मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २६ बिहीबार ०८:५२:००
Read Time : < 1 मिनेट
समाचार

विद्युत् नियमन आयोग अध्यक्षले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २६ बिहीबार ०८:५२:००

विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डिल्लीबहादुर सिंहसहित पाँचै पदाधिकारीलाई ऊर्जामन्त्री वर्षमान पुनले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा सिंहलाई नियुक्त गरेको थियो । उनी विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन् । त्यस्तै, आयोग सदस्यहरूमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद कलवार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वप्रमुख रामप्रसाद धिताल, हाल लगानी बोर्डमा कार्यरत रामकृष्ण खतिवडा र महिला कोटामा भागीरथी ज्ञवाली नियुक्त भएका छन् । 

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको आयोग पदाधिकारी सिफारिस समितिले १६ पुस ०७५ मा अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायसहित पाँच पदाधिकारीको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा लगेको थियो । तर, मन्त्रालयको सचिवबाट राजीनामा दिएर आयोग अध्यक्षको पदका लागि आवेदन दिएका उपाध्यक्षको ‘कुलिङ पिरियड’ नपुगेको भन्दै उनको उम्मेदवारीप्रति विरोध हुँदै आएको थियो ।

मन्त्रिपरिषद्ले समेत उनको नियुक्ति रोकेको थियो । त्यस्तै, सिफारिस समितिले अध्यक्षका लागि एकभन्दा बढी उम्मेदवार सिफारिस गर्नुपर्नेमा एकजना मात्रै सिफारिस गरिएको भन्दै मन्त्रिपरिषद्ले असन्तुष्टि जनाउँदै आएको थियो । आयोगका अध्यक्षका लागि सिंह र विद्युत् महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगत भुसालले समेत आवेदन दिएपछि उपाध्यायलाई नियुक्त गर्न नमिल्ने भन्दै मन्त्रिपरिषद्ले दोस्रो नम्बरका सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।