मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रामेश कोइराला
२०७६ बैशाख १२ बिहीबार ०८:२०:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

भुइँचालो ट्रेल, बेढंगी नेपाली !

भुइँचालोले ध्वस्त भएका लाप्राक र बारपाकलाई व्यवस्थित र राम्रा बस्ती बनाउने मौका थियो, सायद दुवैमा चुक्यौँ

Read Time : > 5 मिनेट
रामेश कोइराला
२०७६ बैशाख १२ बिहीबार ०८:२०:००

बहस

रहर न हो, अनेक हुन सक्छन् । यस्तै एउटा रहर पलायो, भूकम्पको चौथो वार्षिकीको सेरोफेरो मनासलु परिक्रमा पदयात्राको बाटो पच्छ्याउँदै मच्छीखोला हुँदै भुइँचालो हिँडेकै बाटो हिँड्ने । गाडीमा बेनिघाटबाट मच्छीखोला र त्यहाँबाट पैदल लब्सीबोट हुँदै लाप्राक पुग्ने । त्यहाँबाट बारपाक जाने र गोरखा हुँदै फर्किने योजना बनाइयो पनि । तर, विप्लवजीको अनुकम्पाले बिहीबार दिउँसो काठमाडौं छाड्न पाइएन । समयतालिकालाई असर नपरोस् भनेर बेलुका हिँडियो, बेनिघाटमा बास बस्ने गरी ।

बेढंगी यात्रा
अपेक्षाकृत सडकको चाप नभएकाले बेलैमा बेनिघाट पुगियो । धादिङबेसीबाट सल्यानटार हुँदै आरुघाट जाने बाटो बेनिघाटतिरको भन्दा राम्रो छ रे भन्ने बल्ल सुनियो । पटक–पटक गइसकेको दाबी गर्ने हाम्रा मित्रलाई सोधियो पनि ।‘यताको बाटो कस्तो छ ? पिच छ ?’हाम्रो यात्रा, खाना र बासको सबै प्रबन्ध गर्ने जिम्मा लिएका मित्रको जवाफ, ‘राम्रो छ । ठाउँ–ठाउँमा पिच नै भइसकेको छ ।’ पहिलोपटक सुनेको ‘रे’ भन्दा सबै जानेका सहयात्रीलाई विश्वास गरियो र उनले थाहा पाइरहेकै बाटो नाप्ने भइयो ।

त्रिशूलीको तिरमा रात बिताएर एकाबिहानै आरुघाट लागियो । कालो चिया, चाउचाउ र बियर मात्र पाइने दोकानको एकाधिकार भएको त्यो चारघन्टे यात्रा राम्रो बाटो र पिच कहिले आउँछ भनेर हेर्दाहेर्दै आरुघाट बजारमा टुंगियो । साँघुरो, हिलो र अप्ठ्यारो बाटोको यात्रा एकपटक गर्दा त फेरि कहिल्यै दोहो-याउँदिनँ भन्न मन लाग्यो भने त्यही बाटाले जीवन धानेकाहरू के सोच्दा हुन् ? आरुघाटबाट सोतीखोलासम्मको बाटो बरु अलिक फराकिलो रहेछ । सोतीखोलामा सेनाको पोस्टमा नाम लेखाएपछि माच्छीखोला जान पाइयो, मित्रले भनेको मीठो भात खान पाउने ठाउँमा । नामैले माछाको झोल सितन सोचियो पनि ।

‘होटेलको नाम के रे ?’ सोधियो । नसोधेको भए पनि हुने रहेछ । जम्मा एउटा होटेल, अनि एक्ला मानिस । मालिक, मेनेजर, भान्से वा वेटर । नपाकेको भात भेटिएन नै । चाउचाउ जिन्दावाद ! बिहानदेखि चाउचाउबाहेक केही खान नपाएका मान्छे मित्रलाई गाली गर्दै हिँड्न तयार भए । मित्रले वेलावेलाको सिमसिमे पानीमा भिज्दै एकनासको उकालोले थप बढाएको रिसलाई मत्थर पार्ने उपाय खोजे पनि, ‘लाप्राकबाट गाडी मगाउँछु र लब्सीबोटबाट एक घन्टा गाडीमा जाने ।’

