मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १०:५६:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता

सिटी एक्सप्रेस एक वर्षभित्रै विकास बैंक बन्छ : भीष्मराज चालिसे

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १०:५६:००

समस्याग्रस्त तत्कालीन कुबेर मर्चेन्ट फाइनान्सलाई खरिद गरी सिटी एक्सप्रेस फाइनान्स लिमिटेडका रूपमा सञ्चालनमा ल्याएको साढे एक वर्ष बितिसकेको छ । सिटी एक्सप्रेस ग्रुपले बहुमत सेयर खरिद गरेपछि ४ भदौ ०७४ मा सम्पन्न ११औँ वार्षिक साधारणसभाले नाम परिवर्तन गरेको हो । पुँजी वृद्धि, संस्थागत सुशासन, खराब कर्जा न्यूनीकरणलगायत थुप्रै सर्तसहित केन्द्रीय बैंकले संस्थालाई समस्याग्रस्तबाट फुकुवा गरेको थियो । त्यसयता फाइनान्सले कसरी काम गरिरहेको छ ? तोकिएका सर्तहरू पूरा भएका छन् भन्नेलगायत विषयमा नयाँ पत्रिकाका कृष्ण रिजालले फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेसँग गरेको कुराकानी :

कुबेर मर्चेन्ट फाइनान्सलाई खरिद गरेको पनि दुई वर्ष पुग्न लागिसक्यो । केन्द्रीय बैंकले समस्याग्रस्त फाइनान्सलाई ससर्त फुकुवा गरेको थियो । ती सर्तहरू पालना गर्दै संस्था कसरी अघि बढिरहेको छ ?
सिटी एक्स्प्रेस मनी ट्रान्सफरले रेमिट्यान्स व्यवसायमा प्रभुत्व कायम गरेको थियो, छ । ख्याति पनि कमाइरहेको छ । त्यसवेला सिटी एक्स्प्रेसले फाइनान्सियल क्षेत्रमै लगानी गर्ने सोचअनुसार यो हात हाल्न चाहेको थियो । केन्द्रीय बैंकले पनि समस्याग्रस्त वित्तीय संस्थालाई पुनः सञ्चालनका लागि प्रयास गरिरहेको थियो । केन्द्रीय बैंकले नै कुबेरमा लगानी गरेर पुनः सञ्चालनमा ल्याउन सुझाब दिएको हो । हामीले फाइनान्स चलाउन खोजेको, केन्द्रीय बैंकले कुबेरलाई उद्धार गर्न खोजिरहेको, दुवै कुरा मिल्यो । त्यसपछि सिटी ग्रुपले कुबेरको सेयर लिलाम सकारेर लिएको हो । लगानीकर्ता सेयरधनीले नियमानुसार पुँजीकोष पु-याउन थप पैसा हालेपछि संस्थाको पुनर्जन्म भयो ।

खराब कर्जा (एनपिएल) शतप्रतिशत थियो । त्यसलाई पुस मसान्तसम्ममा २५ प्रतिशतमा झा-यौँ । र, चैतमा अहिले ३ प्रतिशतको हाराहारीमा झरिसकेको छ । अब राष्ट्र बैंकले दिएको समयअनुसारको पुँजी छिट्टै पु-याउँछौँ ।


कुबेर समस्याग्रस्त भएकै कारण यसको रिब्रान्डिङ गर्न नाम परिवर्तन गरिएको हो ? 
वित्तीय क्षेत्र अरू व्यवसायजस्तो होइन, यो विश्वासमा चल्छ र एकपल्ट विश्वास गुमेपछि त्यसलाई ब्युँताउन सकिँदैन । त्यसैले हामीले कुबेरलाई सिटी एक्सप्रेसको नाम दिएका हौँ । नाम परिवर्तनले ठूलो भूमिका खेल्यो । वास्तवमा यो क्षेत्रमा ब्रान्ड असाध्यै महत्वपूर्ण  हुँदो रहेछ । सिटी ग्रुपले रेमिट्यान्समा राम्रो नाम कमाएको थियो । त्यसैले फाइनान्सले पनि सोहीअनुसार गति लिन सक्यो । सर्वसाधारणले सकारात्मक रूपमा हेरे । हामीलाई अघि बढ्न सहज भयो ।

केन्द्रीय बैंकले तोकिदिएको संस्थागत सुशासन, खराब कर्जा न्यूनीकरण, पुँजीवृद्धिलगायतका सर्तहरू के–कति पालना भएका छन् ? 
समस्याग्रस्तबाट फुकुवा भएपछि म प्रमुख कार्यकारी अधिकृत भएर आएको हुँ । म आएको एक वर्ष भयो । ६ महिनासम्म पूर्वाधार तथा संस्थागत संरचना बनाउँदै लाग्यो । यही ६ महिनामा आफ्नो नीति–नियम बनाएर राष्ट्र बैंक पठायौँ । बैंकले अनुमोदन गरिदियो । पुराना कार्मचारीलाई स्किम दिएर बिदाइ ग-यौँ । नयाँ कर्मचारी भर्ना ग-यौँ । त्यसपछि हाम्रो केन्द्रीय कार्यालय घन्टाघरनजिकै ल्यायौँ । दुईवटा शाखा बाँकी थिए, तिनलाई पनि पुनः सञ्चालनमा ल्यायौँ । दुईमध्ये एउटा नाफामा गइसक्यो । 

