मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्याम खतिवडा
२०७६ बैशाख १३ शुक्रबार ११:१०:००
Read Time : > 1 मिनेट
प्रदेश

दोलखाको बुलुङमा पुनर्निर्माण सकियो

Read Time : > 1 मिनेट
श्याम खतिवडा
२०७६ बैशाख १३ शुक्रबार ११:१०:००

चार वर्षअघिको भूकम्पबाट ध्वस्त दोलखाका विभिन्न बस्तीमध्ये बिगु गाउँपालिका–३ ले पुनर्निर्माण सम्पन्न गरेको छ । भूकम्प गएको चौथो वर्ष पूरा भएकै दिन बुलुङका सात सय १२ निजी घर पुनर्निर्माण सम्पन्न भएको घोषणा गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बिहीबार स्थानीयलाई बस्ती हस्तान्तरण गरे । पुनर्निर्माण प्राधिकरणको समन्वयमा कारितास नेपाल नामक गैरसरकारी संस्थाले निर्माण सम्पन्न गरेको  हो । 

वनमन्त्री बस्नेतले ओराङ गाउँ सबैभन्दा धेरै प्रभावित भए पनि समयमा पुनर्निर्माण सम्पन्न गरेर नमुना काम गरेको बताए । पुनर्निर्माण प्राधिकरणको समन्वयमा कारितासले राज्यले दिने अनुदानबाहेक ५० हजार रुपैयाँ निजी आवास निर्माण गर्न ढुवानी थप गरेको र निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराएपछि स्थानीयलाई आवास निर्माणमा सहज भएको स्थानीय सुशीला आचार्यले जानकारी दिइन् । 

कारितास नेपाल दोलखाका जिल्ला संयोजक दलबहादुर शाहीले स्थानीयले थातथलो छोड्न अस्वीकार गरेपछि बुलुङ र ओराङ गाउँलाई नमुना बस्ती बनाउने अभियानअनुरूप पुनर्निर्माण गरिएको बताए । पुनर्निर्माण प्राधिकरणको भन्दा धेरै अनुदान र भरपर्दो सहयोग पाएपछि स्थानीय खुसीसाथ पुनर्निर्माण सम्पन्न गर्ने अभियानमा सहभागी भएको वडाध्यक्ष श्रीराम खड्काले बताए ।

५० हजार थप अनुदान 
बुलुङका लाभग्राहीले सरकारी अनुदान लिएका छैनन् । कारितासले यी गाउँका लाभग्राहीलाई प्राधिकरणको भन्दा ५० हजार थप अनुदान वितरण गरेको छ । प्राधिकरणले पीडितहरूलाई दोस्रो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ मात्र वितरण गरेको थियो । कारितासले दोस्रो किस्ता अनुदान वितरण गर्दा सामग्री ढुवानीसमेतको रकम थप गरी दुई लाख रुपैयाँ वितरण गरेको स्थानीयको भनाइ छ । 

बैंकिङ कारोबार सिंगटीमा 
कारितासले बुलुङका लाभग्राहीलाई लक्षित गरी बैंकिङ कारोबार गर्न जिल्लाको उत्तरमा पर्ने मुख्य व्यापारिक केन्द्र सिंगटी बजारमा बैंकिङ कारोबारको व्यवस्था मिलाएको थियो । अनुदानबापतको रकम झिक्न सदरमुकाम आउनु नपरेका कारण पनि समयमै काम सम्पन्न गर्न सहज भएको स्थानीय राजेन्द्र ठकुरीले बताए । सिंगटीमा लक्ष्मी बैंकको शाखासमेत कारितासकै समन्वयमा खोलिएको थियो । 
२९ करोड २५ लाखमा सकियो पुनर्निर्माण 
कारितासले बुलुङको पुनर्निर्माण सम्पन्न गर्न २९ करोड २५ लाख खर्च भएको जिल्ला संयोजक शाहीले बताए । सात सय १७ लाभग्राहीमध्ये पाँचजना आवास निर्माण गर्न सम्पर्कमा नआएको उनको भनाइ छ । निजी आवास निर्माण सकिएपछि अब विद्यालय, स्वास्थ्य चौकी बनाउने तयारी रहेको 
शाहीले बताए ।

प्राविधिकद्वारा दैनिक अनुगमन र निरन्तर खबरदारी
कारितासले बुलुङ र ओराङमा आठजना प्राविधिक नियुक्त गरेको थियो । त्यसबाहेक चारजना सामाजिक परिचालकले दैनिक अनुगमन गर्ने र निरन्तर छिटो घर निर्माण गर्न भन्दै घचघच्याउने गरेको स्थानीय बताउँछन् । प्राधिकरणले दुई गाउँमा खटाएका सबै प्राविधिकलाई फिर्ता बोलाएर एकजना इन्जिनियरलाई मात्र राखेको थियो । निरन्तर खबरदारी, भरपर्दो प्राविधिक सहयोग, दैनिक अनुगमन र सरकारीभन्दा ५० हजार बढी अनुदान जस्ता कारणले पुनर्निर्माण छिटो सम्पन्न भएको स्थानीयले बताए । संयोजक शाहीले निर्माण सामग्री ढुवानी गर्न सरकारले तोकेको रकम अपुग भएकाले ५० हजार थप गरेको बताए ।