Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ बैशाख १३ शुक्रबार ११:१६:००
Read Time : > 1 मिनेट
प्रदेश

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

Read Time : > 1 मिनेट
२०७६ बैशाख १३ शुक्रबार ११:१६:००

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बिहीबार अन्त्य भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख अर्जुनबहादुर थापाले संसद् बैठकमा पढेर सुनाएका थिए । सरकारले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष यसअघि सिफारिस गरेको थियो । ४ माघबाट सुरु भएको अधिवेशनमा प्रदेशसभा नियमावली संशोधनसहित सातवटा विधेयक पारित भएका छन् । 

एउटा विधेयक छलफलका लागि संसदीय समितिमा छ भने एक विधयेक सचिवालयमा दर्ता भएको सभामुख थापाले जानकारी दिए । अधिवेशन अवधिभर २६ दिनमा २८ वटा बैठक २४ घण्टा ५० मिनेट सञ्चालन भएको उनले बताए । प्रदेश सभा गठन भएपछिको यो तेस्रो अधिवेशन हो । 

पारित विधेयकहरू 
सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश वातावरण संरक्षणसम्बन्धी विधेयक, सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक तथा सुदूरपश्चिम प्रदेशको सुशासन प्रत्याभूतिसम्बन्धी विधेयक अधिवेशनबाट पारित भएका छन् ।  यस्तै, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधयेक, सचिव तथा सचिवालय व्यवस्थापनसम्बन्धी विधेयक र प्रदेश सभा पहिलो संशोधन नियमावली पारित भएका छन् । सरकारका तर्फबाट संसद्मा पेस भएको स्वरोजगार कोषसम्बन्धी विधेयक संसद्को अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिमा छलफलको क्रममा छ । 

प्रदेश औद्योगिक व्यवसायसम्बन्धी विधेयक सचिवालयमा दर्ता भएको छ । विपद् व्यवस्थापनसम्बन्धी विधेयक बिहीबारकै बैठकबाट पारित भएको हो । प्रतिपक्षी दलको समेत सहमतिमा प्रदेश सभा नियमावलीको नियम ११० लाई निलम्बन गरेर ‘फास्ट ट्रयाक’बाट उक्त विधेयक पारित गरिएको हो । सरकारले पर्याप्त बिजनेस नदिँदा विधेयक र कानुन निर्माण गर्ने अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशनले पर्याप्त विधेकयहरू पारित गर्न नसकेको प्रतिपक्षी दलका सांसदहरूले बताएका छन् । अधिवेशनको अन्तिम बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका तर्फबाट एक–एकजनाले धारणा राखेका थिए ।

कांग्रेसका तर्फबाट बोलेका सांसद कर्णबहादुर मल्लले कानुन निर्माण र बजेट खर्चमा सरकार असफल रहेको बताए । गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि परिणाम दिने गरी काम गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।  

सत्तारूढ नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले कर्मचारी, विधि, नियमको अभाव तथा सिकाइको चरणमा भएकाले कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्ने बताए । प्रदेश सभा एकजुट भए मात्र प्रदेश सभा र सरकारको साख जोगाएर जान सकिने उनको भनाइ थियो । तामाङले भने, ‘सुरुवातमा कमीकमजोरी हुन सक्छन्, आगामी दिनमा सुधार गरेर अघि बढ्नुपर्छ ।’