मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
कारा स्विसर
२०७६ बैशाख ११ बुधबार ०८:०७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

फेसबुक र ट्विटर बन्द गर !

Read Time : > 3 मिनेट
कारा स्विसर
२०७६ बैशाख ११ बुधबार ०८:०७:००

जब अनियन्त्रित सवारी चलाउनुहुन्छ, तपाईंको मृत्यु हुन्छ । यो आजको डिजिटल युगको खतरनाक अवस्था हो । इस्टर सन्डेको दिन बम आक्रमण भएपछि श्रीलकांली सरकारले केही समयका लागि अमेरिकी सामाजिक सञ्जाल फेसबुक र गुगलको युट्युबमाथि प्रतिबन्ध लगायो । सामाजिक सञ्जाल प्रतिबन्धको खबर सुनेबित्तिकै मलाई लाग्यो– ‘ठीक’ भयो । 

ठीक किन भयो भने, यो कदमले जीवन बचाउन सक्थ्यो । ठीक किनभने यी मिडिया सञ्चालन गर्ने कम्पनी आफ्ना विश्वभरि फैलिएका सञ्जाललाई नियन्त्रण गर्न असफल छन् । सामाजिक सञ्जालमा देखिएका असीमित झुटा सूचनाले विगतमा तिनले गरेका जति पनि राम्रा कुरा थिए, तिनलाई समेत कमजोर बनाएका छन् । आइतबार बिहानसम्म श्रीलंकाको रक्तपातपूर्ण घटनाबारे अनलाइनमा यति धेरै झुटा खबर फैलिए कि श्रीलंका सम्भावित थप हिंसालाई लिएर चिन्तित बन्यो ।

कुनै समय म विश्वभरि फैलिएका यस्ता सञ्चारमाध्यमले सहिष्णुता बढाउनेमा विश्वास गर्थें । आज आफैँ पत्रकार भएकाले यो विषयले मलाई पीडा हुन्छ । श्रीलंकाको घटनापछि म यी सबैमा प्रतिबन्ध लगाउनुपर्ने निष्कर्षमा पुगेँ । घटनाक्रमसँगै म स्पष्ट हुँदै गएँ कि, कहिलेकाहीँ विश्व मानव इतिहासमा सबैभन्दा ठूला प्रयोग अत्यधिक खतरनाक तरिकाले असफल हुन्छन् ।

संक्षेपमा भन्नुपर्दा फेसबुक, युट्युब र ट्विटरको दुनियाँलाई बन्द गर, हामी यसबाट छुटकारा चाहन्छौँ । निश्चय पनि यो असम्भव आग्रह हो । प्रतिबन्धले यी सबै समस्याको समाधान दिन सक्दैन । मुख्य समस्या हामीभित्रै छ । मानवीयता कहिलेकाहीँ अत्यन्त गम्भीर अमानवीय पनि हुन्छ । यही प्रवृत्तिलाई प्रविधिले झन् कुरूप बनाउँछ । सम्भवतः प्रविधिका निर्माताहरूले पनि यस्तो होला भन्ने सोचेका थिएनन् । 

मैले न्युयोर्क टाइम्समा एक वर्षअघि छापिएको पहिलो स्तम्भमा यही उल्लेख गरेकी थिएँ । त्यसमा मैले ठूला सामाजिक सञ्जाललाई ‘आधुनिक युगको डिजिटल हतियार वितरक’को संज्ञा दिएकी थिएँ । सम्भव भएजति सबै चिजलाई तिनले गैरजिम्मेवार तवरले सशस्त्रीकरण गरेको भनेकी थिएँ । ‘तिनले नागरिक छलफललाई सशस्त्रीकरण गरिरहेका छन्,’ मैले उल्लेख गरेकी  थिएँ, ‘सबैभन्दा बढी तिनले राजनीतिलाई सशस्त्रीकरण गरेका छन् । त्यसैले त समाजको हित नचिताउनेहरू यी माध्यमको प्रयोग गरिरहेका छन् । यसको वास्तविक समाधान तत्कालै सम्भव देखिँदैन । किनकि यिनले अहिले जसरी काम गरिरहेका छन्, त्यही गर्न नै निर्माण गरिएका थिए ।’

यसरी विश्लेषण गर्दा हामी आज जहाँ पुगेका छौं, त्यो आश्चर्य होइन । श्रीलंकाले गलत सूचनाका कारण थप हिंसा फैलाउने डरले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । महत्वपूर्ण  सूचनाका माध्यमलाई नियन्त्रण गरेकोमा कसैको असहमति पनि हुन सक्ला । तर, श्रीलंकाजस्ता देशमा फेसबुक, युट्युब र केही हदसम्म भाइबरजस्ता सेवा समाचार सम्प्रेषण गर्ने, प्राप्त गर्ने र दुरुपयोग हुने प्रमुख माध्यम हुन् । कल्पना गर्नुहोस्, यदि तपाईं अमेरिकामा अखबार, केबल, रेडियो र इन्टरनेट प्रयोग गर्नुहुन्छ भने तपाईंले सही विचार निर्माण गर्न सक्नुुहुन्छ ।

