१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ बैशाख ६ शुक्रबार १२:५०:००
Read Time : > 1 मिनेट
प्रदेश

युवालाई स्वरोजगार बनाउन १० लाखसम्म ऋण दिँदै गाउँपालिका

Read Time : > 1 मिनेट
२०७६ बैशाख ६ शुक्रबार १२:५०:००

युवालाई गाउँमै स्वरोजगार बनाउन जुम्लाको तातोपानी गाउँपालिकाले १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ । यसका लागि हिउँदे अधिवेशनबाट कार्यविधि पारित गरेको छ ।

वैदेशिक रोजगारीका लागि युवा पलायन रोक्न र गाउँमै रोजागरी सिर्जना गर्ने उद्देश्यले ऋण दिन लागिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘पैसा नभएर कोही पनि व्यवसाय गर्नबाट वञ्चित हुने छैनन् । ब्याज नलिने गरी १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेका छौँ,’ अध्यक्ष न्यौपानेले भने । 

यसमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई आफ्नै व्यवसाय गर्न प्रोत्साहन गरिने जनाएको छ । उनीहरूलाई विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्न ऋण दिइने उनले बताए । सीप भएर पनि गरिबीका कारण व्यवसाय गर्न नसकेका युवाले पनि गाउँपालिकाबाट ऋण पाउनेछन् । 

यससम्बन्धी कार्यविधि पारित भएकाले अब जतिवेला पनि ऋण दिन सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका विपन्न तथा बेरोजगार, उद्यम गर्न चाहने युवालाई निब्र्याजी ऋणबाट लाभान्वित हुने गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन् । ‘उत्कृष्ट व्यवसाय गर्ने तथा व्यवसाय गर्नेलाई पुरस्कृत गरिनेछ,’ उनले भनिन् । 

यसबाट गाउँपालिकाको बेरोजागरी कम हुने, आयआर्जन बढ्ने र गरिबी घटाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । समूहमा आउनेलाई प्राथमिकता दिइने जनाएको छ । 

 तातोपानीमा दुई हजार बेरोजगार
यसका लागि गाउँपालिकाले बेरोजारको तथ्यांक संकलन गरिरहेको छ । अहिलेसम्म आएको तथ्यांकअनुसार दुई हजारभन्दा बढी बेरोजगार छन् । 

वाड नं. २ मा पाँच सय ८६, वाड नं. ४ मा चार सय, वडा नं. ५ मा दुई सय ३५ र वडा नं. ६ मा चार सय ५० जना युवा बेरोजगार भएको तथ्यांक छ । 

त्यस्तै, वडा नं. ७ र ८ मा गरी चार सय युवा बेरोजागार रहेको तातोपानी गाउँपालिका रोजगार संयोजक बिमला शर्माले बताइन् । उनका अनुसार आठवटा वडा रहेको तातोपानीमा दुई वडाको तथ्यांक आउन बाँकी छ । सबै वडाको तथ्यांक संकलन भएपछि रोजागरका कार्यक्रम ल्याइने उनले बताइन् ।