मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख ९ सोमबार ०६:५८:००
Read Time : > 1 मिनेट
प्रदेश

पुनर्जीवन दिँदै सशस्त्रको गोताखोर 

६ सय आठजनाको उद्धार, कुरिनटारमा तालिम केन्द्र

Read Time : > 1 मिनेट
२०७६ बैशाख ९ सोमबार ०६:५८:००

बर्दिया कोडियाघाटस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका कैलालीका १९ वर्षीय प्रज्ज्वल कोइराला र बाँकेका १८ वर्षीय दीपेन्द्र कार्कीको शव ३ वैशाखमा चितवन कुरिनटारबाट खटिएको सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो । गोताखोरले नारायणी नदीमा डुबेका एक युवाको केही दिनअघि उद्धार ग¥यो । तनहँु दमौलीमा पनि उद्धार गरिएको प्रहरीले जनाएको छ ।

चितवनको कुरिनटारमा तालिम केन्द्र रहे पनि गोताखोरले सातवटै प्रदेशमा पुगेर उद्धारको काम गरिरहेको तालिम केन्द्रका समादेशक एसएसपी किशोर प्रधानले बताए । सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका गोताखोरले हालसम्म ६ सय आठजनाको उद्धार गरेका छन् । यस अवधिमा दुई सय ५० जनाको शव पत्ता लगाएर आफन्तलाई जिम्मा लगाइएको उनले बताए । ‘तालिमप्राप्त गोताखोर भेलबाढी, रातदिन, वर्षायाम नभनी निरन्तर उद्धारमा लाग्ने गरेका छन’ प्रधानले भने ।

गाडी दुर्घटनामा सामान्य उद्धार देखि नदीभित्र पसेर जटिल किसिमका उद्धारसमेत भइरहेको प्रधानको भनाइ छ । ‘ठूला र पटक–पटक दुर्घटना हुने पृथ्वी राजमार्ग क्षेत्र, मुग्लिन नारायणगढ क्षेत्रमा बढी उद्धारका काम भएको छ’ उनले भने । नजिकैको त्रिशूली नदीमा उनीहरूले उद्धार अभ्यास गर्ने गरेका छन् । 
आपतमा पर्दा मानिसको उद्धार मात्र नभई अन्य प्राकृतिक विपत्तिमा आवश्यक सबैखालको सहयोगमा खटिने गरेको उनको भनाइ छ । प्रधानका अनुसार विभिन्न घटनामा प्राकृतिक र भवितव्य परी जोखिममा रहेकाहरूको उद्धार गरिएको छ । सात वर्षअघि स्थापना भएको तालिम केन्द्रमा विपद् व्यवस्थापनसँग सम्बन्धित व्यावहारिक तथा सैद्धान्तिक शिक्षा दिइन्छ । 

खोज तथा अनुसन्धान व्यवस्थित गर्न बंगलादेशमा गोताखोर तालिम लिने गरेको उनले बताए । मान्छेले मात्रै गर्न नसक्ने कतिपय खोजका काममा कुकुरलाई तालिम दिई खटाउने गरिएको कार्यालयले जनाएको छ । 
सरकारले २२ मंसिर ०६८ मा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गरेको थियो । २७ जेठ ०७५ को निर्णयबाट विपद् व्यवस्थापन तालिम केन्द्रलाई सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय बनाइएको प्रधानले बताए ।

आत्मरक्षा तालिम 
समादेशक प्रधानले प्लस टु अध्ययनरत छात्रालाई लक्षित गरी आत्मरक्षा तालिम दिने तयारीसमेत गरेको बताए । तालिम केन्द्रको भ्रमणमा सहभागी सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गाउँपालिका अध्यक्ष गीता गुरुङलाई तामिल केन्द्रले गरेको कामबारे प्रधानले जानकारी गराएका थिए । प्रधानले उद्धारसहित पछिल्ला सामाजिक विकृतिका घटना रोक्न छात्राकेन्द्रित आत्मरक्षा तालिम दिन लागिएको बताएका हुन् ।