मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७६ बैशाख ९ सोमबार १८:२८:००
Read Time : > 1 मिनेट
विश्व

श्रीलङ्कामा सङ्कट काल घोषणा, इस्लामिक समूहप्रति आशंका

Read Time : > 1 मिनेट
रासस
२०७६ बैशाख ९ सोमबार १८:२८:००

शृङ्खलाबद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएसँगै श्रीलङ्कामा सोमबार रातिदेखि लागु हुने गरी सङ्कट कालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा जारी वक्तव्यअनुसार रातिदेखि सङ्कटकाल लागु भएकाे हाे ।
  
श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनामा परी झण्डै दुई सय ९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो । राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कट काल घोषणा गरिएको उल्लेख छ । राष्ट्रपति सिरिसेनाले अप्रिल २३ (मंगलबार)का दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको सञ्चार विभागले जनाएको छ ।

राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म दुई सय ९० पुगेको प्रहरीले जनाएको छ । घटनामा पाँच सयभन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने अनुमान छ ।

श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेकाे छ । प्रहरीका अनुसार बिस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ । स्वास्थ्य मन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तोव्हीड जमात यस बिस्फोटनमा जिम्मेवार रहेको बताएका छन् । 

घटनाको अनुसन्धान भइरहेको र अन्तर्राष्ट्रिय समूहहरूको पनि संलग्नता रहेको हुन सक्ने आशङ्का उनले व्यक्त गरे । घटनामा परी भारतीय, अमेरिकी, बेलायती, जापानीसमेत ३७ जना विदेशी नागरिकको मृत्यु भएको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटल साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । सुरक्षाकर्मीहरुले राजधानीस्थित बसपार्कबाट सोमबार साना ठुला गरी ८७ ओटा बिस्फोटक पदार्थहरु फेला परेको जनाएका छन् ।