म आउँदा खराब कर्जा (एनपिएल) शतप्रतिशत थियो । त्यसलाई पुस मसान्तसम्ममा २५ प्रतिशतमा झ-यौँ । र, चैतमा अहिले ३ प्रतिशतको हाराहारीमा झरिसकेको छ । अब राष्ट्र बैंकले दिएको समयअनुसारको पुँजी छिट्टै पु-याउँछौँ । हकप्रद सेयरमार्फत ८० करोड पुँजी बनाउनेछौँ । संस्थाले पुनर्जन्म पाएको एक वर्ष भयो, अझ बैंकिङ कारोबार नै गरेको ९ महिनाजति मात्रै भयो । यसबीचमा जुन हिसाबले काम गरिरहेका छौँ, जति लक्ष्य थियो, त्योभन्दा बढी सफलता मिलिरहेको छ ।
अहिले वित्तीय अवस्था कस्तो छ ? 
मुख्य वित्तीय समस्या भनेकै खराब कर्जा थियो । त्यो लगभग ३ प्रतिशतमा झारिसकेका छौँ । अहिले निक्षेप १० करोड रुपैयाँ नाघिसकेको छ । १४–१५ करोड रुपैयाँ लगानी पनि गरेका छौँ । हामीले निक्षेपमा फोकस गरेका छैनौँ । अहिले हामीसँग संस्थापककै पैसा छ । पहिला त घाटा पूर्ति गर्न संस्थापककै पैसा प्रयोग गर्ने सोचमा छौँ । निक्षेप संकलन गरेर घाटा पूर्ति गर्नेछैनौँ । 

बिस्तारै निक्षेप बढाउँदै जानेछाैँ। कर्जा पनि राम्रो पार्टी खोजेर दिएका छौँ । अहिले ४० करोड चुक्ता पुँजी छ । हकप्रद सेयरबाट ४० करोड थपेर ८० करोड बनाउने तयारीमा छौँ । ०७६ मंसिरसम्म पुँजी पु-याउने लक्ष्य छ । भर्खरै मात्र प्रिमियमबाट ४२ लाख रुपैयाँ उठायौँ । हकप्रदमा पनि डेढ करोड रुपैयाँभन्दा बढी प्रिमियम लिने विचारमा छौँ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था धेरै भयो भनेर मर्जरको नीति लिएको छ । यसले पनि मर्जरको कुनै योजना बनाएको छ ?
हामीले पनि मर्जरमा जाने नीति लिएका छौँ । तर, नामचाहिँ नफेर्ने । कुनै न कुनै क्षेत्रीय विकास बैंकसँग मर्जमा गएर नाम सिटी एक्सप्रेस नै राखेर अघि बढ्ने योजना छ । त्यसअनुसार काम पनि भइरहेको छ । एक–दुईपटक छलफल पनि भयो । एक–दुईवटा विकास बैंक मर्जरमा जान तयार छन् । पुँजी वृद्धि भएलगत्तै प्रक्रियामा जानेछौँ, तर हामी ब्रान्डचाहिँ छाड्दैनौँ । एक वर्षभित्र राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति हुने लक्ष्य छ । त्यही योजना लिएर अघि बढिरहेका छौँ । 
विकास बैंकमै स्तरोन्नतिचाहिँ किन नि ? 
विकास बैंकमा स्तरोन्नति हुने सोच विभिन्न कारणबाट आएको हो । वास्तवमा वित्त कम्पनीले होलसेलरको काम गर्ने हो । तर, रिटेलमा जोड भइरहेको छ । बैंक भन्नु र फाइनान्स कम्पनी भन्नुमा धेरै फरक रहेछ । सर्वसाधारणको हेराइ नै फरक पर्दो रहेछ । सहकारीलाई पनि फाइनान्स कम्पनी ठान्दा रहेछन्, अर्थात् फाइनान्सलाई सहकारी ठान्दा रहेछन् । त्यसैले हामी विकास बैंकमा जान खोजेका हौँ । कार्य क्षेत्र, उद्देश्य जति छ, विकास बैंकको छ, त्यति फाइनान्स कम्पनीको छैन । हामीलाई गाउँ–गाउँमा पुगेर सेवा दिन पनि विकास बैंक हुनुपरेको छ । अहिले फाइनान्सले गर्ने सबै काम सहकारीले गरिरहेका छन् । सहकारीले निक्षेप पनि लिन्छ, हायर पर्चेजको काम पनि गर्छ, घरजग्गा पनि खरिद गर्न दिन्छ । ब्याजदर तलमाथिको कुरा होला । बैंक भनेपछि सर्वसाधारणको हेराइ अर्कै हुने रहेछ । त्यसैले एक वर्षभित्रमा विकास बैंक भइसक्ने गरी अघि बढेका हौँ ।