लब्सीबोटमा चिउरा, भुटेको मकै र आलु खाएर उहिल्यै हिँडिसक्यो भनेको गाडीलाई थप दुई घन्टा कुरियो पनि । बरु हिँड्दै गरे केही समयको बचत होला भनेर साँझतिर बाटो लागियो । अनि मित्रका दुःख थपिए । लाप्राक गाउँपालिकाका अध्यक्ष, गाडीका चालक, वडा–अध्यक्ष र गाडीका सहयात्रीबीच अनवरत फोन गर्थे र हामीलाई बताउँथे, ‘बाटोमा छ’, ‘खाने–बस्‍ने व्यवस्था भइसक्यो’ आदि–इत्यादि ! जुनेली रात आयो, तर गाडी आएन । यात्री बरु फर्केर लब्सीबोटमै दुःख–सुख बसौँ भन्न थाले भने मित्रलाई साथ दिने ममात्र बचेछु । फर्किनु अलिक छोटो भए पनि यात्रामा अघि बढेकै राम्रो भनेर भुखुन्न गरे पनि कोही मानेनन् । अनि देखियो, पर भिरमा रातो बत्ती ।
‘के भयो ?’
‘गाडी फस्यो’ ।
मित्रका दुःख नि ! लाप्राकबाट एस्काभेटर बोलाऊ, कुनै गाउँबाट गाडी मगाऊ अनि सहयात्रीलाई मनाऊ ! केही आकस्मिक रूपमा खोजेको गाडीमा र केही हिँडेरै गुम्दा पुग्दा रातको १० बजिसकेको थियो । राम्रा कोठा र मासुभातले पर्खिरहेको छ भनिएको होटेल बन्द थियो अनि वडा–अध्यक्षको चर्को आवाजले पनि गाउँमा रहेका दुवै होटेलका मूलढोका खुलेनन् । ‘यिनीहरू पैसो कमाएर मात्तिए’, भने पनि बेलुकादेखिकै ‘हिडिँसक्यो’, ‘मिलिसक्यो’, ‘भयो’, ‘आधा घन्टा’ र ‘एक घन्टा’ले यो भूभागमा कसैको विश्वासचाहिँ नगरे हुनेरहेछ भन्ने ज्ञान त दियो, तर बास र खाना दिएन ।

अध्यक्षकै प्रयासमा बल्लतल्ल एउटा किराना दोकानेले भात पकाइदिने भए । जाडोमा के ओडेर कता सुत्‍ने, गुजरातमा जीवन गुजारेका हिन्दी मात्र बोल्ने गुरुङ दाइले नै राम्ररी बताउन सकेनन् । धन्न लाप्राकबाट गएको एस्काभेटरले गाडी निकालेर ल्याइपु‍¥यायो । भुखुन्न गरेर मनाएपछि गुरुजी मध्यरातमा लाप्राक जाने भए । लाप्राकमा बनिरहेको एकीकृत बस्तीको नमुना घरको बुइँगलमा पल्टिँदा समय हेरेँ, ३ बजेछ ।


लाप्राकको पुनर्निर्माण 
४५ सालकै भूकम्पपछि लाप्राक गाउँको धरातल कमजोर प्रमाणित गरेर सरकारले बस्ती सार्ने उद्देश्य बनाएको थियो रे ! झन् चार वर्षअघिको भुइँचालोले ध्वस्त भएको बस्ती नयाँ र अलिक बलियो भू–भागमा सार्नु उत्तम विकल्प थियो । एनआरएनएले सरकारी आँकडाअनुसार पूरै पाँच सय ७३ घर बनाइदिने भयो । सरकारले बाँझो पाखो दिने भयो । अनि सुरु भयो, गाउँभन्दा लगभग आठसय मिटर उचाइमा रहेको गुब्सी पाखामा घर ‘बनाइदिने’ काम ।

सरकारसँग भएको सम्झौताअनुसार गैर–आवासीय नेपाली संघले सरकारले दिएको पाखोमा घर बनाउने भयो । सरकारले जग्गा र सुरक्षाका अतिरिक्त सरदर सय जवान सेनाको श्रम दिने भयो । गैर–आवासीय नेपाली संघले स्थानीयले उपलब्ध गराउनेबाहेकका सबै सामग्री साथै सेनाका जवानको खाना र बस्‍ने खर्च बेहोर्ने भयो । त्यस्तै, स्थानीयले पनि निःशुल्क श्रमदान, काठ चिरान र ढुंगा दिने भए । तर, बनाउन दिने दिन आउनै वर्षौं लाग्यो । बल्ल ०७४ सालको असोजतिर राष्ट्रपतिबाट शिलान्यास भयो । त्यसपछि पनि अन्य सरकारी ‘रेडटेपसिप’ले अर्को चार–पाँच महिना खायो ।

लगत्तै चार कोठाको दुईतले नमुना घर पनि बन्यो र देखाइयो, के बन्दै छ भनेर । जस्ताको छाना भएका, चर्पीविहीन, झ्याल–ढोकाको खापाविनाका, दलिन बाँसमा माटोले छापेका अनि बाँस र माटोले बनेका दोस्रो तलाका भित्ता । सबै घरको अनुमानित लागत ५२ करोड ।तर, यो बस्ती एउटा झगडाको बिउ पनि बन्न पुग्यो ।

