मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २० शुक्रबार १४:४३:००
Read Time : < 1 मिनेट
समाचार

कर्मचारीको गुनासो सम्बोधनपछि लोकसेवा आयोगलाई विज्ञापन गर्न आह्वान गर्छाैँ : मन्त्री पण्डित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २० शुक्रबार १४:४३:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासो वैशाख महिनाभित्र सम्बोधन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले यही महिनामा गुनासो व्यवस्थापन समितिले समायोजन गरी कर्मचारीको गुनासो सम्बोधन गर्ने बताएका हुन् ।

समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति गठन गरिएको भन्दै मन्त्री पण्डितले जायज गुनासो मात्र सम्बोधन हुने धारणा राखे । उनका अनुसार प्रशासनिक सेवा समूहका अधिकांश गुनासोलाई सम्बोधन गरिसकेको छ । “प्रशासनिकबाहेक अरू समूहका गुनासोलाई एक(एक गरेर अध्ययन गर्ने कार्य भइरहेको छ”, उनले भने, “कर्मचारी समायोजन ऐनअनुसार नै मिल्ने गरी आएका गुनासोलाई सम्बोधन गरिनेछ ।”

उनका अनुसार काम गरिरहेका ठाउँभन्दा धेरै टाढा कर्मचारी समायोजन गरिएका, श्रीमान श्रीमती फरक ठाउँमा परेका, शारीरिक अपाङ्गता भएका, कडा रोग लागेका कर्मचारीका हकमा निवेदनका आधारमा पुनः समायोजन गरिनेछ । मन्त्री पण्डितले गुनासोमध्ये महिलालाई प्राथमिकतामा राखिने जानकारी गराए । सरकारले गत चैत १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा करिब एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । उक्त समायोजनप्रति असन्तुष्टि जनाउँदै करिब २० हजार कर्मचारीले पुनरावलोकनका लागि गुनासो व्यवस्थापन समितिमा निवेदन दर्ता गराएका छन् । 

उनले जनताका काम सबैभन्दा बढी स्थानीय तहमा हुने भएकाले स्थानीय तहमा पहिला कर्मचारी पदपूर्ति गरिने जानकारी गराएका थिए । “स्थानीय तहमा रिक्त कर्मचारीको विवरण माग गरिएको छ”, उनले भने, “स्थानीय तहले रिक्त विवरण पठाएपछि लोकसेवा आयोगलाई आउने साता विज्ञापनका लागि पत्र पठाइनेछ ।”