Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ बैशाख ९ सोमबार १०:०२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

चर्चको आगो पैसाको खोलो

Read Time : > 3 मिनेट
२०७६ बैशाख ९ सोमबार १०:०२:००

मध्ययुगका युरोपेली इतिहासकार जर्ज डुवीको विचारमा ऐतिहासिक घटना ती हुन्, जसले टिप्पणीलाई प्रेरित गर्छ । अनि त्यसको प्रभावमा जे–जति व्यक्त हुन्छन् ती बाहिर आउछँन् । यो हप्ता नोट्रेडममा सुरु भएको आगलागी हाम्रो समयको ऐतिहासिक घटना हो । अप्रिल १२ मा रातभर आगलागी भइरहँदा गिर्जाघरको मुख्य हिस्सामध्येको दुई टावर रहने हुन् कि होइनन् भन्ने चिन्ता थियो । तर, त्यो वेलासम्म घटना एउटा प्रतीक बनिसकेको थियो । अझ भन्ने हो भने धेरै प्रतीक । केहीले तत्कालै यसलाई फ्रान्सको पतनको अशुभ संकेत हो भने । न्युयोर्क टाइम्सका एक स्तम्भकारका लागि यो पश्चिमी लोकतन्त्र र सभ्यताको नाजुकताको संकेत थियो । 

अप्रिल १६ मा स्ट्रसबर्गस्थित युरोपेली संसद्मा बोल्ने क्रममा वातावरण अभियन्ता ग्रेटा थन्वर्गले डढेको भवनमा चम्किलो पृथ्वीको तस्बिरलाई सम्झना गराइन् । सम्बोधनको क्रममा उनले भनिन्, ‘नोट्रेडम पुनर्निर्माण गरिनेछ ।’ आगलागीको अर्को दिन सम्बोधन गर्ने क्रममा फ्रान्सेली राष्ट्रपति इम्यानुयल माक्रोनले गम्भीर भावमा घोषणा गरे, ‘हिजो राति पेरिसमा संकटबाट पार पाउन हामीमा रहेको शक्ति परिचालन हुने र एकताबद्ध हुने सामथ्र्य देख्यौँ ।’ उनले नोट्रेडम पाँच वर्षभित्रै पहिलेकै रूपमा फिर्ता गरिने बाचा गरे ।

पेरिसका अग्निनियन्त्रकको बहादुरीपूर्ण कामको प्रशंसा गर्दै म्याक्रोले भने, ‘राज्य र सरकारी प्रशासकको लगातार आलोचना गरिन्छ, तर यस्ता क्षणमा, आफूलाई कसरी सन्तुलित राख्ने भन्ने सम्पूर्ण राष्ट्रलाई थाहा छ ।’ केही समयभित्रै जलेको गिर्जाघर एक विभाजित देशलाई एकताबद्ध गर्ने नारामा रूपान्तरित भएको देखिन्थ्यो । म्याक्रोनमा शब्दमा यो घटना फ्रान्सका लागि ‘उसको राष्ट्रिय परियोजना जोड्ने सेतु’ थियो ।   तर, कोही कसरी यी ठूला अभिव्यक्तिका पछाडि, यस आगलागीले अर्को एउटा सुस्त, तर बृहत् रूपमा लागिरहेको आगोलाई नदेखिरहन सक्छ र ? महिनौँदेखि चलेको सो आगलागीले कहिलेकाहीँ कारदेखि सम्पन्न पेरिसका रेस्टुरेन्ट पनि डढाइरहेको छ ।

नोभेम्बरदेखि चलेको ‘एल्लो भेस्ट’ नाम दिइएको आन्दोलन फ्रान्सभरिी फैलिसकेको छ । आन्दोलनको मुख्य तारो फ्रान्समा बढेको असामानता र घट्दो जीवनस्तरजस्ता विषय छन् । फ्रान्सेली राज्य पर्याप्त मात्रामा सहभागीमूलक भएन भन्ने पनि आन्दोलनको आरोप छ । इतिहाससँग विडम्बनाको चेत हुन्छ ।

फ्रान्सको सबैभन्दा चर्चित स्मारक अप्रिल १५ को साँझ जल्न सुरु भयो । त्यति नै वेला म्याक्रोनले देशवासीका नाममा सम्बोधन गर्ने समयतालिका थियो । त्यसक्रममा उनी सरकारले फ्रान्सेली समाजमा फैलिएको आक्रोशलाई शान्त पार्ने प्रस्ताव बताउँदै थिए । आगलागीका केही घन्टा अधिकांश फ्रान्सको ध्यान पेरिसको ऐतिहासिक स्थलतर्फ केन्द्रित भयो । अन्य दिन पर्यटकको ध्यानमा पर्ने यो केन्दले त्यस दिन धेरै फ्रान्सेलीको ध्यान केन्द्रित गरेको थियो ।

 तर, इतिहास क्रूर हुन्छ । सरकारको प्रस्तावित सुधारको केही अंश सूचना बाहिरिएको थियो । जति बाहिरिएको छ, तिनबाट आशा गरिएजस्तो समस्या पार लाग्ने त टाढाको कुरा प्रदर्शनकारीलाई शान्त पार्छ भन्ने कल्पना पनि गर्न गाह्रो छ । अरू विषयलाई पन्छाउँदा पनि सम्पत्ति कर र बृहत् लोकतान्त्रिक सहभागिताजस्ता प्रमुख मागप्रति म्याक्रोन प्रशासनको अस्पष्टता कायमै छ ।

