मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख ९ सोमबार ०७:२०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नेकपा स्थापना दिवसमा जिल्ला नेतृत्वको टुंगो

पूर्वएमालेलाई ४४ र पूर्वमाओवादीलाई ३३ जिल्ला, पोलिटब्युरोमा ८१/६६ को भागबन्डा

Read Time : > 2 मिनेट
२०७६ बैशाख ९ सोमबार ०७:२०:००

सत्तारुढ नेकपाले सोमबार ७७ जिल्लामा एकैचोटि अध्यक्ष र सचिवको घोषणा गर्दैछ । एकता सुरु भएको एघार महिनापछि नेकपाले जिल्ला तहको नेतृत्व टुंग्याएको हो । सोमबार नेकपाको ७०औँ पार्टी स्थापना दिवस पनि हो ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले तयार पारेको प्रस्तावलाई पारित गरेसँगै एकीकरणको मूल कामले पूर्णता पाएको हो ।

यसअघि फरक मत राख्दै आएका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्षद्वयले सहमतिमा ल्याएको नेकपा स्रोतले बतायो । सचिवालय बैठकले भूगोलबाहेकका प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका तीन जिल्लासँगै २२ जनसंगठनको एकीकरण भने टुंग्याउन बाँकी छ । एकताको बाँकी काम पनि केही दिनमै सक्ने नेताहरूले बताएका छन् । निर्वाचन क्षेत्र र स्थानीय तहमा भने जिल्लास्थित कार्यदलले नै अधिकांश स्थानमा भागबन्डा गरिसकेका छन् । 

 पूर्वएमालेलाई ४४, पूर्वमाओवादीलाई ३३ जिल्ला 
नेकपा सचिवालयले पूर्वएमालेले ४४ र माओवादीले ३३ जिल्लामा नेतृत्व पाउने गरी भागबन्डा गरेको छ । स्थायी समिति सदस्य संयोजक रहेको प्रदेश तहमा गठित कार्यदललबाट प्राप्त सिफारिसका आधारमा भागबन्डा भए पनि जिल्ला नेताको सूची सार्वजनिक गरिएको छैन । पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा काठमाडौंमा सोमबार सूची सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

 पहिलेकै प्रमुखहरू अध्यक्ष र सचिव, जनप्रतिनिधिलाई पनि जिम्मेवारी 
दुवै पूर्वपार्टीका साबिक जिल्ला कमिटी प्रमुखलाई नै अध्यक्ष र सचिव बनाउने मापदण्ड बनाइएको थियो । ‘७७ ओटै जल्लामा एउटै मापदण्डका आधारमा नेतृत्व टुंग्याइएको छ,’ वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पत्रिकासँग भने, ‘एमालेले नेतृत्व पाएका जिल्लामा साबिक एमालेकै प्रमुख अध्यक्ष र माओवादीको प्रमुख सचिव हुन्छ । माओवादीले नेतृत्व पाएका जिल्लामा माओवादीकै साबिक प्रमुख अध्यक्ष र एमालेका प्रमुख सचिव रहन्छन् ।’ 

यसअघि जनप्रतिनिधिलाई पार्टी जिम्मेवारी नदिने निर्णय थियो । नयाँ मापदण्डले सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखमा निर्वाचित पनि पार्टीका जिल्ला अध्यक्ष र सचिव बन्नेछन् । २२ जनवर्गीय संगठनको नेतृत्व पनि जिल्ला एकीकरणकै मोडलमा टुंग्याइने सचिवालयका एक नेताले बताए ।

 सहमति जुटाउन प्रचण्ड, गौतम र पौडेलको गृहकार्य
फागुन अन्तिमसम्म अध्यक्ष केपी ओली वरिष्ठ नेता नेपालसँग पनि छलफल गर्ने तर सहमतिमा नआए पेलेरै जाने रणनीतिमा थिए । ३० फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको शीर्ष बैठकमा अर्का अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल र वामदेव गौतमले दुई अध्यक्ष र नेपालले बेग्लै छलफल गरेर सहमति नगरेसम्म एकीकरण टुंगिन नसक्ने धारणा राखेका थिए । तर, ओलीले त्यस्तो छलफलमा अर्का नेता ईश्वर पोखरेललाई पनि सामेल गर्नुपर्ने विचार राखेपछि एकता अल्झिएको थियो ।

