नतिजा पनि बढी दिन्छ । मैले एक्लै १० वटा व्यवसाय चलाउनुभन्दा साझेदारीमा सयवटा व्यवसायमा लगानी गर्नुपर्छ । यसले युवामा उद्यमशीलता विकास हुन्छ । रोजगारी पनि सिर्जना हुन्छ । युवा पलायन रोकिन्छ । अर्थतन्त्रमा पनि योगदान बढ्छ ।