सिटी ग्रुपले विदेशी साझेदार भित्र्याउने योजना बनाएको छ । जापानको क्षेत्रीयस्तरको वाणिज्य बैंकसँग छलफल भइरहेको छ ।


व्यावसायिक योजनाचाहिँ कस्तो छ ? 
व्यवसायका लागि मुख्य कुरा भनेको नेटवर्क हो । काठमाडौंमा मात्रै बसेर व्यवसाय गर्न सकिँदैन । देशभर शाखा सञ्जाल बनाउनैपर्छ । प्रादेशिक संरचनाअनुसार हामीले शाखा खोल्नैपर्छ । प्रदेश–१ मा हामीले खोलेका शाखामा राम्रो प्रतिक्रिया आयो, राम्रो भएको छ, नाफामा गएको छ । अब वैशाख, जेठ र असारभित्रमा न्यूनतम पाँच शाखा विस्तार गरिसक्नेछौँ ।

सबै प्रदेशमा शाखा विस्तार गरिसक्ने योजना छ । यस्तो नेटवर्क हुनेबित्तिकै हाम्रो व्यवसायको आधार बन्नेछ, कारोबार गर्न सजिलो हुनेछ । त्यसपछि हामी सम्भावना भएका क्षेत्रमा शाखा विस्तार गर्नेछौँ । जुन क्षेत्रमा ग्राहक आधार धेरै छ, त्यही क्षेत्रमा शाखा खोल्छौँ । रेमिट्यान्ससँगै बैंकिङ सेवा पनि दिने भएपछि व्यवसाय स्वतः बढ्दै जाला । सिटी एक्सप्रेस मनी ट्रान्सफरका ५ हजारभन्दा बढी एजेन्टबाट काम भइरहेको छ, एकै ठाउँमा ग्राहक आधार १०–१५ हजारजना रहेका छन् । यो हाम्रा लागि ठूलो अवसर हो ।
सरकारले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति लिएको छ । त्यसअनुसार सिटी एक्स्प्रेसमार्फत आउने रेमिट्यान्सलाई फाइनान्सले उत्पादनमूलक क्षेत्रमा लगाउन सक्ला ?
हाम्रो मुख्य व्यावसायिक सोच यही नै हो, रेमिट्यान्स र त्यससँग जोडिएका ग्राहकलाई व्यवसायको आधार बनाउने र त्यसलाई उत्पादनमा जोड्ने । अहिले पनि हाम्रो गाईघाट शाखाले कृषिसँग जोडिएका ग्राहकमाथि लगानी गरिरहेको छ । स्थानीयस्तरमा रोजगारी बढ्ने, आयस्रोत बढ्ने र उत्पादन बढ्ने भएकाले पनि कृषिलाई प्राथमिकतामा राखेका हौँ । विदेशबाट केही सिकेर आएकाहरूलाई यहाँ सीप उपयोगमा लगानी गर्नेछौँ । अहिले पूर्वाधार विकास बैंक पनि आइसकेको छ । यस्तो अवस्थामा हामीले स–सानो लगानी गर्ने हो । ५ लाखदेखि ५० लाखका ग्राहक खोजेर लगानी गर्ने र उनीहरूको आय तथा उत्पादन बढाउने हो । हामी आक्रामक भएर लगानी गर्दैनौँ । जुन ठाउँमा शाखा खोल्छौँ, त्यहीँबाट निक्षेप संकलन गर्छौँ र त्यहीँ लगानी गर्छौँ ।
सरकारले बाहिरको पैसा ल्याएर परिचालन गर्ने नीति लिएको छ । यसमा तपाईंहरूले केही योजना बनाउनुभएको छ ?
यस फाइनान्समा एनआरएनहरूको समेत संलग्नता छ । उनीहरूले थप लगानी गर्दै छन् । अर्कोतर्फ जापानका केही बैंकसँग कुरा गरिरहेका छौँ । सिटी ग्रुपले विदेशी साझेदार भित्र्याउने योजना बनाएको छ । जापानको क्षेत्रीयस्तरको वाणिज्य बैंकसँग छलफल भइरहेको छ । हामी विकास बैंकमा स्तरोन्नति भएपछि विदेशी साझेदार पनि भित्र्याउने हो । जुलाईसम्म उनीहरूले निर्णय दिनेछन्, निर्णय सकारात्मक आउनेमा ढुक्क छौँ ।
फाइनान्सका लगानीकर्ताले प्रतिफल कहिले पाउँछन् ?
बिग्रेको संस्थालाई बल्ल लयमा ल्याएका छौँ । अब व्यवसाय गरेर लगानीकर्तालाई प्रतिफल दिन अझै एक–दुई वर्ष लाग्नेछ । धेरै घाटामा रहेका संस्थालाई नाफामा लगेर लाभांश दिलाउन केही वर्ष लाग्नेछ । दुई वर्षपछिचाहिँ अरू वित्तीय संस्थाको तुलनामा धेरै राम्रो प्रतिफल दिनेछौँ भन्नेमा हामी आशावादी छौँ ।