दुई अध्यक्षले आफ्नो अनुकुलमा सूची बनाएको भन्दै नेपालले समानान्तर सूची बनाउने र बेग्लै भेला गर्ने चेतावनी दिए । चैत तेस्रो सातापछि परिस्थितिले कोल्टे फे-यो । गौतमले ओली र प्रचण्डसँगको बेग्लै छलफलमा पूर्वएमालेभित्र नवौं महाधिवेशनपछि छुट्टाछुट्टै समूह रहेकाले पहिले नेपालसँग सहमति नजुटेसम्म नटुंगिने सुझाब राखे । अनि ओलीले नेपालसँग निरन्तर संवाद अघि बढाए । एकता प्रस्तावको गृहकार्य गरिरहेका महासचिव विष्णु पौडेलले नेपालसँग छुट्टै छलफल गरेर एकता प्रस्तावको गृहकार्य गरे । अर्का अध्यक्ष प्रचण्डले पनि नेपालसँगको सहमतिमा जोड गरेपछि सहमति भएको स्रोत बताउँछ । 
 एक सय ४७ सदस्यीय पोलिटब्युरोमा एमालेलाई ८१, माओवादीलाई ६६
सचिवालय बैठकले चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने प्रस्ताव गरेको छ । मंगलबार बस्ने सचिवालय बैठकबाट पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने तयारी छ । तत्कालीन माओवादीबाट ९९ सदस्यीय सचिवालयका नेतामध्ये वरिष्ठतामा अगाडि रहेका नेता पोलिटब्युरोमा समेटिनेछन् । एमालेबाट तत्कालीन पोलिटब्युरो सदस्य ६२ जना समेटिनेछन् । एमालेको भागबन्डामा परेका बाँकी २० सदस्य दुई पटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा चयन गर्ने तयारी छ ।

अनुहार हेरेर होइन, सिद्धान्तमा टेकेर निर्णय 
 प्रचण्ड

पार्टी एकता तीन महिनामा टुंग्याउने भनेका थियौँ । अहिले १२ महिना बित्न लागेको छ । आज बालुवाटारमा हामीले जिल्ला नेतृत्व निर्माण र जनसंगठनको एकतासँग सम्बन्धित कामको टुंगो लगाएका छौँ । एकतामा धेरै ढिला भइसक्यो । व्यक्तिको अनुहार हेरेर मूल्यांकन गर्ने स्थिति छैन । त्यसैले एउटा सिद्धान्तमाथि टेकेर एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेका छौँ । पार्टी स्थापना दिवसमा सचिवालयले पारित गरेको प्रस्तावको घोषणा हुन्छ र त्यसपछि नेपालमा नयाँ अभियान सुरु हुनेछ । ढिलो भए पनि एकता टुंगियो, विश्वास गर्नुस् ।
एकता कति दिन टिक्ला, हेर्न बाँकी छ 
 श्याम श्रेष्ठ

एकता ५–७ महिनाअघि नै टुंगिसक्नु पथ्र्यो । टुंगिनका लागि टुंगिएजस्तो छ, धेरै कुरा मिलेजस्तो लाग्दैन । सिद्धान्तका आधारमा जिल्ला तहको बाँडफाँट मात्रै भएको छ । दुवैको पृष्ठभूमिलगायत अलग छ । टाउको र शरीरको एकीकरण हुनुपथ्र्यो तर दुवै अलग्गैजस्तो देखिन्छ । मोटामोटी टुंग्यायौँ भन्ने सन्देश दिन खोजेजस्तो देखिन्छ । गणितीय एकीकरण मात्र मिलेको छ । दुवै पार्टी सत्ता स्वार्थले मात्र जोडिएका छन् । प्रचण्ड असन्तुष्टि व्यक्त गर्दै हिँडिरहनुभएको छ । सरकारमा पूर्वमाओवादीतर्फका मन्त्री असन्तुष्ट देखिन्छन् । एमालेतिरका पनि अधिकार ज्यादै केन्द्रीकरण भएकोमा असन्तुष्ट देखिन्छन् त्यसकारण एकता कति दिन टिक्ने हो हेर्न बाँकी छ ।