मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रदेश ब्युरो
२०७५ पौष १२ बिहीबार ०७:०७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

प्रदेश राजधानीमै घर भएका सांसदले पनि बुझ्छन् संसदबाट घरभाडा

Read Time : > 3 मिनेट
प्रदेश ब्युरो
२०७५ पौष १२ बिहीबार ०७:०७:००

सरकारी आवासमा बसेर पनि घरभाडाबापतको सुविधा बुझ्ने सांसद भेटिएका छन् प्रदेश सभामा 

प्रदेश १ : आफ्नै घरमा बसेर घरभाडा

संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, नेकपाकी मीना यादव र लीलाबल्लभ अधिकारी तथा कांग्रेसकी बिन्दिया कार्कीको प्रदेश राजधानी विराटनगरमा घर छ । तैपनि उनीहरूले मासिक १५ हजारका दरले प्रदेश सभाबाट घरभाडा रकम बुझिरहेका छन् । 

विराटनगरसँग सिमाना जोडिएको ग्रामथान गाउँपालिका घर भएका नेकपाका विजयविश्वास थारू र धनपालथान गाउँपालिका घर भएका ज्ञानेश्वर राजवंशी, इटहरी घर भएका सर्वध्वज साँवा र लिलम बस्नेत तथा विराटचोकका राजकुमार ओझा घरबाटै संसद् ओहोरदोहोर गर्छन् । तैपनि घरभाडाबापतको रकम भने बुझिरहेका छन् । 

राजधानीबाट करिब ३० किलोमिटर दूरीमा घर भएका अन्य केही सांसद पनि घरबाटै संसद् आउ–जाउ गर्छन् । उनीहरूले पनि घरभाडा रकम भने बुझिरहेका छन् ।

 प्रदेश २ : दलका नेतासहित १४ सांसद बुझ्छन् घरभाडा
कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवको घर जनकपुरमै छ, उनी बस्छन् पनि त्यहीँ । तैपनि यादवले घरभाडाबापत प्रदेश सभाबाट प्रत्येक महिना १८ हजार रकम बुझ्ने गरेका छन् । संसदीय दलका नेता, सत्तापक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई प्रदेश सभा सचिवालयले मासिक १८ हजार आवास सुविधा दिँदै आएको छ । 

यादवसहित १४ सांसदले जनकपुरमा घर भएर पनि प्रदेश सभाबाट घरभाडा रकम बुझ्ने गरेका छन् । सांसदहरूले घरभाडाबापत प्रतिमहिना १५ हजार रुपैयाँ पाउने व्यवस्था छ । 

यो सुविधा दुरुपयोग गर्दै राजपाका सुरिता साह, ज्यनुल राइन, रिना यादव, जानकीशरण साह र परमेश्वर साह, कांग्रेसका मञ्जुकुमारी यादव, सरस्वती चौधरी, प्रमिला दास र शिवचन्द्र चौधरी, नेकपाका रामचन्द्र मण्डल र किशोरी साह, संघीय फोरमका कौशल यादव र रामआशिष यादवले प्रदेश सभाबाट रकम बुझ्ने गरेका हुन् । उनीहरू सबैको जनकपुरमा घर छ । जनकपुरआसपासका जिल्लाका केही सांसद घरबाटै संसद् ओहोरदोहोर गर्छन् । उनीहरूले पनि घरभाडा रकम बुझ्ने गरेका छन् । प्रदेश सभामा एक सय ७ सदस्य छन् । 

प्रदेश ३ : घरभाडा आधा बुझ्छन् सांसद
प्रदेश राजधानी रहेको मकवानपुरका सांसदहरू इन्द्रबहादुर बानियाँ, मुनु सिग्देल र जुनेली श्रेष्ठले प्रदेश सभाबाट घरभाडाबापत पाउने १५ हजारमध्ये सात हजार पाँच सय रुपैयाँ बुझ्ने गरेका छन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ मा राजधानी भएकै स्थानमा घर भएका सांसदलाई घरभाडाबापतको आधा रकम उपलब्ध गराउने व्यवस्था छ ।

त्यस्तै कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओम ग्लान र सन्तबहादुर प्रजा भाडाका घरमा नबसे पनि  घरभाडा बुझिरहेका छन् । मोक्तान हेटौँडा–१३ पदमपोखरीस्थित माइतीमा बस्छिन् । 

पुलामी माओवादी पार्टी कार्यालय हेटौँडामा, ग्लान र प्रजा मनहरी गाउँपालिकाको लोथरमा बस्दै आएका छन् । मोक्तान, पुलामी, ग्लान र प्रजाले घरभाडाबापत तोकिएको पूरा रकम १५ हजार लिइरहेका छन् ।

गण्डकी : संसद्लाई ढाँटेर घरभाडा बुझ्दै
स्याङ्जा क्षेत्र नम्बर १ (ख) का सांसद मीनप्रसाद गुरुङको पोखराको केन्द्र मानिने नागढुंगामा घर छ । तर, उनले घरभाडाबापतको रकम बुझ्दै आएका छन् । संसद् सचिवालयमा भने उनले पोखरामा आफ्नो घर नभएको विवरण बुझाएका छन् । तर, गुरुङका एक आफन्तले भने उनको अढाइतले घर रहेको दाबी गरे । पोखरामै घर भएका १३ सांसदले भने घरभाडा सुविधा नलिएको संसद् सचिवालयले जनाएको छ । 

