मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ता कमली
२०७६ बैशाख १३ शुक्रबार ०६:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

भूकम्पले जुर्मुरायो राइनासकोट

Read Time : < 1 मिनेट
शान्ता कमली
२०७६ बैशाख १३ शुक्रबार ०६:३७:००

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पले लमजुङको राइनासकोटका सबै घरमा क्षति पु‍-यायो । गाउँका सबै घर एकैपटक भत्किएपछि अब घर कसरी बनाउने होला भनेर राइनासकोटवासी अन्योलमा परे । तर, भूकम्प गएको चार वर्षपछि राइनासकोटका १४ घर ठडिएका छन् । नयाँ घर स्थानीय महत्व  झल्ने गरी बनाइएको छ ।  

घर बनाइदिएर राइनासकोटवासीको पीडामा मलम लगाउने काम अमेरिकी नागरिक नतासा बाजनियाकले गरेकी थिइन् । उनकै पहलमा राइनासकोटका १४ घर ठडिएका हुन् । डेढ करोडभन्दा बढीको लगानीमा राइनासकोटमा भूकम्प प्रतिरोधी १४ घर बनेका हुन् । स्थानीय विष्णुमाया गुरुङका अनुसार भूकम्प नगएको भए सायद गाउँ रित्तिसक्ने थियो । ‘पानी, बिजुली, बाटोघाटो नभएपछि गाउँबाट बसाइँ सर्नेको बाहुल्य थियो । गाउँ रित्तिनै आँटेको थियो । भूकम्प गएपछि गाउँ फेरि जुर्मुराएको छ,’ विष्णुकुमारी गुरुङले भनिन्, ‘भूकम्पले भत्केका घर निर्माणमा नतसाले सघाइन् ।’

गाउँ छाडेका फर्कन थाले   
गाउँमा १४ घरधुरी छन् । त्यसमध्ये १० घरले होमस्टे चलाएका छन् । राइनासकोटको होमस्टेमा लमजुङ, तनहुँ, गोरखासहित काठमाडौं, पोखरा, चितवनलगायतबाट दैनिक पर्यटक आउँछन् । होमस्टे सञ्चालकका अनुसार राइनासकोटको होमस्टेमा एक रात बसेको पर्यटकले चार सय रुपैयाँ तिर्छन् । लोकल कुखुराको मासुसहितको एक छाक खानाको तीन सय रुपैयाँ र सादा खानाको १ सय ५० रुपैयाँ तिर्नुपर्छ । 

गाउँमा होमस्टे सञ्चालन भई स्थानीयले मनग्य कमाउन थालेसँगै गाउँ छोडी गएका पनि गाउँ फर्कन थालेको स्थानीय ओमकुमारी गुरुङले बताइन् । उनले भनिन्, ‘तीन घरधुरी फर्किसकेका छन् । गाउँमा अहिले पानी, बिजुली सबै सुविधा छन् । इन्टरनेट पनि छ । कच्ची भए पनि सडक छ ।’  गाउँ फर्केकाहरू पनि धमाधम घर बनाउँदै छन् ।