१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामचन्द्र न्यौपाने
२०७६ बैशाख २१ शनिबार ०७:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

यार्सागुम्बा  टिप्न १३ जेठदेखि यार्सापाटन खुल्ने

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७६ बैशाख २१ शनिबार ०७:५०:००

हिमाली जिल्ला डोल्पाका सम्पूर्ण यार्सागुम्बा पाटन १३ जेठदेखि खुला गरिने भएको छ । सर्वपक्षीय बैठकले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि जिल्लाका सामुदायिक वन, राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा पर्ने सबै पाटन १३ जेठदेखि खुला गर्ने निर्णय गरेको हो ।

यहाँका तीन सयभन्दा बढी पाटनमा यार्सागुम्बा पाइन्छ । संकलकहरूलाई एकसाथ प्रवेशको अनुमति दिन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । तीन हजार पाँच सयदेखि पाँच हजार मिटरसम्मको उचाइमा मात्र पाइने यार्सागुम्बा संकलन गर्न बिसौँ हजार सर्वसाधारण डोल्पा आउने गर्छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलकन गर्न तीन किसिमको संकलन इजाजत पुर्जी जारी गरेको छ । जसमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि पाँच सय, जिल्लाभित्रका नागरिकका लागि दुई हजार र जिल्ला बाहिरका नागरिकका लागि तीन हजार राजस्व शुल्क निर्धारण गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद यादवले जानकारी दिए । प्रवेश शुल्कबाहेक हरेक व्यक्तिले सेवा शुल्कस्वरूप पाँच सय रुपैयाँ छुट्टै तिर्नुपर्छ । 

यसवर्ष डोल्पामा पटकपटक हिमपात हुँदा पाटनहरूमा दशौँ फिट हिउँ जमेका थिए । जसका कारण यस वर्ष केही ढिलो गरी अनुमति खुलाइएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए । जेठ पहिलो सातादेखि असार दोस्रो सातासम्म मानिने सिजनमा यार्सागुम्बा संकलन गरेर मनग्ये आम्दानी गर्ने सपना बोकेर बिसौँ हजार सर्वसाधारण यार्सापाटन पुग्ने गर्छन् । रुकुम, जाजरकोट, सल्यानलगायतका जिल्लाबाट पनि सर्वसाधारण जाने गरेका छन् ।