एनआरएनएका तत्कालीन अध्यक्षले एकपटकको भाषणमा प्रत्येक घरले साढे तीन आनाजति जग्गामा बनिसकेको घर पाउँदा सरकारले दिने तीन लाखभन्दा एकैपटक १५–१६ लाखको सम्पत्ति पाउनेछन् भनेछन् भने अर्को भाषणमा १४–१५ लाख पाउनेछन् भन्दिएछन् । केही स्थानीय जंगिएछन्, ‘एनआरएनएले हाम्रो एक लाख खाइदियो’ भन्दै । अन्त्यमा स्थानीयले विनाज्याला श्रमदान पनि गरेनन् रे, काठ बोकेको पनि ज्याला मागे रे, ढुंगा पनि भनेजति दिएनन् रे ! मानौँ उनीहरू मालिक हुन् र एनआरएनए उनीहरूको जरखरिद गुलाम । ‘सबैलाई चाहिएको मात्र छ, कोही पनि मेरो घर बनाउन मसँग कुनै सम्बन्ध नभएको पाँचथरको सोमबहादुरले कतारमा दुई दिन पसिना चुहाएको पैसा दिएको छ भनेर सोच्नै चाहन्नन्,’ एकजना एनआरएनएका परिचित मित्रको गुनासो थियो । 

अहिले लगभग सबै पाँच सय ७३ घरमा अझ महँगो युपिभिसीका ‘स्लेटजस्तै डिजाइन’ भएका छाना लगाइएछ, दलिन काठको भएछ, दोस्रो तलाको भित्तो पक्की भएछ अनि पिभिसीको झ्याल–ढोकाका खापा पनि जडान हुँदै रहेछ । हामी पुग्दा ‘खापा कमजोर किन भयो’ भन्ने पक्ष र ‘सम्झौतामै नभएको काम गरेकामा जस दिनु छैन, उल्टै खोचे थाप्ने’ भन्ने पक्षबीचको वादविवाद चर्किरहेको थियो ।‘दुई–तीन महिनापछि सेना जान्छ । त्यसपछि त यहाँ काम गर्न सकिन्न । जति सकिन्छ, त्यति बुझाउने हो । हिँड्ने हो । ‘दुःख पाएका जनताको पीडा कम गर्न हिँडेको एनआरएनएको सायद भित्री आसय ! 

लाप्राकको बस्तीभन्दा माथिको भेडीखर्कमा बन्दै गरेको एकीकृत बस्तीको भविष्य के होला भनेर पनि सोच्न मन लाग्यो । ‘बस्‍न र बाँच्‍न’ सकिने ठाउँ छ भने पहाडको टुप्पोमासमेत एक्लै बस्‍न सक्ने नेपाली किन यो खर्कमा बसेनन् त ? आर्थिक चहलपहल नभएको बस्ती जति नै राम्रो भए पनि आवाद हुँदैन नै । यदि गुब्सीपाखामा घर बनाएर बसेर जीवन धान्न सकिने थियो भने मात्रै पनि निकै मानिस पहिला नै त्यता भेडा चराउन छाडेर घर बनाइवरी बसिसकेका हुन्थे । अनि आज १९ सय मिटरमा बसिरहेको परिवार लगत्तै २७ सय मिटरको ठिहि‍¥याउने पाखोमा बसाइँ सर्छ भन्ने कुरो मलाई त्यत्ति विश्वास लागेन । गलत हुन मन लागिरहेको छ ।

लाप्राकको पुरानो बस्ती नै अहिले लगभग बनिसक्यो । अति नै न्यून आय भएका जम्मा ३० प्रतिशतहाराहारी मात्र टिन बारेर बसेका छन् । सायद तिनीहरू मात्र सर्नेछन् । खेत–बारीभन्दा टाढा बस्‍न बाँकी नचाहलान् । ७० प्रतिशत पुरानै ठाउँमा बस्छन् र ४० प्रतिशत घरधनीले पर्यटक आउने आशामा ‘होमस्टे’का रूपमा यी घरलाई प्रयोग गर्छन् । बाँकी रहेका ३० प्रतिशत छिमेकीको घर त्यहीँ बसिरहेकाले किन्छन् । बीचमा कुखुराको खोरदेखि रक्सी पार्ने अँगेना बनाउनेछन् । बिस्तारै छेउछाउमा बारबेर हुनेछ र बस्ती आजका दिनमा देखिएजस्तो कतैबाट पनि हुने छैन । गोलाप्रथाबाट छानिएका घरधनीको दलित छिमेकी नराख्ने रडाको सुल्झन बाँकी नै देखियो । हाम्रामा एकीकृत बस्ती असफल हुने रहेछ भन्ने युगौँयुगलाई पाठ हुनेछ ।

