मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख ७ शनिबार ०७:१७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

केन्द्रीय समिति छैन : नेविसंघ स्थापना दिवस मनाउँदै 

Read Time : > 2 मिनेट
२०७६ बैशाख ७ शनिबार ०७:१७:००

नेपाल विद्यार्थी संघलाई कांग्रेसको नर्सरी मानिन्छ । हाल कांग्रेसको नेतृत्वमा रहेका अधिकांश नेता नेविसंघकै उत्पादन हुन् । यस्तो गौरवशाली इतिहास बोकेको नेविसंघ अहिले भद्रगोल अवस्थामा छ । ४९औँ स्थापना दिवस मनाइरहँदा संघको केन्द्रीय कार्यसमितिसमेत छैन । तीन महिनाअघि नै निर्वाचित केन्द्रीय समितिको कार्यकाल समाप्त भएको हो । केन्द्रीय कार्यसमितिविहीन अवस्थामै संघले स्थापना दिवस मनाएको छ ।

 भद्रगोल नेविसंघ
१२औँ महाधिवेशन गर्न नसकेपछि तत्कालीन अध्यक्ष नैनसिंह महरले २८ माघमा राजीनामा दिएका थिए । नियमित दुई वर्ष र थप गरिएको पाँच महिनामा पनि महाधिवेशन गर्न नसकेकाले महरले म्याद सकिइसकेपछि राजीनामा दिएका थिए । पार्टीले समयमा विधान नदिँदा आफूले महाधिवेशन गर्न नसकेको उनको प्रस्टोक्ति थियो । तर, महरले राजीनामा दिएपछि तत्काल महाधिवेशन गर्न तदर्थ समिति गठन गर्ने तयारी भए पनि दुई महिनाभन्दा बढी बितिसकेको छ । नेविसंघको कार्यसमिति नभए पनि शुक्रबार स्थापना दिवस मनाइयो । जसमा माउ पार्टीका सभापति, महामन्त्रीलगायतका शीर्ष नेता सहभागी भए ।

तदर्थ समितिका लागि आश्वासन
कांग्रेस सभापति शेरबहादुर देउवाले छिट्टै तदर्थ समिति गठन गर्ने आश्वासन दिएका छन् । नेविसंघको ४९औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले ३२वर्षे उमेरहदको विषयलाई नेविसंघकैं नेताहरूसँगको छलफलबाट टुंग्याउने पनि उनले बताए । अघिल्लो कार्यसमितिले समयमा १२औँ महाधिवेशन गर्न नसकेपछि नेविसंघको कार्यसमिति स्वतः भंग भएको छ । 

सभापति देउवाले केपी ओली नेतृत्वको सरकारले एउटै पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारले जनहितमा कुनै पनि काम गर्न नसकेको आरोप लगाएका हुन् । सरकारका कामकारबाही उल्टै आलोचित भएको भन्दै खबरदारी गर्ने वेला आएको उनले बताए । ‘निर्मला पन्त हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ,’ देउवाले भने, ‘अर्कोतिर महँगी बढेको छ, कर बढाएको छ, चारैतिर सरकारको कामकारबाही अन्याय र अत्याचारतर्फ देखिँदा नेविसंघ अब जाग्नुपर्ने वेला आएको छ ।’ सरकारविरुद्ध सशक्त भएर उभिन देउवाले नेविसंघका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

महामन्त्री डा. शशांक कोइरालाले सरकारको काम प्रभावकारी नभएको टिप्पणी गरे । सरकारलाई ‘कुरा गर्ने तर काम नगर्ने’को उपमा दिँदै कोइरालाले सरकारको गलत रबैयाविरुद्ध उत्रिन नेविसंघका नेता–कार्यकर्तालाई निर्देशन दिए । नेविसंघमा छिटोभन्दा छिटो तदर्थ समितिको आवश्यकता भएको उनको भनाइ थियो । 

