मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ बैशाख २१ शनिबार ०८:१२:००
Read Time : > 1 मिनेट
विश्व

भारतमा चक्रवात फानीले तीनको मृत्यु 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ बैशाख २१ शनिबार ०८:१२:००

हिन्द महासागरमा आएको चक्रवात फानीले भारतको पूर्वी राज्य उडिसाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीय समयअनुसार बिहान साढे आठ बजे आएको यस समुद्री तुफानमा तीनजनाको मृत्यु भएको छ । यसअघि सम्भावित जोखिम कम गर्न उडिसाका १५ जिल्लाका ११ लाख सर्वसाधारणलाई अन्यत्रै सारिएको थियो । भारतीय कोस्टगार्डका महानिरीक्षक केआर सुरेशका अनुसार एक सय ६० भन्दा बढी घाइते छन् । क्षतिको थप रिर्पोट आउन बाँकी नै छ । 

अधिकारीहरूका अनुसार जब, तुफान आयो, त्यतिवेला हावाको रफ्तार एक सय ७५ किलोमिटर प्रतिघण्टा थियो । केही स्थानमा दुई सय ४५ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो ।  

२० वर्षपछिको शक्तिशाली चक्रवात

सन् १९९९ मा भारतमा आएको सुपर साइक्लेन (चक्रवात)पछिको यो सबैभन्दा खतरनाक चक्रवात हो । तुफानपछि भारतको आन्ध्र प्रदेशका चार जिल्ला पूर्व गोदावरी, विशाखापट्टनम, विजयनगर र श्रीकाकुलममा चुनावी आचारसंहिता तत्कालका लागि हटाइएको छ । तुफानसँगैको वर्षाका कारण नदीहरूको बहाव बढेको छ । 

उडिसा राज्यका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएका छन् । रूख तथा बिजुलीका पोलहरू ढलेका छन् । हवाई तथा रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ । उद्धारका लागि राष्ट्रिय विपद् व्यवस्थापन टोली तैनाथ गरिएको छ । 

बंगलादेशमा उच्च सतर्कता 

मौसम विभागको प्रक्षेपणअनुसार शनिबार तुफान बंगलादेशको चिट्टागंगतर्फ जानेछ । सरकारले सम्भावित फानीबाट हुन सक्ने क्षति कम गर्न आवश्यक  तयारी गरेको बंगलादेशका विपद् व्यवस्थापन तथा उद्धारमन्त्री इनामुर रहमानले बताएका छन् । शुक्रबार तुफानको प्रभाव उडिसासहित भारतका विभिन्न राज्य तथा नेपालको पहाडी तथा हिमालय क्षेत्रसम्म परेको थियो । 

चार लाखलाई सुरक्षित स्थानमा सारियो 

कक्स बजारसहित आसपासका समुन्द्री तटबाट चार लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको बंगलादेश सरकारले जनाएको छ । यहाँ, हजारौँ रोहिंग्या शरणार्थीको बसोवास छ । उद्धारका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको छ । सरोकारवालाहरूले शरणार्थी शिविरमा हुन सक्ने क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् ।