मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २३ सोमबार १३:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

प्लास्टिकको सट्टा ‘फ्याब्रिक झोला’ प्रयोग गर्न नगरपालिकाकाे आग्रह

Read Time : < 1 मिनेट
२०७६ बैशाख २३ सोमबार १३:५५:००

सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा रोक लगाइ ‘फ्याब्रिक झोला’ प्रयोग गर्न नगरवासीलाई आह्वान गरेको छ । नगरपालिकाले सोमबार एक औपचारिक कार्यक्रम गरी प्लाष्टिकको सट्टा फ्याब्रिकको झोला बजार क्षेत्रको प्रतिनिधि र उद्योग वाणिज्य संघ जुम्लालाई हस्तान्तरण गरेको हाे । 

प्लास्टिकजन्य वस्तुको प्रयोग अत्यधिक बढेको र यसले फोहोर बढाएको तथा खेतीयोग्य जमिनमा मिसिएर उत्पादनमा असर गर्न थालेपछि रोक लगाउने निर्णय नगर कार्यपालिकाको बैठकले नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । 

‘प्लास्टिक नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदूषण बढाउने र मानव स्वास्थ्यमा समेत असर पार्ने भएकाले रोक लगाउने निर्णय  गरिएको हो,’ नगरप्रमुख सेजुवालले भनिन् । नगरपालिकाले यसको विकल्प तयार गरी फ्याब्रिकको झोला वितरण गरेको छ । नगरपालिकाले ६ क्विन्टल ‘फ्याब्रिक झोला’ ल्याएको प्रमुख सेजुवालले बताइन् । ‘अब सबै उपभोक्ता तथा व्यापारीलाई फ्याब्रिक झोला नै प्रयोग गर्न आह्वान गरेका छौँ,’ उनले भनिन् । यसले प्लास्टिकमुक्त नगर बनाउन सहयोग पुग्ने उनको भनाइ छ । 

प्लाष्टिकको सट्टा फ्याब्रिकको झोला प्रयोग गर्न नगरपालिकाले उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेकोले छ । अव उद्योग वाणिज्य संघ जुम्लाले ६० प्रतिशत अनुदान अर्थात प्रति केजी एक सय ९० रुपैयाँमा व्यापारीहरुलाई वितरण गर्ने कार्य योजना रहेको छ । 

नगरपालिकाले बजारमा बाँकी रहेका प्लास्टिकको झोलाहरु व्यवस्थापन गर्न व्यापारीलाई आग्रह गरेको छ । प्लास्टिकमुक्त नगर कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न वडास्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ  ।