१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल
२०७६ बैशाख ७ शनिबार ०६:४४:००
Read Time : > 8 मिनेट
मुख्य समाचार

सिर्जनशील युवा डिजिटल प्लेटफर्ममा

Read Time : > 8 मिनेट
नवीन अर्याल
२०७६ बैशाख ७ शनिबार ०६:४४:००

न पारिवारिक बिरासत, न ठूलो पुँजी । सिर्जनशील युवाहरूले डिजिटल प्लेटफर्ममा आफ्नो भविष्य कोर्दै छन् :

बिजनेसमा नयाँ ‘आइडिया’ लिएर आएका युवाले आमजीवनशैली नै सहज बनाइदिएका छन् । कोही लुगा धोएर, कोही फोहोर उठाएर त कोही घर–घरमा खाना–खाजा पुर्‍याएर चर्चामा छन् । स्मार्ट जमानामा, उनीहरूको काम पनि स्मार्ट छ, त्यसैले व्यवसायमा जम्दै छन् । 

बसको टिकट काट्न बसपार्कसम्म पुग्नुपर्दैन । बिजुली, पानी, टेलिफोन, स्कुल तथा कलेजको शुल्क घरबाटै भुक्तानी गर्न सकिन्छ । भोक लाग्दा रेष्टुरेन्टको परिकार खान रेस्टुरेन्टसम्म पुग्नै पर्दैन । पैसा निकाल्न तथा कसैलाईं पठाउन चेक बोकेर बैंकमा लाइन लाग्नुपर्दैन । हातमा स्मार्ट फोन छ भने जहाँ बसेर यी सब काम केबल एक क्लिकमा सम्भव भएको छ, युवा उद्यमीको फरक प्रयोगले । 

सागर श्रेष्ठ, रविन गिरी, विनय राउत, आयुस कसजु, वसिमअक्रम खान, नीरज बस्नेत, दीपकमल भुसाल 
पाइला टेक्नोलोजी

केही दिनअघि झम्सीखेलस्थित पाइला टेक्नोलोजीको कार्यालयमा पुग्दा १० भन्दा बढी युवा वैज्ञानिक धमाधम रोबोट बनाउँदै थिए । उनीहरूले तयार गर्दैै गरेको रोबोट कीर्तिपुरस्थित बिपी कोइराला साइन्स म्युजियमका लागि हो । म्युजियममा आउने दर्शकलाई रोबोटले गाइड गर्नेछ । 

पुल्चोक इन्जिनियरिङ कलेजका रोबोटिक्स विद्यार्थीले स्वदेशमै रोबोट उत्पादन सुरु गरेका हुन् । ०७३ मा पाइला टेक्नोलोजी स्थापना गरी रोबोट उत्पादनमा लागेको बताउँछन् रविन गिरी । यो कम्पनीले सुरुमा धाराको अटोमेटिक सिस्टम बनायो । गिरी भन्छन्, ‘अहिले रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेको छौँ ।’

नेपालमा सियोसम्म नबन्ने कथन छ । तर, युवाहरू नेपालमै रोबोट बनाएर निर्यात गर्ने सोचमा छन् । उनीहरूको पहिलो रोबोट ‘परी’ एसबिआई बैंकको दरबारमार्ग शाखामा छ । बैंकले अर्को अपग्रेडेड रोबोट ‘परी २.०’ पनि किनेर लगेको पाइला टेक्नोलोजीका अर्का वैज्ञानिक दीपकमल भुसाल बताउँछन् । यो समूहले उत्पादन गरेको रोबोट प्रवद्र्धन गर्न दरबारमार्गमा रेस्टुरेन्ट खोलेको छ । नौलो रेस्टुरेन्टमा रोबोट ‘जिन्जर’ले वेटरको काम गर्छ । 

सात वैज्ञानिक रहेको समूहले अहिलेसम्म चारवटा रोबोट बनाइसक्यो । एउटा रोबोट तयारी अवस्थामा छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर अन्य रोबोट बनाउँदै छन् । विभिन्न वेशभूषामा सजिएका रोबोटले पर्यटकलाई सेवा र सत्कार गर्नेछन् । पाइला टेक्नोलोजीले निर्माण गरेको रोबोटको माग विदेशबाट समेत हुन थालेको छ । ‘हामी छिट्टै रोबोट निर्यात गर्दै छौँ,’ रविन भन्छन्, ‘हामी अत्याधुनिक रोबोट बनाउन सक्षम छौँ ।’ माग बढ्दै गए नेपालमा रिसर्च र चीनमा उत्पादन गर्ने योजनामा युवा वैज्ञानिकहरू छन् । ‘हामी रोबोटमा अवसर खोजिरहेका छौँ । नेपाली इन्जिनियरलाई देशभित्रै काममा लगाउने सोच छ,’ आयुष कसजू थप्छन् ।

