१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख ९ सोमबार ०९:३४:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता

कथा दार्जिलिङको

Read Time : > 4 मिनेट
२०७६ बैशाख ९ सोमबार ०९:३४:००

छुदिन काबिमो भारतीय मूलका नेपालीभाषी साहित्यकार हुन् । उनले कथासंग्रह १९८६ का लागि ‘साहित्य अकादमी युवा पुरस्कार २०१८’ प्राप्त गरिसकेका छन् । गोर्खाल्यान्ड आन्दोलनको विषयमा लेखिएको उनको उपन्यास ‘फातसुङ’ भर्खरै प्रकाशित भएको छ । उनीसँग राज सरगमले गरेको कुराकानी :

कुन कुराले गोर्खाल्यान्डमाथि उपन्यास लेख्न लालायित ग-यो ?
मैले लेख्न चाहेको दार्जिलिङको कथा हो । जसलाई मेरा पूर्खाले ‘दार्जयोल्याङ’ अर्थात् ईश्वर बस्ने ठाउँ सम्झिए । उसो त हिमालको कोखमा उभिएको दार्जिलिङ प्रकृतिले बनाएको सुन्दर पेन्टिङ हो । तर, रंगीन दार्जिलिङको आफ्नै ब्ल्याक एन्ड ह्वाइट कथा छ । मैले फातसुङमार्फत त्यही कथा भन्न खोजेको हो ।

ती ब्ल्याक एन्ड ह्वाइट कथा कस्ता हुन् ?
दार्जिलिङभित्र स–साना अनेक दार्जिलिङ छन्, जहाँ आज पनि चैतमा अनिकाल लाग्छ । बर्खामा कालापानीको देश बन्छ । म त्यस्तै दार्जिलिङको मान्छे हुँ । दार्जिलिङसँगै उभिएको कालेबुङ अर्को पहाड हो । म त्यो कालेबुङको पनि सानो कालेबुङमा जन्मिएको हुँ । जहाँका मानिस कालेबुङभित्रै जन्मिएर, कालेबुङ नै नदेखी मर्नुपर्छ । म खासमा यही स-साना कालेबुङको सपनालाई लेख्न चाहन्थेँ, जसलाई राजनीतिले जहिल्यै कुल्चिरहेको हुन्छ । यस्तो राजनीतिक संस्कार सुरु भएको नै पहिलो चरणको असफल गोर्खाल्यान्ड आन्दोलनपछि हो । 

योभन्दा अघि मेरो १९८६ कथासंग्रह आइसकेको छ । त्यो कथा बजारमा आउँदै गर्दा एकजना नेताले मलाई सोधेका थिए, ‘भाइ, १९८६ को आन्दोलनमाथि कथा लेख्नुभएछ । आन्दोलन भोग्ने ता हामी पनि हो । हामीलाई ता सोधेनौ पनि ।’

‘होइन । त्यहाँ एउटै कथा मात्रै आन्दोलनको  छ । त्यो पनि गाउँको हो,’ मैले जवाफ दिइसकेकै थिइनँ । उनले अर्को प्रश्न तेस्र्याइहाले, ‘के भएको रहेछ हौ गाउँमा चैँ त्यस्तो ?’
त्यत्रो आन्दोलन भयो । सैकडौँ मान्छे मारिए । तैपनि, गाउँमा आजसम्म केही भएको रहेनछ । त्यसैले त मैले कथा लेखेँ । मैले हाँस्दै भनिदिएको थिएँ । उपन्यासको जरा पनि त्यही हो । मैले लेख्न चाहेको त्यो दार्जिलिङको कथा हो, जुन दार्जिलिङलाई असफल आन्दोलनहरूले पटक—पटक भत्काइरहेछ । जलाइरहेछ । यो त्यही स-साना दार्जिलिङ र कालेबुङका सपनाहरूको कथा हो । 

तपाईंले बाँचेको समयभन्दा अगाडिको कथा कसरी टिप्नुभयो ?
१९८६ बाट सुरु भएको गोर्खाल्यान्ड आन्दोलन १९८८ मा सकियो । दार्जिलिङ गोर्खा हिल काउन्सिलको सम्झौतामा आन्दोलन सकियो । मेरो आपा र आमाको बिहे पनि त्यही साल भयो । त्यसवेला आमा १४ वर्षको मात्र हुनुहुन्थ्यो । त्यसको ठीक वर्षदिनपछि म जन्मिएँ । मेरो बाल्यकाल त्यही असफल आन्दोलनले निर्माण गरेको राजनीतिक परिवेशबीच हुर्कियो । त्यसैले पनि मलाई आन्दोलन लेख्ने रहर लागेको हुन सक्छ ।

