मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती

२०७६ बैशाख ६ शुक्रबार १२:०३:००

जिल्लाको मालपोत कार्यालयबाट एक महिनासम्म काम नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । पटक–पटक मालपोत कार्यालय धाउँदा पनि काम सम्पन्न नहुँदा सेवाग्राहीले समय र रकम धेरै खर्चिनुपरेको हो । कोहलपुर नगरपालिका–४, रझेनाका विपतराम थारूले भूमि व्यवस्था तथा मालपोत कार्यालय धाउन थालेको एक महिना भयो, तर उनको काम कहिले सम्पन्न हुने हो पत्तो छैन ।

सिक्टा सिँचाइ आयोजनाको नाममा जमिन नामसारी गर्न मातपोत धाउँदा सास्ती भएको छ । जमिन नामसारी नहुँदा उनले सरकारबाट मुआब्जा पाउन सकेका छैनन् । ‘सरकारको नाममा जमिन नामसारी गरिदिन्छु भन्दा पनि महिना दिन लागिसक्यो, अझैँ कति दिन लाग्ने कुनै पत्तो छैन,’ उनले भने । 

थारूजस्तै खजुरा गाउँपालिका–४ का नारद शर्माको समस्या पनि उस्तै छ । सिक्टा सिँचाइ आयोजनाको नाममा जमिन नामसारीका लागि प्रक्रिया अगाडि बढाएको झन्डै तीन साता बित्यो, तर अहिलेसम्म काम कहिले सकिने भन्ने पत्तो नभएको उनले गुनासो आयो । उनले कर्मचारीले तारेख दिएजस्तै बोलाउने गरेको बताए । ‘आज आउनु, भोली आउनु भनी तारेख बोक्नु शिवाय केही उपलब्धि भएको छैन,’ उनले भने ।

जानकी गाउँपालिका–३, इन्द्रपुरका राममनोरत अहिरले जमिन रजिस्ट्रेसन पासका लागि मालपोत कार्यालय धाउन थालेको पनि १५ दिनभन्दा धेरै भइसक्यो । कर्मचारी नभएको भन्दै काममा ढिलाइ गरेको उनले गुनासो गरे । कर्मचारीले आज काम गर्न सकिँदैन भोलि फेरि आउनुहोला भनेर फर्काउने गरेको उनले गुनासो गरे । काम नभएपछि सेवाग्राही अमिलो मन लिएर फर्किने गरेका छन् । ‘आज त होला भनेर आयो, तर काम नभएर रित्तो हात फर्किनुपरेको छ,’ उनले भने । 

 मालपोतमा कर्मचारी अभाव
जिल्ला भूमि व्यवस्था तथा मालपोत कार्यालयमा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । कुल ५१ जना कर्मचारी दरबन्दी रहेकामा अहिले ३० जना मात्र काम गरिरहेका छन् । ११ जना पहिलेदेखि नै नभएको र १० जना कर्मचारी सरकारी जमिन किर्ते गरी व्यक्तिको नाममा रजिस्ट्रेसन पास गरेको आरोपमा पक्राउ परेपछि कार्यालय सञ्चालनमा समेत समस्या भएको कार्यालय प्रमुख प्रेमबहादुर दौल्यालले बताए । उनले पाँच अधिकृतमध्ये एकजना मात्र कार्यालयमा भएको बताए । उनले मुद्दा, कम्प्युटर, मोठ फाँटमा पर्याप्त कर्मचारी नभएको बताए । ‘पाँचजना कर्मचारीको ठाउँमा एकजनाले काम धानेको अवस्था छ,’ उनले भने । 

भूमि व्यवस्था महाशाखासँग कर्मचारी माग गरे पनि अहिलेसम्म नपठाएको उनले बताए । उनले सहकारी तथा भूमि व्यवस्था मन्त्रालय, गृह मन्त्रालयलगायतलाई समेत जानकारी गराएको बताए । ‘माथिल्लो निकायलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन,’ उनले भने । 
 नागरिक समाजको ध्यानाकर्षण
सेवाग्राहीले दुःख पाएको भन्दै नेपालगन्जका नागरिक समाजका अगुवाले भूमि व्यवस्था तथा मालपोत कार्यालय, बाँकेको ध्यानाकर्षण गराएका छन् । मानवअधिकारकर्मी र कानुन व्यवसायीको टोलीले कार्यालय प्रमुख दौल्याललाई भेटेर सेवा सहज बनाउन ध्यानाकर्षण गराएका हुन् । मालपोत कार्यालयमा पुगेर मानवअधिकारकर्मी र कानुन व्यवसायीले कर्मचारी थप गरी सेवा सहज बनाउन आग्रह गरेको उच्च अदालत बार एसोसियसन नेपालगन्जका अध्यक्ष विकास आचार्यले बताए । उनले सेवाग्राहीले महिना दिनसम्म पनि सेवा नपाएको गुनासो गरेको बताए । ‘सेवाग्राहीले गरेका गुनासोका बारेमा कार्यालय प्रमुखसँग जानकारी लिएर सेवा सहज बनाउन आग्रह गरेका छौँ,’ उनले भने ।