विश्वास ढकाल
इ–सेवा फोनपे प्रालि

इ–सेवाले अनलाइन कारोबारको रकम भुक्तानीमा महŒवपूर्ण भूमिका खेल्यो । घरमै बसेर अनलाइनमार्फत गरिने किनमेलको रकम भुक्तानी इसेवाले सहज बनाइदिएको छ । अरू विभिन्न सेवाहरूको बिल भुक्तानी पनि इसेवाबाटै गर्न सकिन्छ । इसेवाले अनलाइन कारोबार र बिल भुक्तानीको जग बासाल्ने काम गरिदियो । मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने इसेवा धेरै नेपालीको दैनिकीस“ग जोडिँदै छ ।

ग्राहकले बैंक खाताबाट इसेवाको अकाउन्टमा रकम जम्मा गर्न सक्छन् । इसेवाबाट बिल भुक्तानी, पैसा पठाउन वा पाउन सकिन्छ । विश्वास ढकालको टिमले सन् २०१० जनवरीमा सुरु गरेको इसेवाका करिब १५ लाख ग्राहक पुगेका छन् । जसमध्ये मोबाइल एप्सबाट कारोबार गर्नेको संख्या १० लाख पुगेको छ । इसेवाका जोन तथा प्वाइन्ट ५० हजार पुगेका छन्, जहाँबाट देशभरका करिब ७५ लाखभन्दा बढीले सेवा लिइरहेका छन् ।

इसेवाबाट टेलिकम कम्पनी, इन्टरनेट, सिनेमा हल, एयरलाइन्स, स्कुल÷कलेज, बिजुली, खानेपानी, यातायातलगायत दुई सय ५० भन्दा बढी सेवाहरू आबद्ध छन् । व्यस्त जीवनशैलीमा घरबाटै अनलाइन कारोबार र बिल भुक्तानी गर्न पाउ“दा धेरैको दैनिकी सहज बनेको छ ।
 
रवि सिंघल, प्रकाश न्यौपाने
सारथि क्याब

विदेशतिर सार्वजनिक यातायात निकै व्यवस्थित छ । अमेरिकामा उबर, भारतमा ओलाजस्ता कम्पनीले सार्वजनिक यातायातमा ठूलो क्रान्ति ल्याएका छन् । तर, नेपालको सार्वजनिक यातायातमा अनगिन्ती समस्या छन् । यात्रु ठगिँदै आएका छन् । अत्यधिक ठगी त ट्याक्सीमा छ, मिटरमा सेवा दिन मान्दैनन् । 

त्यसैले, आइटीका विद्यार्थी रवि सिंघल र प्रकाश न्यौपाने ट्याक्सी सेवालाई व्यवस्थित गर्न कस्सिए । जन्माए, सारथी क्याब । उनीहरूले २०१७ अगस्टदेखि काठमाडौं उपत्यकामा ट्याक्सी सेवा प्रदान गर्दै आएका छन् । सारथी क्याब ट्याक्सी उपलब्ध गराउने प्लेटफर्म हो । सारथीका ट्याक्सी, मोबाइल एप्लिकेसन वा फोनबाट बुकिङ गर्न वा बोलाउन सकिन्छ ।

राति होस् वा दिउँसो, सारथीमा आबद्ध ट्याक्सीले मिटरमा सेवा दिन्छन् । सारथीका सबै ट्याक्सीमा ठूलो डिस्प्लेसहितको ट्याबलेट जोडिएको छ । यात्रुले ट्याब्लेटमा यात्रा गरिरहेको दूरी, लागेको समय, उठेको भाडा र जाममा बस्दा रोकिएको समय हेर्न सक्छन् । ट्याक्सी गुडिरहेको सडकको नक्सा र ट्याक्सीमा जोडिएको मिटर पनि हेर्न मिल्छ । गन्तव्यमा पुगेपछि ट्याक्सीले सबै विवरण भएको बिल प्रिन्ट गरेर दिन्छ । यात्रुले बिलअनुसार भाडा तिर्छन् । चालकको व्यवहार पनि राम्रो हुन्छ । ट्याक्सीको भाडा डेबिट वा क्रेडिट कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ । सारथीका ट्याक्सीलाई आफूले सेवा लिने स्थानमा फोन गरेर बोलाउन सकिन्छ । सारथीका ट्याक्सीले जुनकुनै गन्तव्यमा जान पनि अस्वीकार गर्दैनन् । 

