भूकम्पपछिको जीवन : ४८ महिनादेखि अर्धचेत

२०७६ बैशाख १८ बुधबार ०९:१२:००

कृष्णहरि पुडासैनी लौरोको सहारामा माथिल्लो रसुवाको स्याप्रुबेँसी पहाड उक्लिरहेका थिए । उनी स्विस माउन्टेन वे ट्रेकिङ प्रालिबाट इजरायली पर्यटकलाई गाइड गर्दै त्यता पुगेका थिए । लाङटाङको पहिरो भन्ने ठाउँमा पुग्दा अचानक जमिन हल्लियो । पहाड पड्किएझैँ आवाज आयो । ढुंगा–माटो बग्न थाल्यो । भागाभाग भयो । उनी उम्कन सकेनन् । माथिबाट झरेको पहिरोले लछारेर ढुंगाको कापमा पुर्‍यायो । 

उनीसँग गएका १७ इजरायलीको मृत्यु भयो । उनलाई भने चार दिनपछि मनाङ एयरको हेलिकोप्टरले उद्धार गरी त्रिशूली ल्याइपुर्‍यायो । छाउनी क्याम्पमा घाइतेहरूको उपचार चलिरहेको थियो । उपचारपछि जसोतसो तंग्रिए । अनि आफ्नो गाउँ नुवाकोटको कुमरी गाविसस्थित डाँडागाउँ फर्किए । मृत्युको मुखबाट बाँचेर त फर्किए, तर शरीरभित्रको चोटले उनलाई गलाउँदै लग्यो । क्रमशः थलिँदै गए । उनको कम्मर, ढाड र गोडाको दुखाइ बढ्न थाल्यो । छोराको बिमार बढेपछि ६८ वर्षीय बुबा लीलानाथ पुडासैनीले उपचारका लागि काठमाडौं ल्याए । ओम अस्पताल भर्ना गराए । तीन दिनपछि ओमले टिटानस भएको रिपोर्ट दियो ।

उनीसँग खर्च सकिँदै थियो । निःशुल्क उपचारको आशा देखाएर ओमले टेकु अस्पताल रिफर गरिदियो । तर, टेकु अस्पतालमा तत्काल आइसियू नभएकाले राख्न मानेन । अनि कृष्णहरिलाई बालाजुस्थित जनमैत्री अस्पताल लगे । जनमैत्रीका डाक्टरले पाँच दिनका लागि भेन्टिलेटरमा राख्ने सल्लाह दिए । सन्चो होला भन्ने आशामा सल्लाह स्विकारे । तर, अस्पतालले आइसियू पाँच होइन, ५० दिन राखिदियो । ‘पाँच दिन भनेर ५० दिन भेन्टिलेटरमा राखिदिए, बोल्दै गरेको छोरो आइसियूबाट निकालेको दिनदेखि अहिलेसम्म बोलेको छैन,’ सुतिरहेको छोराको गोडा सुमसुम्याउँदै बुबा लीलानाथले भने । 

छोरोको होस फर्किने आसमा लीलानाथले सात महिना ११ दिन जनमैत्री अस्पताल कुरे । तर, अवस्था झन् गम्भीर हुँदै गयो । हातगोडाका औँला झर्दै गए । दुवै कुर्कुचा र गोलीगाँठा पाके । आङभरि खटिरा थपिँदै गयो । अनेक घाउ आएपछि जनमैत्री अस्पतालले फेरि ट्रमा सेन्टर पठाइदियो । ‘भूकम्पपीडित भनेर चार दिनसम्म ट्रमा सेन्टरमा अलपत्र पारिदिए,’ गहभरि आँसु पार्दै बुबा लीलानाथ भन्छन्, ‘भर्ना गर्न मैले ठूलो मान्छेसँग हात जोड्नुपर्‍यो ।’ पाँचौँ दिनमा कृष्णहरि ट्रमा सेन्टर भर्ना गरिए । त्यहाँ पनि नौ महिना १२ दिन छोरो कुरेर बसे । तर, कृष्णहरि तंग्रिएनन् । उनको अवस्था थप नाजुक भयो । 

