१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रकाश धौलाकोटी
२०७६ बैशाख २० शुक्रबार ०७:१५:००
Read Time : > 1 मिनेट
समाचार

भक्तपुरमा पुरातात्विक सम्पदा पुनर्निर्माण सुस्त

विश्वसम्पदा क्षेत्रका १६ र अन्य आठ सम्पदा मात्रै पुनर्निर्माण

Read Time : > 1 मिनेट
प्रकाश धौलाकोटी
२०७६ बैशाख २० शुक्रबार ०७:१५:००

भूकम्पले क्षतिग्रस्त भएका भक्तपुरका पुरातात्विक सम्पदाको पुनर्निर्माण गति सुस्त छ । पुरातत्व विभाग र जिल्लाका नगरपालिकाहरूले सम्पदा क्षेत्रको पुनर्निर्माण गरिरहे पनि त्यसले गति लिन सकेको छैन । ०७२ को भूकम्पले जिल्लाका २६ वटा स्मारकमा पूर्णरूपमा क्षति पुगेको थियो । अन्य ५६ वटामा आंशिक र ६६ वटामा सामान्य गरी एक सय ४८ सम्पदा क्षतिग्रस्त भएका थिए ।

भूकम्प गएको चार वर्ष बितिसक्दा बल्ल २४ वटा सम्पदाको मात्रै पुनर्निर्माण सकिएको छ भने ५२ वटा सम्पदाको मात्रै संरक्षण भएकोे छ । अझै ९६ वटा सम्पदाको पुनर्निर्माण सुरु हुन सकेको छैन । विश्व सम्पदा क्षेत्रका १६ वटा सम्पदाको पुनर्निर्माण भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख मोहनसिंह लामाले बताए । पुरातात्विक सम्पदाको पुनर्निर्माण पुरानै शैलीमा गर्ने नीतिका कारण पनि सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको छ । 

सम्पदा पुनर्निर्माणमा स्रोत, साधन र निर्माण सामग्रीको अभाव, अनुभव नभएका निर्माण कम्पनीसँग सहकार्य, दक्ष कालीगढको अभावलगायत कारण ढिलाइ भइरहेको लामाले बताए । चाँगुनारायण मन्दिर क्षेत्रका पाँचवटा र भक्तपुर दरबार स्क्वायर क्षेत्रका ११ वटा सम्पदाको पुनर्निर्माण सकिएको छ । विश्व सम्पदा क्षेत्रबाहेकका आठवटा सम्पदाको पुनर्निर्माण सकिएको कार्यालयप्रमुख लामाले जानकारी दिए । 

कार्यालयले अन्य २८ वटा सम्पदाको पुनर्निर्माणको समेत सुरु भएको जनाएको छ । प्रमुख लामाका अनुसार चाँगुनारायण क्षेत्रका चारवटा, दरबार स्क्वायरका सातवटा र अन्य १७ वटाको पुनर्निर्माण भइरहेको छ । ‘चैतदेखि एकैसाथ २८ वटा सम्पदाको पुनर्निर्माण सुरु भएको छ, तीमध्ये कतिपयको यही आर्थिक वर्षमा निर्माण सकिन्छ,’ लामाले भने । पुनर्निर्माण सकिएमध्ये पुरातत्व विभागले १५ वटा र भक्तपुर नगरपालिकाले आठवटा सम्पदाको पुनर्निर्माण गरेको कार्यालयको तथ्यांक छ । 

 यी हुन् पुनर्निर्माण सकिएका सम्पदा

अहिलेसम्म भक्तपुर दरबार स्क्वायर क्षेत्रका सिद्धिलक्ष्मी, गोपीनाथ, हरिहर, त्रिविक्रम, शंकर नारायण र केदारनाथ मन्दिरको पुनर्निर्माण तथा संरक्षणको कार्य सकिएको छ । खौमा प्रवेशद्वार, भीमसेन मन्दिर, नाट्येश्वरी मन्दिर, लक्ष्मीनारायण मन्दिर र क्वाछें पाटीको समेत संरक्षण कार्य सकिएको प्रमुख लामाले बताए । यस्तै, चाँगुनारायण क्षेत्रका चाँगुनारायण मन्दिर, सरस्वती मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर मन्दिर र अमात्य सत्तलको पुनर्निर्माण तथा संरक्षण गर्ने काम सकिएको छ । 

विश्व सम्पदा सूचीमा परेका दुई सम्पदा क्षेत्रबाहेक मध्यपुरठिमीका बालकुमारी सत्तल, दक्षिणबाराही मन्दिर, नगदेश गणेश मन्दिर, च्वादेस्थित पाटी संरक्षण गरिएको छ । सूर्यविनायक मन्दिर र भक्तपुर नगरपालिकाका कुमारी घर, महालक्ष्मी द्यो छें र बराहीपीठ सत्तल संरक्षण र पुनर्निर्माण सकिएको छ ।