मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एसपी दिनेश मैनाली
लक्ष्मी काफ्ले
२०७६ बैशाख ९ सोमबार ०६:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

हिरासतमा नाबालक मृत्यु प्रकरण : प्रदेश प्रहरी कार्यालयद्वारा छानबिन समिति गठन

Read Time : > 1 मिनेट
लक्ष्मी काफ्ले
२०७६ बैशाख ९ सोमबार ०६:४४:००

गैरकानुनी हिरासतमा नाबालक किरण कार्कीडोली दर्जीको मृत्यु भएको विषयमा अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ । प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले जानकारी दिए । 

समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका डिएसपी रमेश देव र इन्स्पेक्टर देवेन्द्र पासवान छन् । ‘यो समिति बनेको तीन दिन भयो,’ डिआइजी रिजालले भने, ‘समितिले छानबिन गरेर मलाई प्रतिवेदन बुझाउँछ, समितिले घटनाका सम्बन्धमा भएका कमीकमजोरीबारे अध्ययन गर्छ, त्यसमा केही गल्ती भेटिए दोषीलाई कारबाही गरिनेछ ।’

यता, जिल्ला प्रहरी कार्यालय झापाले डिएसपी महेन्द्र श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्काले पनि आफूखुसी एउटा छानबिन समिति बनाएका छन् । यसरी प्रहरीभित्रै छुट्टाछुट्टै तीनवटा छानबिन समिति बनेको छ । 
नाबालक दर्जीको मृत्यु भएको एक सातापछि झापाका प्रमुख जिल्ला अधिकारीले बल्ल चासो दिएका छन् ।

घटनाको एक साता बितेपछि मात्र प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चासो व्यक्त गरेका हुन् । शनिबार साँझ उनले जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेर सुझाब लिएका छन् । आइतबार दिउँसो प्रजिअ दाहालले मानवअधिकारकर्मी र दलित अधिकारकर्मीसँग छलफल गरेका थिए । 

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा दाहालले घटनाको छानबिन गर्न जिल्ला प्रशासनको नेतृत्वमा एउटा समिति बनाउने प्रस्ताव गरेका थिए । प्रस्तावमा अधिकारकर्मी सहमत पनि भए । तर, छानबिनमा असर पर्ने भन्दै पहिले इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्कालाई निलम्बन गर्नुपर्ने उनीहरूले माग राखेपछि छलफल निष्कर्षविहीन बनेको हो ।

‘निलम्बनको कुरा मेरो अधिकारभन्दा बाहिर छ, म सक्दिनँ,’ छलफलमा प्रजिअ दाहालले भने, ‘यस विषयमा गृह मन्त्रालयबाटै कुरा आउनुपर्छ ।’ छलफल विनानिष्कर्ष टुंगिएको दलित अधिकारकर्मी वीरबहादुर दर्नालले बताए । छलफलका क्रममा दलित अधिकारकर्मीले जीवित छँदा बालकको ठेगाना वास्ता नगर्ने र मृत्युपछि अभिभावक खोजेर जबर्जस्ती शव जिम्मा लगाइएकोप्रति आपत्ति जनाएका थिए । दर्नालका अनुसार सोमबार दिउँसो फेरि राजनीतिक दल, मानवअधिकारकर्मी, दलित अधिकारकर्मी र प्रशासनको संयुक्त छलफल हुनेछ ।

झुन्डिएर किरणको मृत्यु : एसपी दिनेश मैनाली

कमला दुलालको जाहेरीपछि किरण कार्कीडोली दर्जी  २९ चैतमा पक्राउ परेका हुन् । शुक्रबार परेकाले त्यस दिन म्याद थप गर्न सकिएन । त्यसपछि लगातार तीन दिन बिदा प-यो । हिरासतमा रहेका उनीको मृत्यु भएको खबर आएपछि हामीले वडाध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलायौँ । अन्य जनप्रतिनिधि पनि आए । उहाँहरूको रोहवरमै मुचुल्का उठ्यो । 

मृत शरीर पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगियो । त्यसपछि मात्र मृतकको परिवार खोजी भयो । उनको घर सीमापारि भन्ने सूचना आयो । सोहीअनुसार आफन्त खोज्न टोली खटियो । उनका आफन्त नेपालमा नै रहेको खुल्यो । प्रहरीले उनीहरूलाई शव जिम्मा लगायो । किरणको दाहसंस्कार भइसकेको छ । 

अहिले अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टमा प्रस्टसँग ‘ह्याङ्गिङ’ उल्लेख छ । घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट एसएसपी किशोरकुमार दाहाल र जिल्लाकै डिएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा छुट्टाछुट्टै छानबिन टोली पनि गठन भएको छ । थप प्रतिवेदन त्यसपछि पनि आउला । यदि प्रतिवेदनले घटना यातनाकै कारण भएको प्रमाणित गर्छ भने जोकोही भए पनि दोषीलाई कारबाही हुनुपर्छ र हुन्छ पनि ।