मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हिरा बिजुली रंगकर्मी
२०७६ बैशाख ६ शुक्रबार ०९:३३:००
Read Time : > 4 मिनेट
फिचर

कथा कर्णालीको

Read Time : > 4 मिनेट
२०७६ बैशाख ६ शुक्रबार ०९:३३:००

स्काभेटरले खनेका सडक आलै छन् । त्यहाँ गुड्ने ट्र्याक्टरमा हिन्दी र अंग्रेजी गीत बज्छन् । ट्र्याक्टरले बोकेका रड र सिमेन्टले कंक्रिटका घर बनिरहेका छन् । धेरैले भन्ने गर्छन्– अहिले गाउँबाट गाउँ हराएको छ । र, त्यही गाउँमा नाटक खोजिरहेका छन्, मुगुका हिरा बिजुली ।

काठमाडौंबाट मुगुस्थित उनको घर पुग्नै तीन दिन लाग्छ । पहिला नेपालगन्ज हुँदै सुर्खेत । अनि सुर्खेतबाट पुरानो मोडेलको बसमा धुलो खाँदै र भिरबीचबाट घुमेका घुम्तीको धरापमा जिन्दगी राखेर पुगिन्छ, मुगु । 

त्यही सडक पार गरेर काठमाडौं आइपुगेको हो, नाटक ‘गर्भ छिटा’ । यो नाटक केही समयअघि काठमाडौंमा भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भयो । नाटक लिएर आएका थिए, हिरा बिजुली । कलाकार सबै कर्णालीकै थिए । महोत्सवपछि अनामनगरस्थित मण्डला थिएटरमा पनि मञ्चन भयो । कर्णालीबाट आएका हिरालाई अन्तर्वार्ता दिनका लागि भ्याइनभ्याइ भयो । ‘हाम्रो नाटकलाई काठमाडौंले खुब माया दियो,’ मण्डला थिएटरमा भेटिएका हिराले भनेका थिए । नाटक कर्णालीको रैथाने संस्कृतिमा आधारित थियो ।

दुईजना केटा साथी छन्, ठकुरी समुदायका । दुवैका श्रीमती सुत्केरी हुन्छन् । त्यो समयमा दुवैले छोरा र छोरी भएमा सम्धी हुने भनेर देवता भाक्छन् । पछि आफ्नी छोरी दिनुपर्ने बाध्यता बनिदिन्छ । ठूलो हुँदै गएपछि छोरीका व्यक्तिगत इच्छा, सपना सबै बन्धक बनिदिन्छन् । समाजले अरूसँग प्रेम गर्ने छुट दिँदैन । पुरुषलाई स्वतन्त्रता छ । उसले जति पनि बिहे गर्न पाउँछ । आममहिलाले त्यो प्रथा मान्दिनँ भनेर भन्न सक्दैनन् । हिरा भन्छन्, ‘मैले त्यही डामाडोललाई नाटकमा जोडेको छु ।’ 

उनको प्रयोग काठमाडौंका कलाप्रेमीले मन पराए । नाटक मञ्चन सकेर उनी मुगु फर्कने तयारीमा थिए । उनी भनिरहेका थिए, ‘अबको काम पनि मेरो कला र संस्कृतिमाथि नै फोकस हुनेछ ।’ त्यो दृढताले देखाइरहेको थियो, उनी हार मान्दैनन् । काठमाडौंमा विदेशी भाषाबाट अनुदित नाटक मञ्चन भइरहँदा उनी मुगुमा बसेर नेपाली नाटकमा काम गरिरहेका छन् । 

दुवैले छोरा र छोरी भएमा सम्धी हुने भनेर देवता भाक्छन् । पछि आफ्नी छोरी दिनुपर्ने बाध्यता बनिदिन्छ । ठूलो हुँदै गएपछि छोरीका व्यक्तिगत इच्छा, सपना सबै बन्धक बनिदिन्छन् । समाजले अरूसँग प्रेम गर्ने छुट दिँदैन । पुरुषलाई स्वतन्त्रता छ । उसले जति पनि बिहे गर्न पाउँछ । आममहिलाले त्यो प्रथा मान्दिनँ भनेर भन्न सक्दैनन् ।