 प्रदेश ५ : बुटवलमै घर भएर पनि घरभाडा
प्रदेश सभामा रुपन्देहीमा घर भएका मात्रै १७ सांसद छन्, सदरमुकाम बुटवलबाट टाढा घर भएका चार सांसद डेरामा बस्छन् । १३ सांसदले भने बुटवलमै घर भएर पनि प्रदेश सभाबाट घरभाडाबापत मासिक १५ हजार बुझ्दै आएका छन् ।

नेकपाका कमलादेवी विक, कृष्णप्रसाद न्यौपाने, तुलसीप्रसाद चौधरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र सुनिताकुमारी ठटेर, कांग्रेसका अष्टभुजा पाठक, पुष्पा थरुनी, फखरुद्दिन खान, बलदेव शर्मा पोखरेल, रमा अर्याल र वसी उद्दिन खाँ तथा संघीय समाजवादी फोरमका सन्तोषकुमार पाण्डे आफ्नै घरमा बस्छन्, तर राज्यबाट घरभाडा रकम बुझ्छन् ।

कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पासम्मका अधिकांश सांसद घरबाटै आउजाउ गर्छन् । अन्य जिल्लाका केही सांसद आफन्तकोमा बस्छन् । तर, सबै सांसदले मासिक १५ हजार घरभाडा बुझ्दै आएका छन् । प्रदेश ५ मा ८७ सांसद छन् । मुख्यमन्त्री र मन्त्रीबाहेकका ८१ सांसदले संसद्बाट सुविधा लिँँदै आएका छन् । नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदहरूका धेरै सुविधा कटौती भएकाले आवास सुविधा लिनुलाई स्वाभाविक ठान्नुपर्ने बताए । 

कर्णाली : बसाइ सरकारी क्वार्टरमा, घरभाडा खल्तीमा
रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा र सुर्खेत निर्वाचन क्षेत्र (ख)का सांसद विन्दमान विष्टले कानुनविपरीत सुविधा लिइरहेका छन् । उनीहरू सुर्खेतस्थित सिँचाइ डिभिजन कार्यालयको आवासमा बस्दै आएका छन्, तर प्रदेश सभाबाट घरभाडाबापत मासिक १५ हजार रुपैयाँ पनि बुझ्दै गरेको खुलेको छ । विष्ट भदौदेखि र सांसद शर्मा असोजदेखि सरकारी आवासमा बस्दै आएका छन् ।

कर्णाली प्रदेश सभा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिकसम्बन्धी ऐन, २०७५ ले सरकारी आवास प्रयोग गर्नेलाई घरभाडा उपलब्ध नगराउने व्यवस्था गरेको छ । तर, सांसदद्वय शर्मा र विष्टले मंसिरसम्मको घरभाडा रकम बुझिसकेका छन् । सांसद शर्माले १ पुसदेखि भने घरभाडा नलिने निवेदन प्रदेश सभामा दिएका छन् ।

त्यस्तै, राजधानी वीरेन्द्रनगरमा घर भएर पनि नेकपाका सुशीलकुमार थापा, अम्मरबहादुर थापा र सीता नेपाली तथा कांग्रेसका यज्ञबहादुर बिसीले घरभाडाबापत १५ हजार रुपैयाँ बुझिरहेका छन् । ऐनमा राजधानी वीरेन्द्रनगर नगरपालिकाभित्र घर भएका सांसदलाई मर्मतसम्भारबापत आधा रकम उपलब्ध गराउने व्यवस्था छ । वीरेन्द्रनगरमै घर भएका यामलाल कँडेल, राजु नेपाली र पद्मा खड्काले भने घरभाडा सुविधा लिएका छैनन् । 

सुदूरपश्चिम : राजधानीमै दुईवटा घर, संसद्बाट घरभाडा
प्रदेश सभामा राष्ट्रिय जनता पार्टीकी सदस्य मालामती रानाका प्रदेश राजधानी धनगढीमै दुईवटा घर छन् । धनगढी– ८ स्थित दुईतले घरमा बस्दै आएकी रानाले वडा नम्बर ७ स्थित मुख्य बजारमा रहेको तीनतले घर भाडामा लगाएकी छिन् । तैपनि उनले सरकारबाट आवास शुल्कबापत मासिक १७ हजार पनि बुझ्दै आएकी छिन् ।

त्यस्तै, धनगढीमै दुईवटा घर भएका कांग्रेस सांसद डिल्लीराज पन्तले पनि घरभाडा बुझ्ने गरेका छन् । उनले एउटा घर होटेल सञ्चालनका लागि भाडामा लगाएका छन् भने मुख्य बजारमै रहेको अर्को घरमा आफू बस्छन् । 

धनगढीमा घर भएर यहीँ राजनीति गर्दै आएकाहरू मात्र होइनन्, जिल्लाका अन्य कतिपय सांसदको पनि धनगढीमा घर छ । उनीहरूले पनि घरभाडाबापत रकम बुझ्ने गरेका छन् । नेकपाका नेपालु चौधरी, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी र वीरमान चौधरी तथा कांग्रेसका टेकबहादुर रैका, दिव्यश्वरी शाह, देवराज पाठक र भरत खड्काले घरभाडा रकम बुझ्ने गरेका छन् । आलोचना भएपछि केही दिनअघि मात्रै पन्त र रैकाले भने रकम फिर्ता गर्ने घोषणा गरेका छन् ।

धनगढीबाट तेजराज भट्ट, सुर्खेतबाट खगेन्द्र भट्टराई, बुटवलबाट विष्णु घिमिरे, पोखराबाट गोविन्द सुवेदी, हेटौँडाबाट सुदीप सिवाकोटी, जनकपुरबाट हदिश खुद्दार र विराटनगरबाट गणेश लम्साल