अमित अग्रवाल, अरिबन साह, ध्रुव अधिकारी, मनीष मोदी 
खल्ती डिजिटल वालेट

सबै ठाउँमा बैंक छैनन्, बैंकमा चौबिसै घन्टा सेवा पनि छैन । बिजुली, खानेपानी, मुभी टिकट, रिचार्ज कार्ड, इन्टरनेट महसुल, प्लेन र गाडीको टिकट काट्न सम्बन्धित ठाउँमै पुगेर लाइन लाग्नुपर्छ । त्यही झन्झट हटाउन दुई वर्षअघि खल्ती डिजिटल वालेट सुरु भएको हो । इन्जिनियरिङ पढेका अमित अग्रवाल, अरविन साह, ध्रुव अधिकारी र मनीष मोदी मिलेर खल्ती वालेट सुरु गरेका हुन् ।
 
अहिले धेरैको हातमा स्मार्ट मोबाइल छ । इन्टरनेटका सेवाग्राही पनि बढ्दै छन् । स्मार्टफोनमा इन्टरनेट भएपछि खल्ती वालेटको माध्यमबाट पैसा तुरुन्तै ट्रान्सफर गर्न सकिन्छ । जबकि बैंक खाताबाट तुरुन्त सम्भव हुँदैन । विकसित मुलुकमा डिजिटल कारोबार हुन्छ । नेपालमा पनि पैसा पठाउन र भुक्तानी लिनका लागि डिजिटल प्लेटफर्म उपलब्ध गराएको सिइओ अमित अग्रवाल बताउँछन् ।

बैंकको कामलाई टेक्नोलोजीले रिप्लेस गर्ने अभियान छ । खल्ती वालेटमा ८० कर्मचारी छन् । वीरगन्ज र धनगढीमा शाखा छ । देशभर ८ हजार पसलबाट सेवा पाइन्छ । करिब ८ लाखले एप डाउनलोड गरेर सेवा लिइरहेका छन् । अमित भन्छन्, ‘हाम्रो योजना सबै बैंक र सबै मानिसलाई खल्तीसँग जोड्नु हो ।’ उनीहरूले इन्स्योरेन्स र रेमिट्यान्सको सुविधा पनि दिने योजना बनाएका छन् ।

ऋचा धमला, विकास सुवेदी, निकुञ्ज भण्डारी 
नेपाली धोबी

‘अरूको लुगा धुने काम गर्छु’ भन्नेबित्तिकै समाजले राम्रो दृष्टिकोणले हेर्दैन । धोबीको कामलाई अझै पनि तल्लो वर्गले गर्ने भनेर सूचीकृत गरिएको छ । तर, पढालेखा तीन युवाले धोबी बनेर करिअर उच्च बनाउँदै छन् । 

स्कटल्यान्डमा आइटी पढेर आएका विकास सुवेदी, अस्ट्रेलियामा नर्सिङ पढेकी ऋचा धमला र नेपालमै स्नातक गरेका निकुञ्ज भण्डारीले अनलाइन अर्डर लिएर लुगा धुने व्यवसाय गरेका छन् । मोबाइल एप, वेबसाइट वा फोनमार्फत लुगाको अर्डर आउँछ । उनीहरू ग्राहककोमा पुगेर लुगा ल्याउँछन्, धोएर आइरन गरी फिर्ता गर्छन् । लुगा धोएको प्रतिकेजी एक सय २० रुपैयाँ र आइरनसमेत गरेको एक सय ५० रुपैयाँ लिन्छन् ।

‘नेपाली धोबी’ जन्मिएको एक वर्ष भयो । सुरुमा धोबी भन्दा उडाउँथे, अहिले प्रशंसा गर्छन्,’ ऋचा भन्छिन्, ‘धोबीभन्दा पनि गर्व लाग्छ ।’ उनीहरूको लुगा धुने उद्योग बौद्धमा छ । कुपान्डोलमा नयाँ आउटलेट खोलेका छन् । १२ कर्मचारीले रोजगारी पाएका छन् । 