नेता प्रकाशमान सिंहले सरकार गलत बाटोतर्फ अग्रसर रहेको भन्दै कम्युनिस्ट अधिनायकवादलाई परास्त गर्न कांग्रेस र नेविसंघ तयार हुुनुपर्ने बताए । सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताले अब छिट्टै नेविसंघको कार्यसमिति गठन गरेर संगठन विस्तारमा लाग्नुपर्ने बताएका थिए । 

गगन थापाको व्यंग्य
कांग्रेस युवा नेता एवं नेविसंघका पूर्वमहामन्त्री गगन थापाले संघको कार्यसमिति नभएकोबारे व्यंग्यमिश्रित टिप्पणी गरेका छन् । ‘आज नेपाल विद्यार्र्थी संघको स्थापना दिवस । आफ्नै अक्षमता र अविवेकपूर्ण कामहरूले गर्दा गौरवमय र क्रान्तिकारी विगत भएको यो संगठनमाथि आज अनेकौँ प्रश्न उठ्ने अवस्थामा पु‍र्‍याएका छौँ । के हामी आफ्नो कार्यशैलीको निर्मम समीक्षा गर्दै आफू बदलिन र यसलाई बदल्ने प्रण गर्न तयार छौँ ?’ थापाले शुक्रबार फेसबुकमा स्टाटस लेखेका छन् । 

नेविसंघको केन्द्रीय समिति नभएको र विद्यार्थी नेताहरू विभाजित भएको अवस्थामा तदर्थ समिति गठनमा पार्टी सभापति र महामन्त्रीको ठोस प्रतिबद्धता आएन, आन्दोलनमा लाग्न निर्देशन दिए

 

असन्तुष्ट पक्षको खुला बहस
नेविसंघको असन्तुष्ट पक्षले भने स्थापना दिवसलाई खुला बहस कार्यक्रम गरी मनाएको छ । कृष्णप्रसाद सिटौला समूहले देशैभर खुला बहस अभियानस्वरूप कार्यक्रम गरेको जनाएको छ । नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले खुला बहस देशैभर गरिने जानकारी दिए ।

कार्यक्रममा निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले अब नेविसंघलाई पुनर्जीवन दिनुपर्ने वेला आएको बताए । केन्द्रीय सदस्यहरू सुशील भट्ट, शैलेन्द्र गौडेललगायतले माउ पार्टी कांग्रेस कमजोर हुँदा नेविसंघ पनि कमजोर हुन पुगेको टिप्पणी गरेका थिए । सरकारविरुद्ध खबरदारी गर्न बलियो नेविसंघ आवश्यक भएको उनीहरूको भनाइ थियो । 

सभापति दोषी अरू मतियार : गुरुराज घिमिरे
नेविसंघ कांग्रेसको सबैभन्दा ठूलो, संगठनमा प्रभाव राख्न सक्ने र इतिहासमा धेरै योगदान पु¥याएको संगठन हो । प्रतिपक्षीका रूपमा कमजोर अवस्थामा पार्टीको सबैभन्दा प्रभावकारी भ्रातृसंस्थालाई बलियो बनाएर परिचालन गर्नुपर्ने हो । चुनौतीपूर्ण कालखण्डमा भए पनि नेविसंघ गठनको आवश्यकता बुझ्न नसक्नु नेतृत्वको असाध्यै ठूलो कमजोरी हो । तदर्थ समिति गठन नगरेकोमा सभापति मुख्य दोषी हुन् । मौन बस्ने पनि मतियार हुन् । 

पार्टीको अनावश्यक हस्तक्षेपको सिकार : प्रदीप पौडेल
पार्टीले अनिवार्य रूपमा छिटो गर्ने कामलाई प्राथमिकतामा राख्दैन, अरू कुरामा मात्र ध्यान दिन्छ । पुरानो समितिलाई विघटन गर्नुपर्ने जरुरी थिएन । विघटन गरेपछि कि तत्काल तदर्थ समिति नबनाउनुको अर्थ पार्टीका नेताहरूको अनावश्यक चासो छ भन्ने प्रस्ट देखिन्छ । नेविसंघ आफैँले पनि पार्टीको हस्तक्षेपबाट मुक्त बनाउन प्रयास गरेन ।