छोरो बचाउन लीलानाथ १६ महिनासम्म अनेक अस्पताल भौँतारिए । २५ लाख ऋण बोके । तैपनि, कृष्णहरि उठेनन् । २९ वर्ष पुगेका उनी ४८ महिनादेखि अर्धचेत छन् । बाबु लीलानाथले हिम्मत हारेका छैनन् । अझै पनि छोरा उठ्ने आशामा छन् । 

बुबा लीलानाथको विश्वास डगमगाएन । सरकारले भूकम्पपीडितलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने सुने । छोरोले पनि उपचार खर्च पाउला भनेर नुवाकोटस्थित गाउँ पुगे । गाविस, जिल्ला प्रशासन, स्विस माउन्टेन वे ट्रेकिङ प्रालि र मनाङ एयरले समेत कृष्णहरिलाई भूकम्पमा घाइते भएको प्रमाणित गर्‍यो । उपचारका लागि सिफारिस पनि गर्‍यो । 

ट्रमा सेन्टर आउनुअघि सारा सिफारिस बोकेर लीलानाथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे । मन्त्रालयले आइसियू भएका नेपालका टप सातवटा अस्पताललाई चिठी लेखिदियो । तर, कृष्णहरिलाई जनमैत्री अस्पतालले कुनै पनि अस्पतालमा रिफर गरिदिएन । ‘मैले स्वाथ्य मन्त्रालयको चिठी दिएँ, तर जैनमैत्रीका डाक्टरहरूले वास्तै गरिदिएनन्,’ उनी भन्छन् ।

छोरो बचाउन लीलानाथ १६ महिनासम्म अनेक अस्पताल भौँतारिए । २५ लाख ऋण बोके । तैपनि, कृष्णहरि उठेनन् । २९ वर्ष पुगेका उनी ४८ महिनादेखि अर्धचेत छन् । बाबु लीलानाथले हिम्मत हारेका छैनन् । अझै पनि छोरा उठ्ने आशामा छन् । 

कृष्णहरि ३४ महिनादेखि नेपाल हेल्थ केयर इक्विपमेन्ट डेभलपमेन्ट फाउन्डेसन भवनको १० नम्बर कोठामा छन् । उनलाई पाइपबाट खाना खुवाउनुपर्छ । ओछ्यान फेरिदिने, डाइपर फेरिदिने, लगाएका कपडा धोइदिने सबै बाबु लीलानाथ नै गर्छन् । उनी भन्छन्, ‘कम्तीमा बोल्न सक्ने भइदिए पनि हुन्थ्यो ।’ नेपाल हेल्थ केयर इक्विपमेन्ट डेभलपमेन्ट फाउन्डेसनमा उनलाई केही राहत मिलेको छ । ‘हाम्रो सहयोगले कम्तीमा कृष्णहरिको बुबालाई ढाडस मिलेको छ,’ संस्थाका सम्राटसिंह बस्नेत भन्छन् । दैनिक थेरापी, डाइपर, औषधि र खानाको निःशुल्क व्यवस्था यसै संस्थाले गरिदिएको उनले बताए ।

फाउन्डेसनमा राख्नुअगाडिको उपचार खर्चको बिल लीलानाथले स्वास्थ्य मन्त्रालयमा पेस गरेका छन् । तर, अहिलेसम्म फस्र्योट भएको छैन । उनले नौ महिनादेखि फाइल अगाडि नबढेको बताए । लीलानाथ भन्छन्, ‘त्यहाँ पनि ठूलै नेताको पावर लाउनुपर्ने हो कि ।’  छोरो काठमाडौं ल्याएपछि बीचमा एकपटक गाउँ पुगेका लीलानाथ त्यसपछि गएका छैनन् । उता, गाउँमा पनि भूकम्पले घर ढलेपछि गोठको बसाइ थियो । अहिलेसम्म पनि गोठमै छन् । छोरोको होस फर्काउने आसमा घर बनाउन उनी गाउँ फर्किन पाएका छैनन् । सरकारले घर बनाउन ५० हजार दिएको हो । त्यो पनि छोरोको उपचारमै खर्च भयो ।
 

सम्बन्धित समाचार