मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सम्पादकीय
२०७६ बैशाख ९ सोमबार ०८:२०:००
Read Time : > 1 मिनेट
सम्पादकीय

राष्ट्रिय खेलकुदमा उदेकलाग्दो व्यवस्थापन

Read Time : > 1 मिनेट
सम्पादकीय
२०७६ बैशाख ९ सोमबार ०८:२०:००

नेपालगन्ज र देशका विभिन्न सहरमा अहिले आठौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा चलिरहेका छन् । ५ वैशाखमा उद्घाटन भएको प्रतियोगितामा देशभरका खेलाडीले कडा प्रतिस्पर्धा पनि गरिरहेका छन् । तर, यसअघि भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण पटक–पटक सारिँदै आएको र बल्लतल्ल सुरु गरिएको राष्ट्रिय खेलकुदमा आयोजकको व्यवस्थापन भने उदेकलाग्दो देखिएको छ । पूर्वाधार निर्माणका नाममा राष्ट्रिय खेलकुद परिषद्ले एक अर्बभन्दा बढी खर्चेको छ । परिषद्ले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बनेका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नै भएको दाबी गरिरहेको छ । तैपनि, अझै राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने गरी पूर्वाधार भने तयार भएका छैनन् । 

पौडीतर्फका प्रतिस्पर्धाका लागि पौडी पोखरी तयार भइसकेको दाबी परिषद्ले गरेको छ । तर, यथार्थमा पोखरी भने अझै तयार भइसकेको छैन । पोखरीको अन्तिम निर्माण र पानी भर्नेलगायत काम बाँकी नै छन् । पोखरी निर्माण कार्यले पूर्णता नपाएको हुनाले नै परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ५० मिटरको लङ कोर्समा खेलाउनुपर्ने अन्तर्राष्ट्रिय नियमविपरीत निजी होटेलको २५ मिटरको सर्टकोर्समा प्रतिस्पर्धा गराएको छ । फुटबलका लागि तयार गरिएको मैदानको स्थिति त झनै बेहाल छ । खेलाडीहरू कतिखेर लडेर घाइते हुने हुन्, त्यसको कुनै टुंगो छैन । मैदानका कारण घाइते हुन सक्ने खतरा रहेको हुनाले खेलाडीले जोगिएर खेल्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरूले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न सकिरहेका छैनन् । 

भौतिक पूर्वाधार निर्माणमा राष्ट्रिय खेलकुद परिषद्ले एक अर्बभन्दा बढी खर्चे पनि अझै राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने गरी भौतिक पूर्वाधार तयार भएका छैनन्

परिषद्ले दाङको बेलझुन्डीस्थित रंगशालामा सिन्थेटिक ट्र्याक निर्माण गरिएको दाबी गरेको छ । ट्र्याक निर्माण गरे पनि त्यो अन्तर्राष्ट्रिय मापदण्डअनुरूप छैन । हाइजम्पका लागि २० मिटरको ट्र्याक हुनुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ । तर, बेलझुन्डी रंगशालाको ट्र्याक भने १५ मिटरको मात्र छ । त्यसैले, हाइजम्पका खेलाडीले चौरमा प्रतिस्पर्धा गर्नुपरिरहेको छ । आर्चरी खेलका लागि आर्चरी संघले नै प्रहरीसितको समन्वयमा प्रहरी तालिम केन्द्रभित्र खेल मैदान तयार गरेको छ । परिषद्को कमजोर व्यवस्थापनका कारण खेलपछि विजयी खेलाडीले पदक पाउनै पनि लामो प्रतीक्षा गर्नुपर्ने अवस्थासमेत देखिएको छ । 

नेपाली खेलकुदमा खेल कम, खेलमाथिको राजनीति ज्यादा खेलिन्छ । यसले गर्दा एकातिर नेपाली खेलकुद व्यवस्थित हुनै सकेको छैन भने अर्कातिर यो उँभो लाग्न पनि सकेको छैन । नेपाली खेलकुदका जुनसुकै खेल संघलाई हेर्दा पनि अव्यवस्थै अव्यवस्था मात्र देखिन्छ । नेपाल क्रिकेट संघ लामो समयदेखि आइसिसीको प्रतिबन्धमै छ । कतिपय खेलका खेलाडी विदेशमा प्रतिस्पर्धा गर्न जाँदा उतै लुकिदिन्छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिताका लागि जाने टोलीमा खेलाडीभन्दा पदाधिकारी कैयौँ गुना बढी हुन्छन् । खेलाडीको प्रशिक्षण नियमित हुँदैन । छनोट पारदर्शी हुँदैन । खेलाडीले पाउनुपर्ने सीमित सुविधा पनि वर्षौंसम्म पाउँदैनन् । राष्ट्रियस्तरको आन्तरिक प्रतिस्पर्धा खासै आयोजना हुँदैनन् । भए पनि फितलो व्यवस्थापन र बजेट सकाउन धुनमा त्यस्ता प्रतिस्पर्धाले खेलाडीलाई प्रोत्साहित गर्नुभन्दा पनि निरुत्साहित गरिरहेका हुन्छन् । अहिले आठौँ राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज र दाङलगायत अन्य क्षेत्रका रंगशालामा जेजस्ता अव्यवस्था देखिएका छन्, तिनले खेलाडीलाई हौसला होइन, निराशा दिइरहेका छन् । आठौँ राष्ट्रिय खेलकुदको आयोजकले जति समय र लगानी खर्च गरेको छ, राष्ट्रको खेलकुद विकासमा त्यसको सदुपयोग हुन सकेको छैन । यसतर्फ राज्यको ध्यान जानु जरुरी छ ।