मैले पहिलो चरणको आन्दोलन देखिनँ । तर, दोस्रो चरणको आन्दोलनलाई नजिकबाट हेरेँ । ००७ पछि गोर्खाल्यान्ड आन्दोलन हुँदा म पत्रकारितामा छिरिसकेको थिएँ । आन्दोलनमा आममान्छेले के भोग्छ ? त्योवेला मैले नजिकबाट देख्न भ्याएँ । दोस्रो चरणको आन्दोलन सम्झौतामा पुग्दा १९८६ का संग्रामी नेता छत्रे सुब्बाको रिहाइ भयो । पहिलो चरणको आन्दोलन सम्झौतामा जाँदा उनले सडकमा ओर्लिएर विरोध गरेका थिए । त्यही विरोधका कारण उनले १० वर्ष जेलमा बिताउनुप-यो । 

‘मैले दूध बेचेँ तर रगत बेचिनँ, पानी बेचेँ तर माटो बेचिनँ,’ जेलबाट निस्किनासाथ छत्रे सुब्बाले भनेका थिए । त्यो सुनेपछि मैले पहिलोचोटि अनुभव गरेँ, ‘अब म छत्रे सुब्बामाथि उपन्यास लेख्छु ।’ त्यसपछिका केही दिन मैले उनीसँग बिताएँ । तर, मैले जे सोचेको थिएँ, त्यो भएन । उनले धेरै कुरा भुलिसकेका थिए । मैले सोचेँ, ‘अब छत्रे सुब्बालाई सहयोग गर्ने जिभिसिका कार्यकर्तासँग भेट गर्छु ।’ बल्ल कथाको जरा भेटेँ । हरेक जिभिसी कार्यकर्ताले खुलेर आफ्नो कथा सुनाए । 

दार्जिलिङभित्र स-साना अनेक दार्जिलिङ छन्, जहाँ आज पनि चैतमा अनिकाल लाग्छ । बर्खामा कालापानीको देश बन्छ । म त्यस्तै दार्जिलिङको मान्छे हुँ । दार्जिलिङसँगै उभिएको कालेबुङ अर्को पहाड हो । म त्यो कालेबुङको पनि सानो कालेबुङमा जन्मिएको हुँ । जहाँका मानिस कालेबुङभित्रै जन्मिएर पनि कालेबुङ नदेखी मर्नुपर्छ ।

सपना देख्न र देखाउन थालेका आन्दोलनकारीले तपाईंको समाजलाई कति बदले ?
एक क्षण म काठमाडौंमा भएको किताब विमोचनको कुरा सम्झिन्छु । पुस्तक विमोचनमा प्रिय लेखक खगेन्द्र संग्रौलाले दार्जिलिङको आन्दोलन र नेपालको जनआन्दोलनलाई दाँज्नुभएथ्यो । त्योवेला उहाँले एउटा गज्जबको लाइन भन्नुभयो, ‘यता पनि चटके छन् । उता पनि चटकेहरू रहेछन् । यहाँका चटकेहरूले भन्थे, ‘घरघरमा एलपिजी ग्यास’ दार्जिलिङका चटकेहरूले भन्थे, ‘घरघरमा स्विमिङ पुल ।’ 

खासमा कुरा यस्तै त हो नि । दार्जिलिङमा पहिले गोर्खाल्यान्डको सपना देखाइयो । गोर्खाल्यान्ड भएपछि के हुन्छ त ? अनि अर्को सपना थपियो, ‘घरघरमा स्विमिङ पुल हुन्छ । सुंगुरले धरी नुनियाँ खान्छ ।’

त्यो कसरी झुटो भयो ?
दार्जिलिङमा गोर्खाल्यान्ड भएन । भुइँमान्छेको पहिलो सपनालाई त्यहीँ लात हानियो भनेर मैले भनिरहनु नपर्ला । मेरो गाउँले आजसम्म स्विमिङ पुल देखेको छैन, तर हरेक हिउँदमा पिउने पानीको हाहाकार झेलिरहेकै छ । चैत–वैशाखमा अनिकाल लाग्ने मेरो गाउँमा सुंगुरले के खान्छ ? त्यो तपाईं आफैँ एकचोटि सोच्नुहोस् । अनि अरूलाई पनि भनिदिनुहोस्, ‘कति बदल्यो होला त हाम्रो समाज ?’

