Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पुरुषोत्तम गिरी
२०७६ बैशाख ९ सोमबार १०:५३:००
Read Time : > 1 मिनेट
प्रदेश

धान खेतमा माछा उत्पादन

सात पोखरीमा माछापालन, वार्षिक ६ लाखभन्दा बढी आम्दानी

Read Time : > 1 मिनेट
पुरुषोत्तम गिरी
२०७६ बैशाख ९ सोमबार १०:५३:००

कालिमाटी गाउँपालिका–३ ढोरनीका केशर बुढाथोकीको धान तथा गहुँ खेतमा आजभोलि अन्न उत्पादन हुँदैन । ‘अचले त माछा फल्छन् । धान गहुँ लगाउन त छोडिसकेँ,’ बुढाथोकीले भने । 

उनको घर वरपर पानी खेर गइरहेको थियो । खेतमा धान तथा गहुँ लगाउँदा खासै उत्पादन हुन सकेको थिएन । त्यसैले उनले माछा पाल्ने जुक्ति निकाले  । उनी घर वरिपिर खेर गइरहेको पानीलाई पोखरीमा संकलन गरेर माछापालन गरिरहेका छन् । ‘धान गहुँ लगाउँदा दुःख मात्रै हुन्थ्यो, सोचेअनुसार फल्दैन्थ्यो । विचार गरौँ न त भनेर माछा पाल्न थाले,’ उनले भने । 

अहिले उनले माछापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । वार्षिक ६ लाख आम्दानी हुने गरेको उनले बताए । स्थानीय बासिन्दा माछा किन्न पोखरीमै पुग्ने गरेका छन् । ‘स्थानीय बजारमा माछाको माग धेरै छ । आपूर्ति गर्न सकिएको छैन,’ उनले भने । गाउँमै प्रतिकिलो चार सय रुपैयाँमा माछा बिक्री हुने गरेको छ । 

उनले माछापालन गर्न थालेको तीन वर्ष भयो । यसका लागि धेरै लगानी गर्न नपरेको उनले बताए । बुढाथोकीले सातवटा पोखरीमा सात हजारभन्दा बढी माछा पालेका छन् । छोटो समयमै बिक्रीका लागि उपयुक्त हुने भएकाले राउ र नैनी जातका माछा पाल्न थालेको उनले बताए । 

माछाबाट फाइदा हुन थालेपछि उनले धानखेती गर्न छोडेका छन् । अहिले धानको सट्टा माछापालन गर्दै आएको उनले बताए । ‘परम्परागत खेतिपातीमा लगानी उठाउन सकिँदैन,’ बुढाथोकीले भने । जसले गर्दा धान, गहुँको खेती छोडेर माछापालनमा लागेको उनको भनाइ छ । 

वर्षौदेखि खेतिपाती गर्दै आए पनि परिवार पाल्नै मुस्किल हुने गरेको बुढाथोकीको अनुभव छ । अन्न बालीभन्दा माछापालनबाट धेरै फाइदा हुन थालेपछि यसमै लागेको उनले बताए । ‘अहिले सबै खेतमा माछापालन गरिरहेको छु, यसमै फाइदा छ,’ उनले भने ।