यसबाट म्याक्रोन सरकार अझै वित्तीय घाटा घटाउन दृढ रहेको र धनीमाथि दबाब राख्न आनाकानी गरिरहेको देखाउँछ । यो सबै उसको ‘एल्लो भेस्ट’ले राखेको वित्तीय न्यायको मागअघि नझुक्ने संकेत हो । यद्यपि सरकारको ढुलमुलका बीच देशको ढुकुटी घटिरहेको छ, । तर, उता गिर्जाघरका लागि भने पैसाको ओइरो लाग्यो ।

आगलागीको केही घन्टाभित्र फ्रान्सका सबैभन्दा धनीमध्ये एक फ्रान्सवा–हेनरी पिनोले नोट्रेडम पुनर्निर्माणका लागि १० करोड युरो दान दिने घोषणा गरे । त्यस्तै, विरासी ब्रान्ड एलभीएमएचका प्रमुख बरनार्ड आरनोल्टले २० करोड युरो दिए । दुई दिनभित्र गिर्जाघरको पुनर्निर्माणका लागि ८५ करोड युरोको प्रतिबद्धता आइसकेको थियो ।

सरकारको ढुलमुलका बीच देशको ढुकुटी घटिरहेको छ, तर गिर्जाघरका लागि भने पैसाको ओइरो लागिरहेको छ । अर्बपति दाताले दान दिँदा तिनले कमाएको विशाल सम्पत्तिको एक सानो अंश दिने हुन् । ‘एल्लो भेस्ट’को नजरमा त्यति ठूलो सम्पत्ति कमाउन सक्नुमा करछलीको भूमिका छ । 

एक पत्रकारले फ्रान्सको प्रमुख ट्रेड युनियनका नेता फिलिप मार्टिनेजसँगको कुराकानीमा दानको यो बाढीले कतै ‘ट्रिकल–डाउन’ अर्थतन्त्रलाई सही त ठह-याएन ? भनेर व्यंग्यात्मक प्रश्न गरे । ‘सबै विषयमा पैसा ट्रिकल डाउन नहुने रहेछ’– मार्टिनेजले जवाफ दिए । उनले फ्रान्सेली अर्बपतिमाझ हाल भएको उदारताको विस्फोटले देशलाई नै विभाजित गरेको असमानतामा थप प्रकाश पारेको बताए । यस्ता दान निजी विषय होइनन् । त्यसको मूल्य राज्यले पनि तिर्नुपर्छ । ती अर्बपति दाताले दान दिदाँ तिनले कमाएको प्रशस्त सम्पत्तिको एक सानो अंश दिने हुन् । ‘एल्लो भेस्ट’को नजरमा त्यति ठूलो सम्पत्ति कमाउन सक्नुमा कर छलीको भूमिका छ ।

आधारभूत सार्वजनिक सेवामा प्रयोग हुन सक्ने त्यो रकम केही व्यक्तिको हातमा पुग्नुमा जालसाजीपूर्ण अभ्यासको भूमिका रहेको आन्दोलनकारीले भन्दै आएका थिए । अहिले घोषणा गरिएको दान फ्रान्सको राष्ट्रिय धरोहर निर्माणमा प्रयोग हुने हुँदा तिनको ठूलो हिस्सामा कर छुटको लाभ हुनेछ । यो साता प्रस्ताव गरिएको एउटा विधेयक पारित भएमा त्यस्तो रकममा ९० प्रतिशतसम्म कर छुट हुनेछ । 

कैयौँ सरकारी निकायले पनि पुनर्निर्माणमा योगदान गर्ने प्रस्ताव गरेका छन् । यसले पहिलेदेखि कठिन अवस्थामा रहेको कोषमा थप भार पर्नेछ । ओभरन–रोन–आल्पको क्षेत्रीय परिषद्का अध्यक्ष रहेका लेस रिपब्लिकन पार्टीका प्रमुख लोरा भोक्जेले सार्वजनिक कोषबाट २० लाख युरो दिएका छन् । अन्य स्थानीय सरकारले पनि त्यस्तै गरिरहेका छन् । नियत जति नै राम्रो भए पनि नोट्रेडम पुनर्निर्माणको हतारोले नवउदारवाद र भूमण्डलीकरणमा प्रभावित मानिसको सुरक्षामा ढिलासुस्ती गरिरहेको सरकारी प्रवृत्तिलाई अझै लम्ब्याउने खतरा बढाएको छ ।

फ्रान्सका कुलिन गिर्जारघरलाई बचाउने आफ्नो अभियानका लागि भिक्टर ह्युगोको उदाहरण उल्लेख गरिरहेका छन् । तर, तिनीहरू ‘ले मिजारेबल’ पनि ह्युगोले नै लेखेको भन्ने बिर्सन्छन् । यो प्रेषित गरिनुपर्ने दुःखद र खतरनाक संकेत हो । यो पनि अर्को, ठूलो आगो अझै निभाइनुपर्ने पर्खाइमा छ ।

(माइकल फोसेल इकोल पोलिटेक्निकका दर्शनशास्त्रका प्रोफेसर हुन् भने इटिएन ओलिअन नेसनल सेन्टर फर साइन्टिफिक रिसर्चका समाजशास्त्रका एसोसिएट प्रोफेसर हुन्)