१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तीर्थराज बस्नेत
२०७६ बैशाख ७ शनिबार ०६:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

नेपालको पानी  किन्न कतार इच्छुक

Read Time : > 2 मिनेट
तीर्थराज बस्नेत
२०७६ बैशाख ७ शनिबार ०६:१०:००

नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिवेदनमा मन्त्रालयले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने जनाएको छ । खाडी राष्ट्रमा खासगरी ग्लेसियस वाटर (हिमनदीको पानी) र भारत तथा बंगलादेशमा पानीको थोक वितरण गर्न सकिने सम्भावना देखाइएको छ । नेपालमा दैनिक कुल दुई सय २५ अर्ब क्युबिक मिटर पानी बग्छ । त्यसको १५ प्रतिशत मात्रै नेपालको कुल उपभोग क्षमता हो । 

बाँकी ८५ प्रतिशत पानी खेर गइरहेको छ । सहसचिव भट्टले भारत र बंगलादेशमा भने ठूला नदीका पानी पाइपबाट वितरण गर्न सकिने बताए । ‘थोक वितरण प्रणालीअनुसार नेपालमा ७० प्रतिशत उपयोग गर्ने र बाँकी ३० प्रतिशत भारत र बंगलादेशमा निर्यात गर्न सकिन्छ,’ उनले भने । 

यी हुन् सम्भावित स्रोत क्षेत्र
मन्त्रालयले हिमनदीबाट पानी उत्पादन गर्न सकिने र थोक वितरण गर्न सकिने सम्भावित क्षेत्रको पहिचान गरेको छ । १५ वटा हिमनदी र कुण्डबाट पानी उत्पादन तथा प्रशोधन गर्न सकिने उसको भनाइ छ । सोलुखुम्बुको दुधकुण्ड वरीपरी, चौरीखर्कको क्यासाइ र इङ्खु हिमनदी, छेस्काम गाँउको मेरा हिमनदीबाट पानी उत्पादन गर्न सकिन्छ ।

त्यस्तै, मनाङको नार्फुस्थित पाङ्ग्री र ल्याप्चे हिमनदी, नासोङका पोन्कार, केछाक्यू, सती ताल र चाङ्ली हिमनदीबाट पानी उत्पादन गर्न सकिन्छ । सरुवाको छलेपोच नजिकको हिमनदी, नाङटाङ खोला नजिकको हिमनदी, दागपाचे नजिकको लाङटाङ हिमनदी, इजुङफू नजिकको लाङटाङ हिमनदीबाट पनि पानी उत्पादन गर्न सकिनेछ ।

यस्तै खानेपानीको थोक वितरण गर्न सकिने नौ ठूला नदीमा महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी, पूर्वी राप्ती, कमला, कोशी र कन्काई छन् । 

उत्पादन तथा निर्यातमा सार्वजनिक निजी साझेदारी
मन्त्रालयले पानी प्रशोधन, उत्पादन र बजारीकरण सार्वजनिक निजी साझेदारीमा गर्ने प्रस्ताव राखेको छ । सरकारको प्रस्तावमा खानेपानी व्यवसायी समेत सहमत देखिएका छन् । तर, उनीहरूले नीतिगत जटिलता रहेको भन्दै त्यसलाई फुकाइदिनुपर्ने धारणा राखे । सरकारले भने आवश्यक नीतिगत व्यवस्था गरिने बताएको छ । मन्त्रालयले खानेपानी उत्पादन र निर्यात गर्न उद्योगी व्यवसायीलाई कर छुट, विज्ञहरूको सहजीकरण, नमूना निर्माण, जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) सम्पर्क, बजारीकरण, आदिमा सघाउने वाचा गरेको छ । 

पानी निर्यात गर्न सकिन्छ भन्नेमा ढुक्क छु : खानेपानीमन्त्री
छलफलपछि मन्त्री मगरले पानी निर्यात गर्न सकिन्छ भन्नेमा आफू ढुक्क रहेको बताइन् । ‘म आउँदा नै पानी निर्यात गर्न सकिन्छ भन्नेमा थिएँ । तर, यत्तिकै एक बर्ष बित्यो । तपाईंहरूसँगको छलफलपछि यहाँको खानेपानी विदेशमा बेच्न सकिन्छ भन्नेमा ढुक्क भएकी छु,’ उनले भनिन् । उनले पानी निर्यातका लागि कतारी राजदूत सकारात्मक रहेको पनि बताइन् । सचिव दीपेन्द्रनाथ शर्माले भने नेपालको पानी बौद्ध तथा हिन्दु धर्मवालम्वीको बाहुल्यता रहेको देशमा होली वाटरको रूपमा बजारीकरण गर्न सकिने बताएका थिए । 

चर्चा निर्यातको तर वार्षिक २ करोडको आयात 
पानी निर्यात गर्न सकिने बहस प्रारम्भ हुँदा नेपालमा वार्षिक झण्डै २ करोड रूपैयाँको पानी आयात भइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७४/७५ मा ३ लाख ८६ हजार लिटर मिनरल वाटर आयात भएको छ । यो १ करोड ८१ लाख रूपैयाँ मूल्य बराबरको हो । 

गत वर्ष नेपालले १५ लाख मूल्यमा आठ सय २३ लिटर पानी निर्यात गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा ७३ लाख ७२ हजार रूपैयाँको दुई लाख ७६ हजार लिटर पानी आयात भएको छ । 

 कतारी राजदूतको प्रस्तावपछि सरकार सक्रिय
१९ चैतमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले खानेपानीमन्त्री विना मगरलाई भेटे । उनीहरूबीच खानेपानी प्रशोधन/उत्पादन र बजारीकरणका विषयमा छलफल भयो । राजदूत हेलले नेपालको खानेपानी कतार लैजान सकिने बताएका थिए । उनले नेपालको पानी सफा र स्वच्छ भएकाले कतार राम्रो बजार बन्न सक्ने बताएका थिए । ‘हामीलाई तेल र ग्यासको अभाव छैन, तर शुद्ध पिउने पानीको अभाव छ । त्यसैले नेपालको पानी कतार लैजान दुई देशबीच सहमति गर्न आवश्यक छ,’ उनले भनेका थिए । राजदूत हेलसँगको भेटपछि खानेपानी निर्यातका विषयमा मन्त्री मगर उत्साहित भइन् । उनले खानेपानी विभागलाई सम्भावित स्थान पहिचान गर्न निर्देशन दिइन् ।