मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
किशोर नेपाल
२०७६ बैशाख १३ शुक्रबार ०८:२०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

राजनीतिमा बालयोगी

आदित्यलाई बालयोगी बनाएर नेताहरू आफ्नो कमजोरी लुकाउन चाहन्छन्, तर सत्य कसै गरे लुक्दैन

Read Time : > 4 मिनेट
किशोर नेपाल
२०७६ बैशाख १३ शुक्रबार ०८:२०:००

केही वर्षअघि एक भारतीय विद्वान् मित्रसँग नेपालको आर्थिक र राजनीतिक दुरवस्थाको चर्चा गर्दा उनले भनेका थिए, ‘नेपाल ऋषि–मुनी र तपस्वीहरूद्वारा संरक्षित देश हो । हिमालयका गुफाहरूमा अहिले पनि सयौँ–हजारौँ तपस्वी तपस्यामा लीन छन् । यो पवित्र भूमि कहिल्यै संकटमा पर्ने त कुरै आउँदैन । सबै दैवी शक्ति नेपालको कल्याणमा खटिएका छन् । यो तिमीले र मैले चिन्ता गर्ने विषय नै होइन ।

हामीले चिन्ता गरेर केही हुने पनि होइन ।’ उनको कुरा सुनेर मलाई उदेक लागेको थियो त्यसवेला । यति ठूला विद्वान्को कुरा यस्तो छ भने अरू सामान्य मानिसले के मात्र नभन्लान् ? म गम्भीर चिन्तामा परेँ । हो, हिन्दुस्तान अथवा भारत विभिन्न रहस्यको खानी हो । भारतमा सच्चरित्र स्वामीहरूको अभाव छैन, कुरौटे जोगीहरूको पनि कमी छैन । तैपनि, उनीहरू आफूलाई अपूरित नै सम्झिन्छन् । किनभने, हिमालय उनीहरूबाट टाढा छ । ऋषि–मुनी र सिद्धबाबाहरूको सम्झना हुनेबित्तिकै हिमालयको सम्झना भइहाल्छ ।

नेपालजस्तो सानो देशमा यतिविधि समस्याको थाक लाग्ला भन्ने मेरो कल्पनामा कहिल्यै आएन । मलाई यसको आभास र अन्दाज थिएन । बालापन रेडियोबाट प्रसारित हुने छहरा, पहरा र लहराको राष्ट्रिय गीत सुन्दैमा सकियो । जवानी साइँली र माइँली पोइल गएको गीतसँगै सकियो । देशमा उतिवेला देखिएका भन्दा पनि ठूला संकट आउन बाँकी नै रहेछन् । भाग्यवादको सिरानी हालेर सुत्ने बानी परेका हाम्रा नेताले विकासका अनन्त सम्भावनाको अनुमानसम्म पनि गर्न सकेका रहेनछन् । तैपनि, अहिले उनैको बोली चर्को छ । केही वर्षपहिले देखापरेका संकटभन्दा कैयौँ गुना ठूला संकट अहिले देखा परेका छन् । धेरै ठूला र जटिल संकट सरकारभित्रै छ ।

शासन–प्रशासनमा छ । विधायिकामा छ । न्यायपालिकामा छ । सेना–पुलिसमा छ । स्वच्छ हिसाबले जनताको अगाडि उभिएर आफ्नो साख प्रमाणित गर्न सक्ने एकजना मानिस देखिएको छैन, शासन वृत्तमा । राजा वीरेन्द्रको सम्पत्तिको व्यवस्थापन गर्ने नेपाल ट्रस्टदेखि पर्यटन विकास गर्न होटेल चलाउने सरकारी कम्पनी तारा गाउँ हुँदै बालुवाटारसम्मका जग्गा विवादमा अगाडि छन् । पछाडि कति होलान् ? अनुमानको विषय हो । देशभरि सञ्चालनमा ल्याइने भनिएका सरकारी विकास योजना अलपत्र पसारिएका छन् । तैपनि, देशका नेतालाई यसको खासै चिन्ता छैन । अहिलेका घटनाक्रम हेर्दा लाग्न थालेको छ– देश साँच्चै ऋषि–मुनी र तपस्वीद्वारा संरक्षित छ । पशुपतिनाथले हामी सबैको कल्याण गरेका छन् । कम्तीमा पनि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कार्यतालिकाले यही तथ्य बताउँछ ।