भुइँचालोको प्रत्यक्षदर्शी बारपाक
‘गाडी खोइ ?’
‘पट्टा भाँचियो रे’
पानी परे फेरि बारपाक पुगिँदैन भनेर हतारिएको, जवाफ यस्तै थियो । विश्वासलायक नाइके पाउने भाग्य हाम्रो खप्परमा लेखिएकै छैन, सायद ! ट्याक्टरमा दुःखजिलो गरेर बारपाकतिर लागियो । बेकारमा किन अर्कालाई सराप्‍नु भनेर यसपालि कति समय लाग्छ भनेर त सोध्दा पनि सोधिएन । करिब १५–२० मिनेटको कष्टकर यात्रापछि तल बारपाकको बस्ती देखियो । ‘लु, हिँडौँ’ ।

वेलावेलामा बत्तिँदै गरेका ट्याक्टरलाई भेट्दै हामी ठाडै ओर्लियौँ । साँच्चै नै ट्याक्टरभन्दा हिँडेरै चाँडो पुगिने रहेछ । बारपाकको बस्ती अलिक अगाडि दाहिनेतिर थियो भने देब्रेतिर खेत र पर भर्खरै डोजरले विकासको रेखा कोरेको ठूलो पहाडी भित्तो । अनि बाटामा भेटियो, चार वर्षअघिको भुइँचालोका प्रत्यक्षदर्शी जगतबहादुर घले ।

‘यसरी नै यता खेतमा गहुँ काटिसकिएको थियो । म ऊ त्यो पाखातिर गाई चराउन गएको थिएँ । अनि एक्कासि बड्यांग्ग गरेर ऊ त्यो डाँडामा के फुट्यो के फुट्यो । पूरै भुइँ त तलमाथि गर्न थाल्यो । लु, प्रलय आयो भनेर मचैँ थुचुक्कै बसेँ । त्यो पहाड फुटेको ठाउँमा पहिरो गयो । ऊ, अहिले त पहिरोमा निक्कै घाँस पलाइसक्यो । अनि त्यो प्रलय मेरै खुट्टामुनिबाट यसरी घुमेर बारपाकतिर लाग्यो । फेरि राङरुङ खोलामा ठोक्किएर बारपाकलाई हान्दै त्यही पहिरोतिर गयो’, हात घुमाई–घुमाई जगत दाइ भूकम्पको केन्द्रबिन्दु र के भयो भनेर बताउन थाले । त्यसवेलाका उद्धार, सरकार, कष्ट र हन्डरका कुरा फेरि सुनियो ।

अब बारपाक हाम्रो निकै नजिक आइसकेको थियो । रंगीचंगी जस्ताका छाना, निकै दुई–तीनतले पक्की घर ठम्याउन थालेदेखि नै ‘स्लेटले छाएका एकनासका गुरुङशैलीका घर भएको त्यो बारपाक र यो बारपाक फरक हो’ भन्ने लाग्यो नै । हामी भुइँचालोले बर्बाद पारेको बारपाकलाई मानिसले फेरि कसरी बर्बाद पारे भनेर उदाहरण दिन योग्य ठाउँमा पुगेका रहेछौँ । 

अव्यवस्थित सहर, मुस्किलले एउटा गाडी छिर्ने बाटाहरू, अहिल्यै ढल बनेको खोल्सो, शृंगार र कलात्मकताविहीन भद्दा घर अनि उही चाउचाउ, बियर र चुरोटका दोकान । चौडा बाटो, व्यवस्थित ढल, मौलिक ढाँचा वा वैज्ञानिक सहरीकरण सबै हराएछ । हरदम ‘स्मार्ट’ ‘स्मार्ट’ भनेर कराउँछौँ, तर त्यो ‘स्मार्ट’ भनेको के हो बुझ्‍न सक्ने ‘स्मार्टनेस’ हामीमा रहेनछ । बस्, तीन लाख दिएर सरकार दंग प¥यो । तीन लाख पाएर जनता दंग परे । अन्त्यमा नयाँ बस्ती अझ ‘कुरूप’ बन्यो र पुनर्निर्माण त्यही कुरूप बस्तीको फोटो हालेर ‘काम तमाम’ भएकामा दंग प¥यो । हरेक विपत्‌मा पनि एउटा न एउटा सम्भावना लुकेको हुन्छ रे ! भुइँचालोले ध्वस्त भएका लाप्राक र बारपाकलाई व्यवस्थित र राम्रा बस्ती बनाउने मौका थियो । सायद दुवैमा चुक्यौँ । खेमराज गुरुङले गाए जस्तै,
‘मेरो ढंगै पुगेन’
हामी बेढंगी नेपाली !