शिक्षित भट्ट
टुटल

ट्याक्सीले मिटरमा सेवा दिन खोज्दैनन् । ट्याक्सीको सेवा मूल्य महँगो पनि छ । कम आयस्रोत हुनेले ट्याक्सी चढ्न सक्दैनन् । यही समस्यालाई हेरेर शिक्षित भट्टले टुटल सेवा सुरु गरेका छन् । यात्रुले मोबाइल एपमार्फत मोटरसाइकल बोलाएर गन्तव्यमा पुग्न सक्छन् । बाइक-स्कुटर भएका बेरोजगार युवा युवतीले पनि टुटलमा काम पाइरहेका छन् ।

सन् २०१७ जनवरीदेखि सुरु टुटल सेवाबारे शिक्षित भन्छन्, ‘टुटलमा काठमाडौं उपत्यकाका १० हजार बाइक-स्कुटर आबद्ध भइसकेका छन् । दैनिक तीन हजारभन्दा बढी यात्रुले सेवा लिइरहेका छन् ।’ यो सेवा लिने र दिने दुवै पक्षले टुटल एप डाउनलोड गर्नुपर्ने हुन्छ । 

टुटलले बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म सेवा दिन्छ । यात्रुले एपबाट नजिकै रहेको बाइक बोलाउन सक्छन् । यो सुविधा लिँदा यात्रुले ३ किमिसम्मको ६० रुपैयाँ र त्यसपछि प्रतिकिमि १८ रुपैयाँका दरले तिर्नुपर्छ । यो भाडाको २० प्रतिशत टुटलले राखेर बाँकी चालकलाई दिन्छ ।

मनोहर अधिकारी, फुडमान्डू डटकम

एक क्लिकमै खाना घरमै आइपुग्छ, त्यो पनि आफूले रोजेको परिकार, आफूले रोजेकै रेस्टुरेन्टबाट । अफिस वा घरबाट खाना-खाजा अर्डर गरेको एक घन्टाभित्र फुडमाण्डू डकमले ग्राहकलाई सर्भ गरिदिन्छ । राजधानीको व्यस्त जीवनशैलीमा फूडमान्डूले ग्राहकले रोजेको परिकार घरदैलोमा पुर्‍याएर सजिलो बनाइदिएको छ ।

मनोहर अधिकारीले विभिन्न रेस्टुरेन्टका खानाका परिकारहरू वेबसाइटमा राख्ने र ग्राहकले अर्डर गरेपछि डेलिभरी गरिदिने आइडिया फुराएका हुन् । सन् २०१० नोभेम्बरदेखि फुडमान्डूले खाना सर्भ गर्न थालेको हो । उसले ग्राहकसँग अर्डर लिने र रेस्टुरेन्टबाट डेलिभरी गरिदिन्छ । मोबाइल एप, वेबसाइट र फोनबाट खाना-खाजा अर्डर गर्न सकिन्छ । ग्राहकले रेस्टुरेन्ट पनि रोज्न पाउँछन् । फुडमान्डूसँग साना÷ठूला गरी तीन सयभन्दा बढी रेस्टुरेन्ट आबद्ध छन् । डेढ सय कर्मचारी छन् । अहिलेसम्म एक लाखभन्दा बढी अर्डर घरदैलोमा पुर्‍याएको फुडमान्डूका मार्केटिङ एवं ब्रान्ड म्यानेजर श्याम माली बताउँछन् । 

आयुषी केसी
खाली सिसी

युएसएडको जागिर छाडेर फोहोर व्यवस्थापनमा लागेकी आयुषी केसी उदाहरणीय सामाजिक उद्यमी हुन् । उनी ‘डिजिटल प्लेटफर्म’मार्फत फोहोर व्यवस्थापनमा जुटेकी छिन् । उनले फोहोर व्यवस्थापनका लागि खाली सिसी प्लेटफर्म सिर्जना गरेकी छिन् । उनको ‘खाली सिसी’ले पुनः प्रयोग गर्न मिल्ने कवाडी संकलन गर्छ । । पुनः प्रयोग गर्न सकिने फोहोरलाई ल्यान्डफिल साइटसम्म पुग्न नदिनु कम्पनीको उद्देश्य हो । खाली सिसीलाई आयुषी उद्यमकै रूपमा रूपान्तरण गर्न चाहन्छिन् । 