नयाँ वर्ष ०७६ को पहिलो दिन । सरकारी स्वामित्वको अंग्रेजी दैनिकले प्रधानमन्त्री केपी ओलीको समाचार प्रकाशित ग-यो, स्वाभाविक थियो, पहिलो पृष्ठको पहिलो समाचारका रूपमा । समाचार साविकको जस्तो सामान्य थिएन । प्रम ओली शासन–सत्ता र विषय–वासनाबाट पर बालगुरु आदित्य दाहालको उपनयनका अवसर पारेर आध्यात्मिक चेतनाको वर्णनमा भावाभीभूत तथा एकाग्र थिए । उनी बालगुरु आदित्यको ‘इच्छा’ र ‘डिजाइन’मा स्थानीय कुमारीगालमा नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर वीरबहादुर रायमाझीको जमिनमा (अहिले जमिन रायमाझीको स्वामित्वमा भए–नभएको थाहा भएन) बनेको तीनवटा गजुर भएको शिव मन्दिरमा विशेष पूजा–अर्चनाका लागि गएका थिए । त्यस अवसरमा उनी बडो आधिकारिक लवजमा बोल्दै थिए— आदित्य दाहाल आजको संसारमा एक मात्र यस्ता व्यक्ति हुन्, जसले कुनै स्रोतको उपयोग नगरी ज्ञान प्राप्त गरेका छन्, नेपाली जनताले उनको स्वास्थ्य लाभको सामान्य कामना मात्रै गर्ने होइन, (त्यति मात्रै गरेर पुग्दैन) उनका लागि त्योभन्दा बढी केही गर्नुपर्छ ।


नौ वर्षका आदित्य बोल्न र हिँड्न सक्दैनन् । तैपनि, प्रम ओलीका शब्दमा ‘आदित्यले आफनो ज्ञान र विद्वताको अद्भूत शक्तिले संसारलाई अभिभूत बनाएका छन् । आदित्यले आफूमा सबै विषय समेटेका छन् । उनको यो ज्ञान वैज्ञानिकहरूको ‘ब्ल्याक होल’ सिद्धान्तभन्दा जटिल छ । कुनै स्रोतको उपयोगविना ज्ञान प्राप्त गर्नु विज्ञानका लागि चुनौती हो । आदित्यसँग यो खुबी छ । यस्ता कुरा नेपालमा मात्रै हुन्छन् । किनभने, नेपाल ईश्वरको पवित्र भूमिका रूपमा चिनिएको छ ।’ प्रम ओलीले यी कुरा बताइरहँदा मेरो मानसपटलमा मेरा ती भारतीय विद्वान् मित्रको चित्र बन्दै र बिग्रिँदै गरिरहेको थियो, जसले नेपाललाई सन्त भूमिका रूपमा व्याख्या गरेका थिए ।

प्रम ओलीको धर्मसभामा नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए । बालयोगी आदित्यले कुनैवेला यी तीनैजनाको नाम सिलोटमा लेखेर देश यिनकै हातमा सुरक्षित रहेको आशय व्यक्त गरेका थिए रे ! एक हिसाबले यो ‘समानधर्मी’हरूको जमघट थियो । यी तीनजना स्वनामधन्य नेता बालयोगी आदित्यका ‘कडा–भक्त’ मानिँदा रहेछन् । त्यसैले हो, समानधर्मीको जमघटमा संवैधानिक परिषद्, संसदीय समिति, सरकार र प्रतिपक्षका झगडा थिएनन्, जसलाई बहिष्कार गर्नु प्रतिपक्षी दलका नेताको कर्तव्य हुन्थ्यो ।

सरकारप्रमुख र देशको निर्णायक तहमा बसेका नेताहरू आदित्यको संरक्षणमा जसरी लठारिएका छन्, त्यो दृश्य आफैँमा शोभनीय छैन

आदित्यको आकर्षणमा देशका ‘महत्वपूर्ण ’ नेताहरू फस्दै गए पनि बालयोगीको सार्वजनिक जीवन अहिले सुरु भइसकेको छैन । उनको पूर्वांग नै यति गजब छ भने त्यसपछिको जीवन कस्तोे  होला ? विचारणीय छ । पुख्र्यौली घर झापा भएका शेषराज दाहाल आदित्यका पिता हुन् । उनकी माताश्री ईश्वरा दाहालले उनलाई जन्म दिएकी हुन् । सुरुमा आदित्य ठीकै थिए । तर, अढाइ वर्षको उमेरदेखि उनी हिँड्न र बोल्न नसक्ने भए । यसपछि आदित्यका पिता–माताले सामाजिक सञ्जाल ‘युट्युब’मा आफनो सुखदुःख बाँड्दै छोराको उपचारका लागि सहयोगको याचना गरेका थिए ।

पछि, आदित्यले कागजमा लेखेर ‘भविष्यवाणी’ गर्न थाले । उनले केपी ओली २०७४ मा प्रधानमन्त्री बन्ने कुरा लेखे, जुन सत्य सावित भयो । तर, निसान खड्का नेपाल आइडल हुने उनको भविष्यवाणी तुहियो । स्थानीय सगरमाथा टेलिभिजनले आफ्नो कार्यक्रम ‘तेस्रो आँखा’मा आदित्यका करामती कर्तव देखाएर उनको अलौकिक अवतारलाई प्रचारित गरेको थियो । आदित्यसँग टेलिभिजन पत्रकारले युक्रेनका राष्ट्रपतिको नाम सोध्दा उनले सही उत्तर लेखेका थिए ।