त्यसो त सहरमा अल्झाउने कुरा धेरै छन् । सहर छिरेका अधिकांश यतै रहने प्रयत्न गर्छन् । यदि कोही फिरिहाले गुनासोको भारी हुन्छ । हिरालाई भने कर्णालीको माटो प्यारो छ । त्यही संस्कृतिमाथि कलम चलाउनु छ । कलाकार जन्माउनु छ । उनी सहरप्रति पनि सकारात्मक छन् । ‘सहरका मान्छेले पनि मलाई बुझिरहेकै छन्,’ हिरा भन्छन्, ‘यहाँ मेरा यति धेरै साथीभाइ छन्, जसले जस्तो अवस्थामा पनि मलाई प्रेम गर्छन् ।’

हिराले लामो समय सहरको धुलो पनि खाएका हुन् । गाउँ फर्केको झन्डै ११ वर्ष भएछ । सहरको होहल्लामा उनले १० वर्ष नै बिताए । अनि, मुगु फर्किने ‘मुड’ चल्यो । नाटक गर्नकै लागि ०६४ सालमा गाउँ पुगे । 

तर, मुगुमा नाटकको कुनै संस्कृति थिएन । नाटक हुँदा दर्शक अलिअलि आउँथे । नाटक गर्न कलाकार भने पाउनै मुस्किल । भेटेका कलाकार पनि आफूले भन्न खोजेको कुरा नै नबुझिदिने । हिराले भने हैरानी मानेनन् ।

आधुनिकताले गाउँ ग्रस्त थियो । हिन्दी गीतहरूले स्थानीय लोकगीतलाई निल्दै गइरहेका थिए । हिरालाई भने लागिरह्यो, ‘हामी धेरै पर गइसकेका छैनौँ, रूपान्तरणको फेजमा छौँ । यो समय संस्कृति जोगाउन केही गर्नैपर्छ ।’ 

कर्णालीमा एनजिओ, आइएनजिओ औँलामा गन्न मुस्किल हुने गरी छन् । मुगु पुगेर नाटक गर्न थालेपछि मात्र हिराले एनजिओ र आइएनजिओले गाउँमा पारेको प्रभावबारे बुझे । ‘त्यहाँ लगभग ४० प्रतिशतले धर्म परिवर्तन गरेर क्रिस्चियन भइसकेका रहेछन्,’ उनी भन्छन्, ‘प्रलोभनदेखि अन्य धेरै कारण थिए, कारण जे भए पनि संस्कृतिमा ठूलो प्रभाव परेको थियो, हाम्रो मुख्य चुनौती त्यही हो ।’ धर्म परिवर्तनले संस्कृतिमा ल्याएको उथलपुथलले उनलाई निकै छोयो । कर्णालीमा आफ्नै सामाजिक परम्परा छ । संस्कृति छ । न्यायका आफ्नै पारा छन् । आफ्नै खालको आस्था छ । ती मासिन थाले । हिरा प्रश्न गर्छन्, ‘नराम्रा कुरा त फालिनुपर्छ, त्योसँगै फालिँदै गरेको राम्रा कुराको ख्याल कसले गर्ने ?’ 

अनि त हिरा कर्णालीको संस्कृति खोज्न लागेका हुन् । नाटकमा उतारेका हुन् । उतारिरहेका छन् । उनलाई लाग्छ, ‘अहिले कर्णालीले समग्रमा बुझेको के भने नराम्रो कुरालाई जरैदेखि फाल्नुपर्छ ।’ हिरा साथीहरूसँग मिलेर अन्तरपुस्तैनी सांस्कृतिक अभ्यास पनि गरिरहेका छन् । समाजका स–साना विषयमाथि काम गरिरहेका छन् । 

‘हामीले आफ्नो गीत गाउनुपर्छ, आफ्नो भाषा बोल्नुपर्छ,’ हिराको भनाइ यति हो । पुराना मूल्य मान्यता, संस्कृतिलाई संग्रहालयमा राखेर त्यसलाई संरक्षण भन्न नमिल्ने बताउँछन् । भन्छन्, ‘संग्रहालयमा राख्ने त मरेका वस्तु र विषयलाई हो ।’ समाजको खास परिचय बोकेको विषय अभ्यासमा ल्याएमा मात्र संरक्षण हुने उनको भनाइ छ । ‘क्यासेट, टेपरेकर्डरमा रेकर्ड गरेर समाजको परिचय जिउँदो रहन्न,’ उनी भन्छन् ।

