मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २२ आइतबार १२:४३:००
Read Time : > 1 मिनेट
समाचार

यार्सागुम्बा टिप्न लेकतिर लागे मनाङवासी

Read Time : > 1 मिनेट
२०७६ बैशाख २२ आइतबार १२:४३:००

हिमालपारीको जिल्ला मनाङमा बैशाखको दोस्रो हप्ताबाट यार्सागुम्बा टिप्ने सिजन सुरु भएको छ । मौसमी आयआर्जनको गतिलो स्रोत यार्सा टिप्न मनाङका स्थानीय लेकतिर जान थालेका छन् ।  बहुमूल्य जडीबुटी यार्सा टिप्न मनाङ, गोरखा, धादिङ, लमजुङ र नुवाकोट जिल्लाबाट समेत मानिसहरू आवश्यक सामग्री बोकेर मनाङको लेकतिर लागेका छन् । 

मनाङका विभिन्न लेकहरु मध्ये राम्रो यार्सागुम्बा पाउने नाम्ग्य  खर्कमा यस वर्षको पहिलो यार्सागुम्बा टिप्नको लागी पुर्जी जारी गरिएसँगै यार्सागुम्बा टिप्न थालिएको हो । यस वर्ष पहिलो पटक अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिले ताचै वगरछाप र नार गाउँमा पर्ने नाम्ग्य खर्कमा यार्सागुम्बा संकलनको लागि १६ बैशाखबाट जारी हुने गरी पूर्जी खुल्ला गरेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले बताए । 

यार्सा संकलनको लागि टेन्डर पाएका मेघबहादुर बराइलीका अनुसार यस वर्ष नाम्ग्य लेकमा यार्सागुम्बा टिप्न ३६ लाख २० हजार रुपैयाँमा ठेक्का पाइएको छ । लक्षित क्षेत्र रहेको स्थानका स्थानीयहरुलाई तीन हजार, जिल्ला भित्रका स्थानीयलाई ४ हजार ५ सय र जिल्ला बाहिरका मानिसहरुलाई १० हजारका दरले यार्सागुम्बा टिप्न दस्तुर लगाइएको उनले बताए । 

मनाङको नाम्ग्य खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेकलगायतका स्थानहरु यार्सागुम्बा बढी पाइने स्थानहरु हुन् । 

यार्सागुम्बा खोज्न पूर्जी खुल्ला गरिएको ६ दिनमा चार सय नौ जनाले अनुमती लिएका छन् । नाम्ग्य लेकमा यार्सागुम्बा खोज्न ६ सय जनालाई मात्र अनुमति तथा पुर्जी प्रदान गरिने बराइली बताउँछन् । 

यार्सागुम्बाको सिजन सुरु भएसँगै जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवणकुमार विकले बताए । खर्कहरुमा मादक पदार्थ तथा आवश्यक भन्दा बाहिरका हातहतियारहरु लैजानमा रोक लागाइएको छ । 
 
२०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको हत्या भएपछि मनाङको साविकको नार र फु गाबिसमा यार्सा संकलनमा राक लागाइएको थियो । उक्त घटना पछि एक्याप मनाङले यार्सा संकलनलाई व्यवस्थित बनाउन थालेको छ ।