मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
इन्द्रबहादुर थापा
२०७५ पौष ११ बुधबार ०६:२२:००
Read Time : > 2 मिनेट
समाचार

माकुराको जालोले भरियो रेसम विकास केन्द्र

Read Time : > 2 मिनेट
इन्द्रबहादुर थापा
२०७५ पौष ११ बुधबार ०६:२२:००

पनौती नगरपालिका–१० खोपासीमा रहेको नेपालको एक मात्रै रेसमखेती विकास केन्द्र माकुराको जालोले भरिएको छ । ०७२ को भूकम्पले क्षति पु-याएको केन्द्रको भवन पुनर्निर्माण हुन नसक्दा माकुराले घर जमाएको हो ।  केन्द्रको मुख्य भवनबाहेक अन्यमा भित्र पस्ने अवस्था नै नरहेको केन्द्रका कार्यालय प्रमुख चुडामणि भट्टराईले बताए । जसका कारण केन्द्रले विदेशबाट ल्याएको उन्नत जातको रेसम संरक्षण र रेसम किराको फुल उत्पादनमा समस्या भएको उनले बताए । कृषकलाई रेसम किरा वितरण गर्ने एक मात्रै निकाय यही हो । भूकम्पले चिराचिरा परेको भवनमा कार्यालय सञ्चालन गर्नुपरेको उनले गुनासो गरे । यद्यपि, जीर्ण भवनबाटै किरा संरक्षण, भण्डारण र अन्डा उत्पादन गर्दै आएको कर्मचारी बताउँछन् । 


सुरु–सुरुमा विभिन्न फार्महरू र कृषकबाट रेसमका कोकुनहरू खरिद गर्ने र त्यही धागो कात्ने र बेच्ने भन्ने उद्देश्यले केन्द्र स्थापना भएको थियो । तर, पछि किसानले आफैँ धागो कात्न थालेपछि केन्द्रले बन्द गरेको भट्टराईले बताए । सो काम बन्द गरेपछि धागो प्रशोधन इकाइको भवन माकुराको जालो र झारले घेरेको उनको भनाइ छ । भूकम्पपछि त कोही पनि भित्र नगएको उनले बताए । 

 रेसम विकासको  राष्ट्रिय फार्म
रेसम विकास केन्द्र देशकै मुख्य केन्द्र पनौती नगरपालिकाको रेसम विकास केन्द्र खोपासी हो । व्यवसायिक रूपमा रेसम खेती गर्ने भन्दै सरकारले ०३२ सालमा सो केन्द्र स्थापना गरेको थियो । सो केन्द्रसँग आबद्ध रहने गरी नेपालका विभिन्न ९ स्थानमा फार्म स्थापना भएका थिए । यी फार्ममा चार हजार किसानलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । सो केन्द्रले विदेशबाट आयात गरेका रेसमका विभिन्न ३५ किसिमका किरालाई संरक्षण र उपयोग गर्दै आइरहेको छ । 

कार्यालय प्रमुख भट्टराईका अनुसार केन्द्रमा ३५ जातका रेसम किरा पाल्ने र ती जातबाट विभिन्न वर्णशंकर फुलहरू, अन्य ९ वटा फार्म केन्द्रहरूले उत्पादन गर्ने रेसम र चार हजार जति किसानले उत्पादन गर्ने रेसम कोया उत्पादन गर्नेहरूका लागि फुल वितरण गर्ने गरिन्छ ।  त्यसका लागि तापक्रम अनुकूल कुन जातको किरा कुन ठाउँमा खेती हुन सक्छ भनेर क्रसिङ गरेर फुलहरु उत्पादन गर्ने र वितरण गर्ने कामसमेत केन्द्रले गर्दै  आएको छ ।सबै जातका किरालाई संरक्षण गर्नुपर्ने भएकाले किम्बुको पात ख्वाइरहनुपर्ने र त्यसका लागि वर्षैभरि किम्बुको पात आवश्यक पर्नेछ । केन्द्रले एक सय रोपनी क्षेत्रफलमा किम्बुको बगैँचा पनि सञ्चालन गरिरहेको उनले बताए । 

उत्पादन र वितरण गर्नुपर्ने केन्द्र सुनसान
सुरुमा सरकारीभन्दा परियोजना मोडलमा केन्द्रले काम गरेको थियो । स्थापना कालमा फार्म र केन्द्रहरूमा स्रोत र साधन प्रशस्त थिए । किसानहरू पनि रेसम खेतीमा आकर्षित भएका थिए । सहयोगी संस्थाहरूले हात झिक्दै गएपछि संस्थाको क्षमता घट्दै गएको हो । नेपाल सरकारको बजेटबाट मात्रै कार्यक्रम सञ्चालन हुँदै गएपछि चर्चा घटेको केन्द्रले जनाएको छ । अहिले केन्द्रले फार्म व्यवस्थापन, किरा संरक्षण र त्यसको भण्डारण मात्रै गरिरहेको कार्यालय प्रमुख भट्टराईले बताए । परियोजनाले हात झिकेपछि अहिले किसान लक्षित अनुदानका कार्यक्रमहरू र नमुना फार्म स्थापना गर्ने लक्ष्य नभएको उनको भनाइ छ । स्थापनापछि ०४६÷४७ सम्म कोरियन संगठन कोइका र जापानी सहयोग नियोग (जाइका) ले केन्द्रलाई सहयोग गरेका थिए । ती सहयोगी निकायले साथ छोडेपछि नेपाल सरकारको सहयोगमा सञ्चालन हुँदै आएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । १७ जनाको दरबन्दी रहेको सो केन्द्रमा अहिले १६ जना कर्मचारी कार्यरत छन् । काभ्रेमा दाप्चा, महादेवस्थान, कोसीपारिलगायतका क्षेत्रमा रेसम खेती गरिँदै आएको छ ।