मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ बैशाख ९ सोमबार ०८:०९:००
Read Time : > 1 मिनेट
विश्व

भारतमा आमनिर्वाचन : कांग्रेस-आमआदमी गठबन्धन संकटमा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ बैशाख ९ सोमबार ०८:०९:००

भारत अहिले निर्वाचनमय बनेको छ । निर्वाचनमा विभिन्न राजनीतिक दलबीच गठबन्धन गर्ने होड नै चलेको छ । चुनावी गठबन्धनको पहल गरेका प्रमुख विपक्षी दल भारतीय कंग्रेस र दिल्ली केन्द्रित आमआदमी पार्टीबीच मतभेद बढेको छ । निर्वाचनको मुखमा सिट बाँडफाँडको विवादले कंग्रेस पार्टीलाई धक्का दिन सक्ने विज्ञहरूले बताएका छन् । भारतमा ११ अप्रिलबाट सुरु भएको निर्वाचन मे १९ सम्म चल्नेछ । अहिलेसम्म दुई चरणमा मतदान सम्पन्न भएको छ । ७ चरणको निर्वाचनका लागि ९० करोडभन्दा बढी मतदाता छन् ।

किन महत्व छ गठबन्धन ?
निर्वाचनको पूर्वसन्ध्यामा कंग्रेसले आमआदमीलगायत अन्य विपक्षी र क्षेत्रीय दलसँग चुनावी गठबन्धनको प्रयास गर्दै आएको छ । भारतकै सबैभन्दा पुरानो पार्टी कंग्रेस पहिलेको अवस्थामा तंग्रिन निकै प्रयासरत छ । तर, प्रारम्भिक चुनावी सर्वेक्षणले कंग्रेसले खासै सुधार गर्ने नसक्ने देखाएका छन्, तथापि पछिल्ला विधानसभा निर्वाचन परिणामले कंग्रेसलाई केही ऊर्जा दिएको छ । 

लोकसभामा सबैभन्दा धेरै सांसदको प्रतिनिधित्व हुने उत्तर प्रदेशमा भइरहेको क्षेत्रीय पार्टीको चुनावी महागठबन्धनमा कंग्रेस अटाउन सकेको छैन । दिल्लीमा देखिएको पछिल्लो विवादले कंग्रेसलाई नै असर गर्ने विज्ञहरू बताउँछन् । आफ्ना पुराना साझेदारसँग सहकार्य गर्नसमेत कंग्रेसलाई धौधौ परेको छ । उदाहरणका लागि महाराष्ट्रमा कंग्रेसका एक निष्ठावान् नेता सुजय पटिलका छोरा भाजपा प्रवेश गर्दा कंग्रेसलाई धक्का पुगेको थियो । विज्ञहरूका अनुसार राहुल क्षेत्रीय पार्टीहरूसँग चुनावी गठबन्धन गर्न तयार भए पनि पार्टीभित्रकै केही नेताको दबाबका कारण उनी हच्किएका छन् । 

गठबन्धनबारे राहुल र केजरिवालबीच विवाद
निर्वाचनमा सिट बाँडफाँडको विषयमा प्रमुख विपक्षी भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी र आमआदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालबीच विवाद चर्किएपछि दिल्लीमा यी दुई पार्टीबीचको सम्भावित चुनावी गठबन्धन धरापमा परेको छ । कंग्रेस र आमआदमीबीचको विवाद सामाजिक सञ्जाल ट्विटरमा समेत छताछुल्ल पोखिएको छ ।

किन बढ्यो विवाद ?
तल्लो सदन लोकसभामा दिल्लीबाट ७ जनाको प्रतिनिधित्व हुन्छ । यसअघि कंग्रेसले आमआदमीलाई चार सिट छाडिदिने र आफू जम्मा तीन सिटका लागि प्रतिस्पर्धा गर्ने चुनावी तालमेल गरेको थियो । तर, विगत केही वर्षयता दिल्लीमा आफ्नो दबदबा कायम राखेको आमआदमीले दिल्लीमा आफ्ना लागि पाँच सिट छुट्याइनुपर्ने भन्दै कंग्रेससँग बार्गेनिङ गरेको छ । दुई पार्टीबीच सिट बाँडफाँडमा विवाद बढेपछि पार्टीनेताहरूले ट्विटरमा आक्रोश पोखेका छन् ।

आरोप–प्रत्यारोप
राहुल गान्धीले आमआदमी पार्टीका संयोजक तथा मुख्यमन्त्री अरबिन्द केजरिवालले धोका दिएको आरोप लगाएका छन् । सम्भावित गठबन्धनले युटर्न लिएको उनले टिप्पणी गरेका छन् । तर, केजरिवालले गठबन्धनको सम्भावना जीवितै रहेको भन्दै गान्धीका अभिव्यक्तिले चुनावी तालमेलको वातावरण बिग्रेको धारणा व्यक्त गरेका छन् । ‘तपार्इंको ट्विट पढ्दा यस्तो लाग्छ कि गठबन्धन तपाईंहरूको इच्छा होइन, बरु बहाना मात्र हो । तपाईंका खोक्रा भाषणले मलाई पीडा मात्र दिएको छ,’ केजरिवालले ट्विट गरेका छन् ।