मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ध्रुव बीसी
२०७५ पौष ११ बुधबार ११:२०:००
Read Time : > 1 मिनेट
समाचार

गाउँपालिकामा अनियमितताको आरोप,कांग्रेसद्वारा प्रशासन घेराउ

Read Time : > 1 मिनेट
ध्रुव बीसी
२०७५ पौष ११ बुधबार ११:२०:००

नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय अछाम घेराउ गरेका छन् ।  प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ता रिहाइको मागसहित चौरपाटी गाउँपालिकाले अवैधानिक तरिकाले गरेको कर्मचारी भर्ना रद्द गर्नुपर्ने माग राख्दै  प्रशासन कार्यालय घेराउ गरिएको हो ।   केही दिनअघि अहेवमा नाम निस्किएका व्यक्तिको उमेर नै नपुगेको दाबी गर्दै कांग्रेसका कार्यकर्ताले चौरपाटी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरूले गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई गालीगलौज गरेको भन्दै उजुरी परेपछि प्रहरीले कांग्रेसनिकट पाँचजनालाई पक्राउ गरेको थियो । 

तर, कांग्रेस कार्यकर्ताले भने प्रक्रिया मिचेर अयोग्य व्यक्तिलाई नियुक्त गरेको र गलत कार्यको विरोध गर्दा आफ्ना कार्यकर्ता पक्राउ गरेको आरोप लगाउँदै प्रशासन कार्यालयको कम्पाउन्डभित्रै  छिरेर नाराबाजी गरेका हुन् । उनीहरूले प्रशानसको मूल ढोकामै बसेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र डिएसपी जनकबहादुर शाहीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रशासनको संयमता
आन्दोलनकारीले गालीगलौजसहित नारा लगाए पनि प्रशासनले प्रतिकार भने गरेन ।आन्दोलनकारीसँग प्रतिकार गर्दा तनावको स्थिति सिर्जना हुने देखिएपछि गेटभित्रै पसेर नाराबाजी गर्न दिइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । ‘हामीले सजगता अपनाएका हौँ,’ उनले भने, ‘प्रतिकार गर्न नसकिने होइन । कुनै अप्रिय घटना नहोस् भनेर चुप लागेर बस्यौँ ।’ नाराजुलुसपछिको सभामा बोल्दै चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले आफ्नै गाउँपालिकाविरुद्ध चर्को रूपमा आलोचना गरिन् । कांग्रेसले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।

स्थानीय तहहरूमा कामकाज ठप्प पार्ने, तालाबन्दी गर्ने, यातायात चल्न नदिनेलगायतका आन्दोलनका कार्यक्रम तय गरिएको पार्टीका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले बताए । आन्दोलनमा पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहसहितको संलग्नता थियो । 
कम्युनिस्टद्वारा आपत्ति
कांग्रेसको आन्दोलनप्रति नेकपाबाट निर्वाचित जनप्रतिनिधिले आपत्ति जनाएका छन् । उनीहरूलेचित्त नबुझे कानुनी बाटो हुँदाहुँदै अराजक ढंगले आन्दोलन गरिएको भन्दै आपत्ति जनाएका हुन् । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कँुवर, मंगलसेन नगरपालिकाका उप–प्रमुख सरिता उपाध्याय र चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउँदलगायतले हस्ताक्षर गरेको विज्ञप्तिमा अप्रिय स्थिति सिर्जना गर्नेतर्फ नलागेर  लोकतान्त्रिक व्यवहार गर्न सचेत पारिएको छ ।