अहिले त हिरासँग सडक नाटकबाट उठेको केही पैसा छ । संस्था छ । लोगो छ । गाउँमा नाटक आयो भन्नासाथ मान्छे ओइरो लाग्छन् । पहिले चौबन्दीमा नाच्नेहरू आफ्नै भेषमा नाच्न थालेका छन् । हिन्दीको साटो देउडामा नाच्न थालेका छन् ।

हिराले मुगु फर्किएको अर्को वर्ष ०६५ सालमा जसोतसो गरेर एउटा नाटक बनाए, ‘कर्णाली दख्खिन बग्दछ’ । लिएर राजधानी आए । त्यो नाटक राजधानीका लागि हिराको कोसेली थियो । राजधानीले पनि मीठो सत्कार गर्‍यो । नाटकले दर्शक पायो । मिडियामा पनि ठाउँ पायो । नाटकले बहस नै सिर्जना गरिदियो । त्यतिवेला हिरालाई लागेको हो, ‘हाम्रो विषय पनि बजारले लिने रहेछ, हाम्रो संस्कृति पनि बजारमा बिक्न सक्नेरहेछ । हिरालाई अर्को कुरा पनि थाहा भयो– हाम्रो विषय अझै राम्रोसँग फैलाएर लान सकिने रहेछ । 

उनीहरू आर्थिक सहयोग जुटाएर राजधानी आएका थिए । ‘कर्णाली दख्खिन बग्दछ’को सफलतापछि हौसिए । मुगु बिस्तारै जुर्मुराउन थाल्यो । नाटकमा चासो राख्न थाले, मान्छेहरूले । नाटकको माहोल बन्न थाल्यो । कलाकार पनि पाइन थाले । 

अहिले त हिरासँग सडक नाटकबाट उठेको केही पैसा छ । संस्था छ । लोगो छ । पहिले अरूको आस गर्थे, अहिले आफैँ सबल भएका छन् । गाउँमा नाटक आयो भन्नासाथ मान्छे ओइरो लाग्छन् । पहिले चौबन्दीमा नाच्नेहरू आफ्नै भेषमा नाच्न थालेका छन् । हिन्दीको साटो देउडामा नाच्न थालेका छन् । हिरा भन्छन्, ‘अब त गल्तीको भागिदार पनि हामी, प्रशंसाको भागिदार पनि हामी ।’ यसपटक काठमाडौं आउँदा कसैसँग आर्थिक सहयोग मागेनन् । आफ्नै खर्चमा लिएर आए, नाटक ‘गर्भ छिटा’ । 

करिब डेढ महिनाको तयारीपछि राजधानी आएका थिए । हिरासँगै आएका ७० प्रतिशत कलाकार त पहिलोपटक काठमाडाैं आएका थिए । उनीहरूमा आएको परिवर्तन देखेर हिरा रोमाञ्चित हुन्छन् । उनीहरूको मुगुमा देखिने र यहाँ देखिने व्यवहार एकदम भिन्न लागेको छ । हिरा भन्छन्, ‘उनीहरूले सोचेकोभन्दा बिल्कुल भिन्न माहोलले गर्दा उनीहरूमा परिवर्तन आएको छ ।’ 

कलाकारले सोच्थे– हामीले गाउँमा गर्ने जसरी नै होला । तर, यहाँ दर्शक छन्, नाटकको चार्म छ । टिकट काउन्टरबाट दर्शकले टिकट काटिरहेका छन् । दर्शक समयमै आउनुपर्छ, समयमै नाटक सुरु हुन्छ । हिरा भन्छन्, ‘त्यसले उनीहरूलाई अनुशासित बन्न सिकायोजस्तो लाग्छ ।’ 

अहिले हिरा र उनको समूह मुगु पुगिसकेको छ । स्कुलमा ‘सुखद शुक्रबार’ भन्ने प्रोजेक्ट लन्च गर्न लागिरहेका छन् । प्रोजेक्टको उद्देश्य छ, स्थानीय कलालाई स्कुल तहबाटै लिएर जाने । उनीहरू अर्थतन्त्रसँग कलालाई कसरी जोड्न सकिन्छ भनेर काम गरिरहेका छन् । हिरा भन्छन्, ‘स्थानीय सरकारसँग खस भाषालाई कोर्समै राख्ने पहल गरिरहेका छौँ, त्यसो भयो भने यो दशकभित्रै हामीले ठूलो परिवर्तन गर्न सक्छौँ ।’