कवाडी समान व्यवस्थापनमा काम गर्छु भन्दा आयुषीलाई उडाउने धेरै थिए । अहिले उनको अभियानलाई प्रशंसा गर्ने मात्र छन् । व्यवस्थापनमा स्नातक आयुषी अमेरिकामा फोहोर व्यवस्थापन गरेको देखेर प्रभावित भएको बताउँछिन् । उनको अफिस बालुवाटारमा छ । घरमा फोहोर वर्गीकरण गरेर खाली सिसीको फेसबुक पेज वा खाली सिसी डटकममार्फत संकलनका लागि बोलाउन सकिन्छ । खाली सिसीको टिम कवाडी लिन घर÷अफिसमै आइपुग्छन् । 

कञ्चन अमात्य
दिगो माछा खेती

कञ्चन अमात्य ‘दिगो मत्स्य खेती’ अभियानकी अभियान्ता एवं उद्यमी हुन् । उनी दिगो जलीय कृषिमार्फत खाद्य सुरक्षा र गरिबी समाधानमा केन्द्रित छन् । गाउँका महिलालाई वित्त, प्रविधि, स्थानीय साधन र तालिम प्रदान गरेर आफ्नै साना उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्छिन् । उनी ०७४ मा फोब्र्स म्यागेजिनले ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली युुवा उद्यमीको सूचीमा पनि अटाएकी थिइन् । कञ्चनको कामलाई अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र संयुक्त राष्ट्रसंघले पनि प्रशंसा गरेका छन् ।

रोहित तिवारी
फुडमारियो

फुडमारियो यस्तो स्टार्टअप बिजनेस हो, जहाँ आफ्नो घरको भान्सामा खाना पकाएर बेच्न पाइन्छ । आफ्नो भान्सामा पकाएको खाना अनलाइन प्लेटफर्ममार्फत ग्राहकलाई आफैँ बिक्री गर्न सकिन्छ । जीवनभर परिवारका लागि विभिन्न स्वादका परिकार बनाउँदा हासिल भएको अनुभवलाई उद्यमशीलतामा बदल्न फुडमारियो गतिलो प्लेटफर्म बनेको संस्थापक रोहित तिवारी बताउँछन् । तिवारीलाई यो आइडिया १६ महिनाअघि फुरेको हो । अहिले ५० जनाभन्दा बढी व्यक्ति फुडमारियोमा आबद्ध भइसकेका छन्, झन्डै ८० प्रतिशत महिला छन् । 

‘चर्को घरभाडा तिरेर सबैले रेस्टुरेन्ट खोल्न सक्दैनन्, तर खाना बनाउन प्यासोनेट छ भने फुडमारियोमार्फत घरमै परिकार बनाएर बिक्री गर्न पाउँछन्,’ तिवारी भन्छन्, ‘ग्राहकले पनि घरमै बनाएको खाना पाउने भए ।’ फुडमारियोमा मोबाइल एप, फेसबुक पेज र फोनबाट ग्राहकले खानाको अर्डर गर्छन् । फुडमारियोमा खाना बनाउने व्यक्तिको पूरै जानकारी राखिएको हुन्छ । उसले के–के बनाउन सक्छ ? कुन लोकेसन हो ? ग्राहकले सोहीअनुरूप खानाको अर्डर गर्छन् । अहिलेसम्म करिब एक लाख बढीलाई खाना सर्भ गरिसकेको तिवारी बताउँछन् । 

शैलेन्द्रराज गिरी
प्रबन्ध निर्देशक, मेरोजबडटकम

मेरोजबडटकम सन् २००९ देखि सुरु भएको हो । यो कम्पनीले ‘अनलाइन जब प्लेसमेन्ट’को काम गर्छ । कम्पनीले रोजगारदाता र जागिर खोज्ने व्यक्तिलाई अनलाइन प्लेटफर्ममार्फत भेट गराइदिन्छ । जागिर खोज्दै भौँतारिने युवाहरूलाई मेरोजबले सजिलो बनाइदिएको छ । 

निर्माण व्यवसायी शम्भुराज गिरीका छोरा शैलेन्द्र गिरीले मेरोजबडटकम सुरु गरेका हुन् । अहिले जागिर दिलाउने अनलाइन प्लेटफर्म धेरै तयार भइसकेका छन् । तर, सबैभन्दा बढी नेटवर्क भएको मेरोजब नै हो । राम्रो तलब दिने कम्पनीहरू मेरोजबडटकमसँग आबद्ध छन् । पछिल्लो समय अधिकांश कर्पोरेटले कर्मचारी चाहिए मेरोजबमार्फत नै जनशक्ति माग गर्छन् । मेरोजबले रोजगारदाताको विज्ञापन अनलाइनमा प्रकाशित गरिदिन्छ । मोबाइल एप र वेबसाइटमार्फत रोजगारीका लागि आवेदन दिन सकिन्छ । घन्टौँ लाइन लाग्नुपर्दैन । अनलाइनबाटै परीक्षा लिएर योग्य कर्मचारी छनोट हुन्छ । 