फातसुङ तपाईंको आफ्नै बाल्यकालको अनुभूति पनि हो ?
कथा भनेको अलिकति अनुभव र अलिकति कल्पनाले लेखिने हो । फातसुङमा कतैकतै मेरो बाल्यकाल पनि छ । जस्तो त्योवेला हाम्रो गाउँमा जातपातको कुरा निकै बाक्लो थियो । मेरी आमा छेत्रिनी । उनले भागेर लाप्चे केटासँग बिहे गर्दा गाउँमा महाभारत नै भएको थियो । गोरु खाने लाप्चेसँग छेत्रिनीको बिहे भो भनेर समाज नै दुई भाग बनेको थियो । पछि म जन्मिएपछि नै आपा र आमाको समस्या सुल्झिएको रे । कथामा उठाएको जातपातको कुरा त्यही हो ।

अनि रिपदेनको चरित्र लेख्ने वेलामा मैले मेरै भाइ लगेनलाई सोधेको थिएँ, ‘ओइ, गाउँको बदमास केटाहरूको कुरा सुना न । मलाई लेख्नु छ ।’ त्यसले हाँस्दै भनेको थियो, ‘बदमास केटाहरूको कथा किन खोजेको ? मैले गरेको बदमासी मात्रै लेख न । खतरा कथा हुन्छ ।’ रिपदेनको बदमासीमा धेरै लगेन छाएको छ । तोरीबारी, पीपलडाँडा, घिसखोला, किम्बुगैरी भनेको मेरो बाल्यकाल बितेका ठाउँहरू हुन् ।

उपन्यासको नाम लेप्चा भाषामा राख्नु त भयो, यतिमै तपाईंको जातिमाथि न्याय भयो त ?
लेप्चा भनेका दार्जिलिङका आदिम जनजाति हुन् । त्यहाँका हरेक ठाउँ, खोलानालाको नाम लेप्चा भाषामै छ । तैपनि, १९११ सम्म अफिसियल रहेको लेप्चा भाषा आज सरकारी स्कुलमा पढाउनधरी वञ्चित छ । त्यसैले पनि होला, मलाई राजनीति निकै खराब थोक लाग्छ, जसले जहिले बहुमतको कुरा सुन्छ । त्यसैले त म राजनीतिको कथा लेखिरहन चाहन्छु । म त्यही लेप्चा समुदायमा जन्मिएँ, जसको भाषामा अश्लील शब्दसम्म छैन । जुन जातिले शान्तिबाहेक अर्थोक सपना देख्नै सक्दैन । अब सोच्नुहोस्, एउटा किताबको नाम लेप्चा भाषामा लेख्दै मैले लेप्चा संस्कृतिलाई कति पो न्याय दिएँ होला र ? यसको निम्ति मैले केही गर्न सकेको छैन ।

तपाईंको उपन्यासलाई लिएर निकै राम्रो प्रतिक्रिया आइरहेको छ । दार्जिलिङबाट नेपाली साहित्यमा अर्को इन्द्रबहादुर राई जन्मिदै हो ?
मैले सुरुदेखि भन्दै आएको छु, साहित्यमा प्रवास र निवास हुँदैन । त्यसैले मेरो नेपाल आगमनलाई बिरानो नमानिदिनुहोला । म नेपाल छिरेदेखि नै धेरैले मसँग जोडेर इन्द्रबहादुर राईको सन्दर्भ अघि ल्याइरहेका छन् । त्यो गलत हो । इन्द्रबहादुर राई भनेका पहाड हुन् । हामी भनेका थुम्का हौँ । खासमा साहित्य दाँजेर लेखिने कुरा पनि होइन । साहित्य भनेको त लेखकको सिर्जना हो । हरेक सिर्जनाको आफ्नै विशेषता हुन्छ । 

नोर्देनले भोगेको समयलाई आजको दार्जिलिङले कसरी लिन्छ ?
नोर्देनले भोगेको समय भनेको दार्जिलिङले हिजो भोगेको समय हो । आज पनि भोगिरहेको समय हो । खासमा त्यो ८० को दशकमा हुर्किनेहरूले देखेको सबैभन्दा भयानक समय हो । जहाँ आफ्नो सपनाभन्दा धेरै सानो हुन्थ्यो, कसैको ज्यान । जुन सपनालाई आज सत्ताले बेस्मारी गोली खेलिरहेछ । 
त्यो समय भनेको बगरमा लडेको रुखको ठुटोमा लागेको आगोजस्तै हो । जो वेला–वेला निभेकोजस्तो त लाग्छ, तर भुंग्रोको तातो उस्तै रहिरहन्छ । अलिकति हावा चलोस्, धुवाँ बाहिर निस्किहाल्छ । जस्तो कि ठुटो रहुन्जेल आगो निभ्नेवाला छैन । नोर्देनले भोगेको समय खासमा निकै भयानक समय हो ।