एकजना फेसबुक प्रवक्ताले मलाई ‘मानिसहरू आफन्तसँग सञ्चार गर्न आफ्ना सेवामा निर्भर रहेको’ बताए । उनले कम्पनीको मापदण्ड उल्लंघन गरेका सामग्रीलाई हटाउनका लागि श्रीलंकाको सरकारसँग सहकार्य गरिरहेको पनि बताए । श्रीलंकाजस्ता देशमा कुनै समय सामाजिक सञ्जाललाई ‘लोकतन्त्र प्रोत्साहन’ गरेको जस दिइन्थ्यो । तर, अहिले तिनले धार्मिक घृणा फैलाएको आरोप लगाइँदै छ । यही कारण देखाएर श्रीलंकामै एक वर्षअघि फेसबुक छोटो समयका लागि प्रतिबन्ध भएको थियो । सरकारले त्यतिवेला फेसबुक मुस्लिमविरोधी भावना फैलाउन प्रयोग भएको आरोप लगाएको थियो । 

टाइम्सले आइतबारको रिपोर्टमा लेखेको छ, ‘यस्ता असाधारण कदमले विश्वव्यापी रूपमा चिन्ता बढाएको छ । विशेषगरी, यस्तो चिन्ता, अमेरिकाको स्वामित्वमा रहेका यी कम्पनीले हिंसालाई बढाउन सक्ने क्षमताप्रति लक्षित छ ।’यिनले निश्चित रूपमा हिंसा बढाउँछन् । उदाहरणका लागि एक महिनाअघि सामाजिक सञ्जालबाट एकजना निर्दयी बन्दुकधारीले न्युजिल्यान्डमा मच्चाएको हत्याकाण्डलाई लिन सकिन्छ । अपराधीले त्यो नरसंहारलाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । दोष मुख्यतः बन्दुक चलाउनको नै हो । तर, उसको अपराधलाई प्रविधिले सघाएको पनि अस्वीकार गर्न सकिँदैन ।

आफैँ प्रविधि पत्रकार भएर पनि यसलाई स्विकार्नुपर्दा लज्जित छु, तर अवस्था यस्तै खराब छ । संक्षेपमा भन्नुपर्दा फेसबुक, युट्युब र ट्विटरको दुनियाँलाई बन्द गर, हामी यसबाट छुटकारा चाहन्छौँ । 
 

न्युजिल्यान्डले त्यो घटनापछि सामाजिक सञ्जालमाथि प्रतिबन्ध नै नलगाए पनि प्रमुख कारणका रूपमा औँल्यायो । आक्रमणपछि, फेसबुक र युट्युबले हत्याकाण्डको भिडियोलाई लामो समयसम्म नियन्त्रण गर्न सकेनन् । नियन्त्रणमा लिन नसक्नुमा तिनले सेट गरेका अल्गोरिदमको मुख्य भूमिका थियो । मसँग त्यतिवेलाको अनुभव सुनाउँदै युट्युबका एक कर्मचारीले त्यहाँभित्र एकदमै डरलाग्दो अवस्था रहेको बताएका थिए ।  

जेसिन्डा आरडनको नेतृत्वमा रहेको न्युजिल्यान्ड उग्रवादी समूहका सामग्रीलाई नियन्त्रण नगरेकोमा ती कम्पनीलाई कडा सजाय दिने पक्षमा देखिन्छ । अस्ट्रेलियाले पनि यस्तै प्रविधि कम्पनीलाई सजाय दिने कानुन पास ग-यो । यस मामिलामा ती कम्पनी रहेको मुलुक अमेरिका भने मौन छ । त्यहाँ अझै पनि यसलाई समस्या मान्ने कि नमान्ने बारेमा बहस चलिरहेको छ । 

संसारका विभिन्न मुलुकमा सामाजिक सञ्जालले फरक–फरक ढंगले कमजोरी गरिरहेका छन् । ती कमजोरीमा रहेका भिन्नताभन्दा समानता निकै महत्वपूर्ण  छन् । सामाजिक सञ्जालले समाजलाई सन्तुलनमा राख्ने नियन्त्रणलाई गुमाएका छन् । यी माध्यमले सबैलाई आवाज दिने साँचो हो । तर, यी आवाजमध्ये केही आवाज गलत वा भनौँ अझै खतरनाक छन् । यस्तोमा तिनलाई सञ्चालन गर्ने कम्पनी तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमै संघर्षरत छन् । 

इन्टरनेटका प्रारम्भिक दिनहरूमा, यसका सकारात्मक पक्षबारे निकै चर्चा गरिन्थ्यो । अहिले त्यो हराएको छ । यसको अर्थ हामीले सबै पक्षलाई समेटेर एउटा विश्वव्यापी बहस गर्न जरुरी छ । असल अल्गोरिदम वा मध्यस्तकर्ताले मात्रै पुग्दैन ।संकटको समयमा सामाजिक सञ्जाललाई बन्द गर्ने विकल्पले समाधान दिँदैन । अघिल्लो हप्ता एउटा ठूलै प्रविधि उद्योगको भ्रमणका क्रममा त्यहाँका शीर्ष अधिकृतसँग न्युजिल्यान्डमा मैले यो विषय उठाएकी थिएँ । ती अधिकृतले भनेका थिए– ‘तपाईंले यसलाई बन्द गर्न सक्नुहुन्न, धेरै ढिलो भइसक्यो ।’

कारा स्विसर प्रविधि वेबसाइट रिकोडकी सम्पादक र रिकोड डिकोड पोडकास्टकी निर्माता हुन् । न्युयोर्क टाइम्सकी स्तम्भकार कारा प्रविधि उद्योगमा प्रगतिशील पत्रकारका रूपमा चिनिन्छिन् ।

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य