सस्तोडिल
अमुन थापा

सस्तोडिल अनलाइन किनमेल गर्ने प्लेटफर्म हो । सात वर्षअघि सुरु भएको सस्तोडिलमा देशभरबाट किनमेल गर्न सकिन्छ । सस्तोडिलमा इलेक्ट्रोनिक्स र फेसन (कपडा) अनलाइन किनमेल गर्न सकिन्छ । ‘सस्तोडिलमा झन्डै डेढ लाख प्रकारको समान किनमेल गर्न पाइन्छ,’ संस्थापक तथा सिइओ अमुन थापा भन्छन्, ‘हामी देशैभर समान डेलिभरी गर्छौं ।’ इकमर्सले ग्राहकको समय र पैसा बचत गरिदिने अमुनको दाबी छ । 

सन्तोष ढकाल र सौर्य पौडेल
केकसेवा डटकम (फोटो लेफ्टः सन्तोष ढकाल, राइट : सौर्य पौडेल)

आइटीका दुई विद्यार्थी सन्तोष ढकाल र सौर्य ढकालले अनलाइनमार्फत केक डेलीभरी सुरु गरेका छन् । उनीहरु ग्राहकको अर्डरअनुसार केक बनाएर घरदैलोमै पुर्‍याइदिन्छन् । पछिल्लो समय जन्मदिन, वैहाहिक वर्षगाँठलगायत उत्सवहरुमा केक काट्ने चलन नै बसेको छ । आम मान्छेको यही आवश्यकता पूर्ती गर्ने गरी दुई युवाले केकसेवा सुरु गरेका हुन् । ग्राहकले फेसबुक, इन्स्टाग्राम, वेभसाइट र फोनबाट केक अर्डर गर्न सक्छन् । ‘केकसेवा’ सुरु गरेको भर्खर एक-डेढ महिनाजति भएको बताउँछन्, सञ्चालक सन्तोष अधिकारी ।

विदेशमा रहेकाहरुलेसमेत विदेशबाटै अर्डर गरेर काठमाडौंमा रहेका आफन्त तथा साथिभाईका लागि अर्डर र पेमेन्ट गरिदिन सक्छन् । केकसेवाले सम्बन्धित व्यक्तिको घरमै केट पुर्‍याइदिन्छ । 

पीआर खनाल
बससेवा डटकम

चार वर्षअघि सुरु भएको बससेवाले यात्रुलाई अनलाइनबाट देशका अधिकांश गन्तव्यको टिकट उपलब्ध गराउँदै आइरहेको छ । कम्पनी सञ्चालक पिआर खनाल अहिले देशका एक सय २० रुटका लागि अनलाइनबाट टिकट बिक्री गरेको र छिट्टै देशभरका रुटमा बिस्तार गर्ने बताउँछन् । बससेवामा ८० यातायात व्यवसायी समिति आवद्ध छन् । यात्रुले मोबाइल वा कम्प्यूटरबाट बससेवा डटकमको मोबाइल एप वा वेभसाइट प्रयोग गरी गाडी हेरेर र सिट रोजेर घरबाटै टिकट काट्न सक्छन् । अनलाइनबाटै भाडा भुक्तानी गर्न सकिन्छ । 

बससेवाले यातायात व्यवसायीको मोबाइल वा कम्प्यूटरमा एप र सफ्टवेयर इन्स्टल गरिदिन्छ । यातायात व्यवसायीले गाडीको सम्पूर्ण जानकारी अनलाइनमा राख्छन् । कति टिकट कटियो, कुन–कुन सिट बाँकी छन्, टिकटको मूल्य कति हो ? सबै अनलाइनबाटै हेर्न पाइन्छ । ‘पहिला यातायात व्यवसायीले सिट बिक्री हुने वित्तिकै कागजमा कोर्थे’ खनाल भन्छन्, ‘बससेवामा आवद्ध व्यवसायीले स्मार्ट प्रविधिमार्फत सिटहरु गएको नगएको जानकारी राख्छन् ।’