मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख ७ शनिबार १५:१५:००
Read Time : > 1 मिनेट
प्रदेश

कन्काईमा ४ हजार घनमिटरको वायोग्यास प्लान्ट बन्ने

Read Time : > 1 मिनेट
२०७६ बैशाख ७ शनिबार १५:१५:००

झापाका तीनवटा नगरपालिका फोहोरलाई मोहोर बनाउने अभियानमा लागेका छन् । नगर क्षेत्रबाट निस्कने फोहोर प्रशोधन गरी त्यसबाट वायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ बिर्तामोड, कन्काई र अर्जुनधारा नगरपालिकाले संयुक्त प्रयास थालेका हुन् ।

तीन नगरपालिकाको अग्रसरतामा कन्काई बिर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोर व्यवस्थापन लिमिटेड बनाइएको छ । शनिबार झापाको कन्काई नगरपालिकामा अर्थमन्त्री डा. युवराज खतिवडाले वायोग्यास प्लान्टको शिलान्यास गरे । 

कार्यक्रममा बोल्दै डा. खतिवडाले देशलाई उर्जामा आत्मनिर्भर बनाउने सरकारी योजना तीव्र रुपमा अघि बढेको बताए । ‘नवीकरणीय उर्जामा सबै नेपालीको पहुँच पु¥याउने लक्ष्यका साथ सरकारले वायोग्यास र बिजुली उत्पादनमा जोड दिएको छ’, अर्थमन्त्री खतिवडाले भने, ‘एलपी ग्यासको आयात घटाउने सरकारको योजना छ, यसका लागि नवीकरणीय उर्जामा लगानी बढाउँदै लैजान्छौँ ।’

सरकारले अहिले एलपी ग्यासमा दुई सय रुपैयाँ अनुदान दिइरहेको छ । एलपी ग्यासको सट्टा वायोग्यास उत्पादनमा सरकारले नवीकरणीय उर्जा प्रवद्र्धन केन्द्रमार्फत् अनुदान दिने अर्थमन्त्री खतिवडाले बताए । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार १६ करोड ७० लाख रुपैयाँको लागतमा वायोग्यास निर्माण हुन लागेको हो । ‘वायोग्यास प्लान्ट ४ हजार घनमिटर क्षमताको हुनेछ’, पोखरेलले भने, ‘यसका लागि अरु दुईवटा नगरपालिका पनि सहकार्यका लागि तयार हुँदैछन् ।’

वायोग्यास प्लान्टबाट उत्पादित ग्यास नौ सय घरधुरीमा पाइप लाइनका माध्यमबाट बिक्री गर्ने जनाइएको छ । पाइप लाइनबाहेक प्लान्टको लागत १६ करोड ७० लाख रुपैयाँ हो । नेपालमै पहिलो दिगो फोहोरमैला व्यवस्थापन गर्ने नगरका रुपमा तीनवटा नगरपालिकाले थालेको अभियान अरुतिर पनि विस्तार गर्नुपर्ने बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं बताउँछिन् । ‘बाहिरबाट आयात हुने एलपी ग्यासको प्रयोगलाई घटाउन सकियो भने पनि व्यापार घाटा कम हुन्छ’, उनले भनिन्, ‘यसका लागि सबै स्थानीय तहले चासो देखाउनुपर्छ ।’ उनले फोहोर फाल्दा कुहिने र नकुहिने छुट्याएर फाल्न स्थानीयलाई आग्रह गरिन् ।

प्लास्टिकजन्य फोहोरलाई पनि प्रशोधन गर्ने तयारी छ । प्रदेश र स्थानीय सरकार तथा कम्पनीको साझेदारीमा पाइरोलाइसिस प्लान्टको स्थापना गरी दीगो व्यवस्थापन गर्ने लक्ष्य राखिएको कन्काई बिर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोर व्यवस्थापन लिमिटेडका अध्यक्ष मिनाल तिम्सिनाले बताए ।
अहिलेसम्म शेयर सदस्यबाट ८८ लाख २३ हजार रुपैयाँ संकलन भएको कम्पनीका सदस्य सुवास भट्टराईले जानकारी दिए ।