आदित्य आफैँले आफ्नो रोग ०७२ मा निको हुने लेखेका थिए । त्यो पनि मिलेन । रोग निदानका लागि आदित्यलाई भारतको दिल्लीमा रहेको गंगाराम अस्पताल र अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयको अस्पताल नपु-याइएको होइन । तर, यी दुवै अस्पतालमा उपचार भएन । आदित्यको उपचारका लागि सरकारले एक करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रम ओलीले थप एक करोड उपचार खर्च दिएपछि त्यसको चर्को आलोचना भएको थियो । उनले आलोचनालाई मत्थर पार्न सरकारले पहिले दिएको एक करोडको उपचार खर्चबाट जोगाएर ल्याई सरकारलाई बुझाएको रकममा थपेर एक करोड बनाएको स्पष्टीकरण दिए । प्रम ओलीले त्यतिवेला भनेका थिए, आदित्य दाहालले नै स्टानफोर्ड अस्पतालमा आफ्नो उपचार हुन सक्ने लेखेपछि अघिल्लो सरकारले एक करोड उपलब्ध गराएको थियो । त्यसमा केही लाख मात्रै खर्च भयो । अरू खर्च अस्पतालले मिनाह गरिदियो आदि, इत्यादि । आदित्यलाई थप एक करोड रुपैयाँ सरकारले त्यस्तो समयमा उपलब्ध गराएको थियो, जब देश भुइँचालोको मारले अस्तव्यस्त थियो । अनौठो कुरा, त्यतिवेला भुइँचालोपीडितलाई राहत दिनेमा दलबीच सहमति हुन सकेको थिएन । तर, आदित्यलाई एक करोड उपचार खर्च दिनेमा कसैको विमति भएन ।

आदित्यका कथित विचार तथा भविष्यवाणीलाई अमरत्व प्रदान गर्न उनकै नाममा अहिले ‘बालयोगी आदित्य प्रतिष्ठान’ खोलिएको छ । यो प्रतिष्ठानका अध्यक्ष आदित्यका पिता शेषराज दाहाल छन् भने लक्ष्मी प्रसाईं सदस्यसचिव । आदित्यको स्वास्थ्यबाहेक यो फाउन्डेसनका अरू आधारभूत काम के हुनेछन्, त्यसको विवरण आएको छैन ।

आदित्यलाई विवादमा तान्ने मनसाय कसैले राखेको छैन । तर, सरकार प्रमुख र देशको निर्णायक तहमा बसेका नेता उनको संरक्षणमा जसरी लठारिएका छन्, त्यो दृश्य आफैँमा शोभनीय छैन । संसारमा आदित्यजस्ता बालक हजारौँ छन् । यस्ता भविष्यवक्ता, पुनर्जन्म पाएका र अरू किसिमका चमत्कारी बालक नेपाल, भारत, पाकिस्तान, बेलायत, अमेरिका जतासुकै भेटिन्छन् । यस्ता बालक अपवाद हुन् । यी सबैमा आदित्यको जस्तो अलौकिक गुण नहोला । जो, जहाँ, जे र जस्तो अवस्थामा भए पनि तिनको पहुँच स्वास्थ्य र शिक्षामा हुनैपर्छ । यसमा शंका गर्नुपर्ने अवस्था छैन ।

पूरै घटनामा आदित्य एउटा सामान्य पक्ष हुन् । अर्को महत्वपूर्ण  पक्ष सरकार सञ्चालन गर्ने र राजनीतिक रूपले निर्णायक तहमा रहेका नेता हुन् । अहिले प्रम ओली आफ्नै वचनका कारण पछाडि पर्न थालेका छन् । सरकार प्रमुखका रूपमा जनताबीच उनको विश्वसनीयता स्थापित हुन सकेको छैन । उनका मित्रहरू प्रचण्ड र देउवाको पनि कुनै विश्वसनीयता स्थापित भएको छैन । आफ्ना पार्टीका कार्यकर्तालाई ‘सधाउन’ नेताहरू सक्षम होलान् । त्यो ठूलो विषय भएन । नेताहरूले जनतामा विश्वसनीयता स्थापित गर्न ठूलो संघर्ष गर्नुपर्छ । एकपटक विश्वसनीयता गुमेपछि त्यो फर्काउन कडा मिहिनेत गर्नुपर्छ । आदित्यलाई बालयोगी बनाएर नेताहरू आफ्नो कमजोरीलाई लुकाउन चाहन्छन् । तर, सत्य कसै गरे लुक्दैन ।