सगरमाथा चढ्ने लक्ष्य
रमेश खत्री (२१) जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा भेटिए । उनी सहपाठीसँग ह्विल चेयरमै शारीरिक अभ्यास गर्दै थिए । अभ्यासबाट केही बेर विश्राम लिएर हामीलाई डो-याउँदै सुत्ने कोठातर्फ लगे ।
साँघुरो कोठामा दुईवटा खाट देखिए । एउटा उनी सुत्ने, अर्को पाहुनाका लागि । रङ खुइलिएका भित्ताभरि टँगिएका थिए, चेकका डमी र थरीथरीका मेडल । ‘२४ वटा मेडल छन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्राप्त भएको । चेकका डमी पनि त्यही वेला पाएको हुँ,’ रमेशले जानकारी दिए ।
भूकम्पबाट भत्किएको भग्नावशेषले थिचेको १२ घन्टापछि उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । दुईवटा खुट्टा गुम्यो । त्यतिवेला १७ वर्षका थिए । उनलाई जीवन सकिएझैँ लाग्थ्यो । तर, अहिले उनको सोचाइ फेरिएको छ ।
उनले यही वर्ष एसइई दिए । केही समयअघि इन्डोनेसियामा भएको नेसनल पाराओलम्पिक स्विमिङ प्रतियोगितामा भाग लिए । यसले उनलाई थप ऊर्जा दियो । हौसिएका उनी केही महिनाअघि सगरमाथा बेस क्याम्प पनि पुगे । लक्ष्य त उनको सगरमाथा आरोहण नै हो । तर, आर्थिक अभावका कारण अलमलमा छन् । ‘अब सगरमाथा चढ्ने लक्ष्य छ । सकिन्छ÷सकिन्न त्यो आफ्नो ठाउँमा छ । तर, कोसिस जारी रहनेछ । पैसा धेरै चाहिने रहेछ । कोसिस गरे त त्यो पनि संकलन होला भन्ने लाग्छ । कोही न कोही दाता त भेटिएला नि ।’ दृढतापूर्वक उनले आफ्नो मनोकांक्षा सुनाए ।
स्कुल जान थाले सोनिस
चारवर्षीय सोनिस अवाल चञ्चले स्वभावका छन् । भक्तपुरको महाकालीस्थानआसपासमा खेलिरहेका भेटिन्छन् । शिशु अवस्थामा विपत्ति खेपेका उनको स्मृतिमा भूकम्प छैन । तर, दिदी सोनियालाई भने हरेक वर्ष १२ वैशाख आउँदा डर लाग्छ । ‘पहिले त निकै डर लाग्थ्यो, झस्किन्थेँ । तर, बानी परिरहेको छु,’ सोनिया भन्छिन् ।
चार वर्षअघि भूकम्प आउँदा सोनिस चार महिनाका थिए । दिदी सोनिया १० वर्षकी थिइन् । सोनिसकी आमा रस्मिला पसल गएकी थिइन् । सोनिस सुतिरहेका थिए भने सोनिया टिभी हेर्दै थिइन् । ‘एक्कासि बत्ती गयो । घर हल्लिएजस्तो लाग्यो । झ्यालबाट बाहिर हेरेँ, मानिसहरू भागिरहेका थिए,’ चार वर्षअघिको कलिलो दिमागको स्मृति खोतल्दै सोनियाले भनिन्, ‘म पनि भाग्न भनेर भ-याङ ओर्लंदै थिएँ । भाइको याद आयो । फर्किएर भाइलाई बोकेर भाग्न खोजेँ । तर, एक्कासि भाइ मेरो हातबाट उछिटियो । त्यसपछि के भयो थाहै पाइनँ ।’
भूकम्पले घर भत्काउँदा सोनिस र सोनिया पुरिए । उद्धार टोलीले सोनियालाई तीन घन्टापछि उद्धार ग-यो । तर, सोनिस भेटिएनन् । उद्धारकर्मीले आस मारेनन् । सोनिसकी आमा रस्मिला र श्यामले भने आस मारिसकेका थिए । साँझ प-यो, रात प-यो, तर सोनिसको उद्धार हुन सकेन । नेपाली सेनाले रातभर भग्नावशेष हटायो । २२ घन्टापछि धुलाम्य अवस्थामा भेटिए, सोनिस । उनै सोनिस अहिले स्कुल जान थालिसकेका छन् । एभरेस्ट इंग्लिस स्कुलमा एलकेजीमा पढ्छन् । उनको पढाइमा नेपाली सेनाले सहयोग गरेको छ । ‘सेनाले वार्षिक शुल्क ५० हजार तिरिदिएको छ,’ रस्मिला भन्छिन्, ‘६ कक्षापछि आफ्नै स्कुलमा पढाइदिने भन्नुभएको छ ।’
सोनियाको पढाइखर्च भने अमेरिका बस्दै आएका एक नेपालीले पठाइदिने गरेका छन् । उनी हिमालयन इंग्लिस स्कुलमा कक्षा ८ मा पढिरहेकी छिन् । कक्षा ७ बाट दोस्रो भएर उतीर्ण भइन् । आमा रस्मिलाको भने सरकारसँग गुनासो छ । भूकम्पको चार वर्ष बितिसक्दासमेत सरकारले एक रुपैयाँ सहयोग नगरेको उनले बताइन् । उनको परिवार महाकालीस्थानमा मासिक तीन हजार भाडा तिरेर बस्दै आएको छ ।
तस्बिर : अमुल थापा/सञ्जित परियार