१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रकाश धौलाकोटी
२०७६ बैशाख १६ सोमबार ०८:१७:००
Read Time : > 1 मिनेट
समाचार

नमुना विद्यालयको कमजोर पूर्वाधार

Read Time : > 1 मिनेट
प्रकाश धौलाकोटी
२०७६ बैशाख १६ सोमबार ०८:१७:००

सूर्यविनायक नगरपालिका–९ काँक्रेबारीस्थित सरस्वती माध्यमिक विद्यालयको क्षतिग्रस्त भवन नबन्दा कक्षा सञ्चालनमा समस्या भएको छ । भवन मात्रै होइन, यो विद्यालयमा प्रशस्त खेलमैदान,  व्यवस्थित शौचालय र पिउनेपानीको राम्रो प्रबन्ध छैन । विषयगत शिक्षक पनि छैनन् । तर, विद्यार्थी संख्या भने बोर्डिङसँग प्रतिस्पर्धा गर्ने खालको छ ।

गुणस्तरीय पठनपाठन तथा अभिभावकको लगावका हिसाबले यसले नमुना विद्यालयको परिचय बनाएको छ । उपत्यकाका धेरैजसो सरकारी विद्यालयमा विद्यार्थीको संख्या नगण्य छ । तर, उपत्यकाभित्रैको ग्रामीण बस्तीमा रहेको यो विद्यालयमा सूर्यविनायक नगरपालिका र काभ्रेको बनेपा नगरपालिका–१४ का काँक्रेबारी, आशापुरी र खाल्चोकदेखि विद्यार्थी आउँछन् । हाल यस विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

तामाङ र अंग्रेजी भाषामा पढाइ
तामाङ बाहुल्य रहेको यो गाउँमा करिब दुई सय ५० घरधुरी  छन् । ‘यसमध्ये ९० प्रतिशत तामाङ छन्, विद्यार्थी पनि तामाङ नै धेरै छन्,’ प्रधानाध्यापक सुकुमान तामाङ भन्छन्, ‘अहिलेसम्म एक सय ९० जना विद्यार्थी भर्ना भइसकेका छन्, आउने क्रम अझै जारी छ ।’ केही वर्षअघिसम्म विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन्थेन । जसकारण विद्यार्थीको संख्या घटिरहेको थियो । तर, अहिले विद्यालयले कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पठनपाठन थालेको छ । ती कक्षामा विद्यार्थीको चाप बढेकोे प्रअ तामाङले बताए । कक्षा पाँचसम्म तामाङ भाषा र लिपिको पनि पढाइ हुन्छ । कम्प्युटर ल्याब, पुस्तकालय र विज्ञान प्रयोगशाला पनि छ । तर, भूकम्पपछि त्यसलाई व्यवस्थित गर्न नसकेको प्रअ तामाङले बताए ।  

विषयगत शिक्षक अभाव
कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा पर्याप्त दरबन्दी पनि छैन । भएका दरबन्दीमा पनि विषयगत शिक्षक नहुँदा कक्षा सञ्चालनमा समस्या छ ।
 प्रावि तहमा नौ, निमाविमा राहत दुई, माविमा एक र बालविकासतर्फ दुई शिक्षक कार्यरत छन् । विद्यालयले निजी स्रोतबाट ६ शिक्षक नियुक्त गरेको छ ।

 नयाँ भवन हस्तान्तरण, तर अपुग
जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) भक्तपुरले विद्यालयलाई आठ कोठे नयाँ भवन हस्तान्तरण गरेको छ । तर, यो भवन पनि अपुग भएको छ । डिजाइन इस्टिमेटबमोजिम विद्यालयले एक करोड १९ लाखको लागतमा भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष उपेन्द्र केसीले बताए । उनले भने, ‘आयोजनाले भवन निर्माणका लागि एक करोड नौ लाख सात हजार दुई सय ७५ रुपैयाँ दिएको थियो, बाँकी विद्यालयले खर्च गरेर भवन बनाएको हो ।’ नयाँ भवनको सांसद महेश बस्नेतले उद्घाटन गरेका थिए ।